आमा, ढोका खुलै राख्नु
सारांश
- गाउँसम्म चिल्लो बाटो पुगे पनि मानिसहरू फर्कने पाइला हराएका छन्।
- विदेशमा रहेका छोराले आमालाई आफू सुखी भएको झूटो आश्वासन दिन्छन्, जबकि देशमा युवाहरू विदेश गइरहेका छन्।
- देशमा युवाहरूलाई देशका कर्णधार भनिए पनि उनीहरूको भविष्य अनिश्चित छ र नागरिकलाई इमान र बाँच्ने आधार चाहिएको छ।
गाउँसम्म चिल्लो बाटो पुगेको छ
तर फर्कने पाइला हराएका छन्
छाना उस्तै छन्, धुवाँ हराएको छ
आँगनले बोल्ने मान्छे खोजिरहेको छ ।
मरुभूमिबाट छोरो भन्छ–
आमा, यहाँ म सुखमै छु ।
हत्केलाको फोका लुकाउँदै ऊ हाँस्छ ।
आमा आधा औषधि खाएर भन्छिन्–
म पनि सन्चै छु बाबु
यता खेतले हात पर्खिरहेको छ
उता विमानले युवा बोकिरहेको छ
देशले युवालाई भाषणमा राख्छ
युवाले देशलाई मोबाइलको तस्बिरमा ।
विद्यालयमा गुरु पढाउँछन्–
तिमीहरू देशका कर्णधार हौ ।
बालक नक्सातिर हेरेर सोध्छ–
गुरुजी, मेरो भविष्य यो नक्साभित्रै छ ?
अस्पतालमा सासभन्दा पहिले बिल आउँछ
कार्यालयमा निवेदनभन्दा पहिले चिनजान
खोलाको बाटो बेचेर महल उठाइन्छ
बाढी आएपछि प्रकृतिलाई दोष दिइन्छ
तर देश अझै सकिएको छैन ।
छोरीको कापीमा उज्यालो बाँकी छ
किसानको मुठीमा बीउ बाँकी छ
मौन नागरिकभित्र प्रश्न बाँकी छ ।
हामीलाई अर्को नारा होइन
नझुक्ने इमान चाहिएको छ
अर्को मीठो आश्वासन होइन
आफ्नै माटोमा बाँच्ने आधार चाहिएको छ ।
हे देश ! यति मात्र गर
तिमीलाई माया गरेको सजाय
तिमीबाट टाढा गएर
भोग्नु नपरोस् ।
आमा, ढोका खुलै राख्नु
एक दिन विमानले
तिम्रो छोरो फर्काएर ल्याउने छ
र, आँगनमा फेरि घरको आवाज सुनिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
-
होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण