दुई समुदायबीच झडप किन भएन नियन्त्रण ? राज्य अझै मौन !
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवका प्रेस सल्लाहकार तथा वरिष्ठ पत्रकार सीताराम अग्रहरीका अनुसार हाम्रा मुद्दा, समस्या, चुनौती बेग्लै छन् तर यतिबेला धार्मिक तनाव बढ्दो छ ।
उनले भनेजस्तै अहिले देशका विभिन्न ठाउँमा धर्मका नाममा ठाउँठाउँमा तनावपूर्ण अवस्था सिर्जना भइरहेका छन् । धरानमा गोरु काटेर खाएपछि गत साउनको अन्तिम साता हिन्दु समुदायले आन्दोलन गरेको थियो ।
त्यसअघि हिन्दु समुदायले मनाउने छठ र मुस्लिम समुदायको मोहर्रम (दाहा) पर्वका बेला लाउडस्पिकर लगाएर भजन/नमाज बजाएको र धनुषाको रुपैठास्थित तेलिया पोखरी प्रयोगबारे असमझदारी बढेर झडप भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
यस्तै कपिलवस्तुमा मूर्ति बिसर्जनलाई लिएर उत्पन्न हिंसा रोक्न स्थानीय प्रशासनले कर्फ्यु नै लगाएको थियो । कर्फ्यु उल्लङ्घन गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर कपिलवस्तुको कृष्णनगरमा चिया पसल सञ्चालन गर्दै आएका सुरज पाण्डेको मृत्यु भएको थियो ।
एक वर्ष अघि महोत्तरीमा हिन्दु वाहिनी सम्राट सेनाले निकालेको कलश यात्राको क्रममा दुई पक्षबिच झडप भएको थियो । सो झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । पछि दुई पक्षबिच आठ बुँदे सम्झौता गरी विवाद साम्य भएको थियो ।
त्यसअघि रौतहटमा सरस्वतीको मूर्ति सेलाउन जाँदा दुई पक्षबिच झडप भएको थियो । प्रहरीको रोहवरमा दुई पक्षबिच सहमति भएपछि विवाद साम्य भएको थियो । रौतहटमा त्यसरी पहिला पनि चिहानलाई लिएर दुई समुदायबिच झडप भएको थियो ।
सर्लाहीमा एक हप्तामै दुई पटक झडप भएको छ । कृष्ण जन्माष्टमीमा मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबिच झडप भएको थियो । प्रहरी तथा स्थानीय अगुवाको पहलमा दुई पक्षबिच छलफल भएपछि दुवै पक्षले सद्भाव र्याली निकालेका थिए ।
तर सद्भाव र्याली निकालेको केही दिनमै पुनः झडप भएको थियो । गणेश मूर्ति विसर्जन गर्ने क्रममा सो झडप भएको थियो । झडपपछि सर्लाहीमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । त्यहाँ अझै कर्फ्यु कायम छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘दुई पक्षको बिचमा छलफल गराई विवाद नियन्त्रण भएको छ तर परिस्थिति अझै नियन्त्रणमा आएको छैन, जुनबेला पनि अवस्था भड्किन सक्छ ।’
सर्लाहीको त्यो विवाद जनकपुर, महोत्तरी हुँदै पर्सासम्म पुगेको छ । तराई मधेसका विभिन्न जिल्लामा अझै प्रदर्शन भइरहेका छन् ।
पछिल्लो समय नेपालमा हिन्दुसँग सम्बन्धित संघ संस्थाहरुले हिन्दु राष्ट्रका लागि गतिविधिलाई तीव्रता दिएका छन् । नेपाल धर्मनिरपेक्ष राज्य हो । तर यसलाई हिन्दु राष्ट्र बनाउनका लागि विभिन्न प्रयास भइरहेका छन् । त्यसैको परिणाम देशमा अहिले विभिन्न समयमा दुई समुदायबिच ठाउँठाउँमा झडप भइरहेका छन् ।
के भन्छन् सरोकारवाला ?
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी देशमा दुई समुदाय बिचको सद्भाव खलबलिएको बताउँछन् । सद्भाव कायम राख्नका लागि आयोगबाट प्रयासहरू भइरहेको उनले बताए । उनले भने, ‘आजै हामीले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर देशको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका छौँ ।’
धर्मको नाममा, समुदायको नाममा भइरहेको अराजक गतिविधिको बारेमा सबै जना चिन्तित रहेको बताउँदै अध्यक्ष अन्सारीले यो झगडा हिन्दु–मुस्लिमको नभएर अराजक तथा आपराधिक समूहको बिचमा भइरहेको दाबी गरे ।
‘स्थानीयस्तरमा गएर हेर्नुस्, हिन्दु र मुस्लिमहरू मिलेर बसेका छन् तर कतिपय यस्ता अराजक समूह छन् जो सद्भाव बिगार्ने, अशान्ति मच्चाउने र त्यसबाट फाइदा लिने प्रयास गरिरहेका छन्,’ उनले भने ।
कुनै बाहिरी तत्त्वले अशान्ति फैलाउने प्रयास गरिरहेको उनको दाबी छ ।
सर्लाहीलगायत विभिन्न ठाउँमा भइरहेको विवाद तथा झडपको बारेमा जानकारी लिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयं अनुगमनका लागि जाने बताइएको छ ।
मधेसी आयोगले घटनाका बारेमा अध्ययन गर्न एउटा टोली आज त्यसतर्फ पठाएको छ । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले परिस्थिति दिनदिनै बिग्रिदै गइरहेको भन्दै त्यसको बारेमा स्थलगत अध्ययनका लागि आज एक टोली आफूहरुले पठाएको बताए ।
स्थलगत अध्ययन गरेर आएपछि आयोगले थप गतिविधि अगाडि बढाउने उनको भनाइ छ । यद्यपि आफू प्रहरी प्रशासन तथा सिडिओको सम्पर्कमा रहेको र घटनाको बारेमा जानकारी लिइरहेको उनले बताए ।
स्थलगत अध्ययन गरी आइसकेपछि आयोगले यस विषयमा प्रधानमन्त्रीलगायत अन्य पक्षसँग कुराकानी गर्ने अध्यक्ष दत्त बताउँछन् । ‘धर्मको नाममा जे भइरहेको छ, त्यो आपराधिक काम हो, त्यसलाई नियन्त्रणमा लिएर दोषीलाई कारबाही गर्नुपर्छ,’ उनले भने ।
केही वर्षदेखि धर्मको नाममा झडपहरू भइरहेको जनाउँदै उनले यस्ता घटना निन्दनीय रहेको बताए ।
इस्लामी संघका अध्यक्ष नजरुल हसनले पनि नेपालमा हिन्दु र मुस्लिमबिच कुनै प्रकारको झगडा नरहेको प्रस्ट पारे । बाह्य तत्त्वले यहाँ दुई समुदायबिच द्वन्द्व भड्काउने काम गरिरहेको उनको भनाइ छ ।
‘आपराधिक समूहबिचको झगडा हो यो,’ उनले भने, ‘यसलाई सरकारले समयमा पहिचान गरी नियन्त्रणमा लिनुपर्छ ।’
जहाँजहाँ हिन्दु सम्राट सेनाको प्रभाव छ, त्यहाँत्यहाँ यस्ता झडप भइरहेको दाबी गर्दै उनले यो संगठनलाई सरकारले नियन्त्रणमा लिएमा सबै समस्या आफैँ समाधान हुने बताए । संविधानले कुनै पनि संस्था वा संगठनलाई सेना बनाउने अधिकार दिएको छैन तर हिन्दु सम्राट सेनाको नाममा खडा गरिएको दस्ताले ठाउँ ठाउँमा झडप निम्त्याएको उनले बताए ।
राष्ट्रिय एकता अभियानका वरिष्ठ नेता एवं संविधान सभा सदस्य बीपी यादवले धर्मको नाममा राजनीति हुन नहुने प्रस्ट पार्दै यहाँ एउटा समुदायले अर्को समुदायमाथि प्रहार गर्दा राज्य मौन बसेको गुनासो गरे । उनले भने, ‘आफ्नो धर्मकर्म गर्ने अधिकार सबै समुदायलाई छ तर एउटा समुदायले गर्ने पूजापाठ, मूर्ति सेलाउने काममा अर्को समुदायले अवरोध सिर्जना गर्नु भनेको आपराधिक कार्य हो, राज्यले त्यसलाई नियन्त्रण गर्नुपर्छ ।’
धर्मनिरपेक्ष राज्य
जनआन्दोलन–२ पछि बनेको अन्तरिम संविधानमा उल्लेखित ‘हिन्दु अधिराज्य’ हटाएर धर्मनिरपेक्ष राज्य उल्लेख गरिएको थियो । २०७२ असोजमा जारी संविधानले पनि धर्मनिरपेक्षतालाई नै निरन्तरता दिएको छ ।
संविधानमै धर्मनिरपेक्ष राज्य भएको उल्लेख भए पनि शीर्ष नेताहरुबाटै बेलाबेलामा त्यसको उल्लंघन भएको पाइन्छ । प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरु विभिन्न गुरुहरूको शरणमा गएर धर्मनिरपेक्ष राज्यलाई विवादमा ल्याएका हुन् । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर उत्तराखण्डमा गरेको पूजाआजा, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा राम मन्दिर स्थापना गर्ने घोषणा जस्ता विषयले धर्मको नाममा राजनीतिलाई प्रश्रय दिएको सरोकारवाला बताउँछन् ।
देश धर्मनिरपेक्ष हुनुको अर्थ राज्य धर्मप्रति निरपेक्ष बस्नु हो । कुनै धर्म विशेषलाई काखी नच्याप्नु हो । राज्य तथा त्यसका सञ्चालकले सबै धर्मप्रति समान व्यवहार गर्नुपर्नेमा नेपालको हकमा त्यस्तो देखिन्न ।
संविधानको धारा ४ मा ‘धर्मनिरपेक्ष’ लाई सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता भनेर व्याख्या गरिएको छ । २०६३ सालको अन्तरिम संविधानमा यस्तो स्पष्टीकरण दिइएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण