एमाले बागमती प्रदेश अधिवेशनको दोस्रो दिन : निर्वाचन प्रक्रिया आजदेखि
काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत आज दोस्रो दिन केही समयपछि बन्द सत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको बन्द सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।
बन्द सत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । मंगलबार नै प्रतिवेदनमाथि समूहगत छलफल सकेर पारित गरेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
‘अध्यक्षको प्रतिवेदन पारित भएपछि आजै निर्वाचन प्रक्रिया सुरु हुन्छ’, निरौलाले भने, ‘त्यसपछि उम्मेदवारी मनोनयन चल्छ ।’ बागमती प्रदेश कमिटीको अध्यक्षका लागि पाँच जनाले आकांक्षा देखाएका छन् ।
नेताहरू सकभर सहमतिमै नेतृत्व चयन गर्ने प्रयासमा लागे पनि आकांक्षीहरुबीच सहमति नजुट्दा निर्वाचन नै हुने देखिएको छ । अध्यक्षका लागि रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्ण दाहाल, चितवनका कृष्णभक्त पोखरेल, काठमाडौँका सानु श्रेष्ठ र नुवाकोटका केशव पाण्डेले आकांक्षा देखाएका छन् । तर श्रेष्ठ र पाण्डेले पछि हट्ने सङ्केत देखाइसकेका छन् ।
उनीहरू पछि हटेमा ढुङ्गेल, दाहाल र पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस्तोमा अन्तिम समयमा पोखरेलले दाहाललाई सघाउन सक्ने कतिपय नेताहरूको भनाइ छ । उम्मेदवारी मनोनयनका समयसम्म सहमतिका लागि प्रयास गर्ने केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् । ‘हामी अन्तिमसम्म पनि सहमतिका लागि प्रयास गर्छौ, त्यो सफल भएन भने निर्वाचनमा त जानु नै छ’, शाक्यको भनाइ छ ।
सोमबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ नेतृत्वका लागि व्यक्ति–व्यक्ति चुनावी प्रतिस्पर्धा गर्न छुट भए पनि प्यानलगत उम्मेदवार बने सबैको उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका थिए ।
बागमती प्रदेशमा एमालेका १३ जिल्लाका झन्डै १२ सय प्रतिनिधि छनोट भइसकका छन् । उनीहरुले पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ प्रदेश कमिटी निर्वाचित गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण