सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दिगो विकास लक्ष्यबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

शुक्रबार, ०५ असोज २०८०, १६ : १०
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकास लक्ष्यका बारेमा छलफलका गर्न सरकारले सर्वपक्षीय छलफल आयोजना गर्न सुझाव दिएका छन् । 

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको दिगो विकास लक्ष्य सम्बन्धी बहुपक्षीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले दिगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय रुपमा ऐक्यबद्धताका लागि सरकारले सर्वपक्षीय बैठक र छलफल आयोजना गर्नुपर्ने सुझाव दिएका हुन् ।

उनले दिगो विकास लक्ष्य प्राप्त गर्न तीनै तहका सरकार र सरोकारवालाहरु सम्मिलित बैठकबाट कार्यान्वयनको अनुगमन गर्ने काम संघीय सरकारले गर्नुपर्ने पनि बताए । 

‘दिगो विकासको लक्ष्य भेटाउन मुस्किल छैन, मात्र इच्छाशक्ति चाहिन्छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘यसको नेतृत्व संघीय सरकारले गर्नुपर्छ र तीनवटै तहबाट भइरहेका कार्यहरुको नियमित अपडेट राख्दै अघि बढ्नुपर्छ ।’ 

जिल्लास्तरमा स्थानीय सरकारबाट भएका कामहरुको अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाई दिन पनि उनले सुझाव दिए । 

अध्यक्ष तिमिल्सिनाले दिगो विकास लक्ष्य प्राप्तिका लागि राजनैतिक दलहरुको प्रतिबद्धता र घोषणापत्र कार्यान्वयनका बारेमा पनि चासो दिनुपर्ने धारणा राखे । दिगो विकास तथा सुशासन समितिले दलका चुनावी घोषणापत्रमा दिगो विकास लक्ष्यबारेमा के कस्तो सम्बोधन र कार्यान्वयनको अवस्थाका बारेमा अध्ययन गर्न तिमिल्सिनाले आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले दिगो विकास लक्ष्यमा नेपाल विश्वका अन्य मुलुकभन्दा अगाडि रहेको चर्चा गर्दै अझै लक्ष्य अनुसार अघि बढ्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताइन् । 

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको अध्यक्षतामा भएको कार्यक्रममा गैह्र सरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, संघीय संसद्का सचिव डा. रोजनाथ पाण्डेय र राष्ट्रिय योजना आयोगका सहसचिव महेश भट्टराईले अवधारणापत्र प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप