आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
पर्व

काठमाडौँमा इन्द्रजात्रा कहिलेदेखि सुरु भयो ?

इन्द्रको खिल्ली उडाउने कथा कसले कल्पे ?
बिहीबार, ११ असोज २०८०, १७ : १३
बिहीबार, ११ असोज २०८०

लिङ्गो ठड्याएर अर्थात् ‘इन्द्रध्वजोत्थान’ गरेर सुरुवात गरिने इन्द्रजात्रा लिङ्गो ढालेपछि सकिन्छ । लिङ्गोमा ध्वजापताका रहने भएकाले लिङ्गो ठड्याउनुलाई ‘इन्द्रध्वजोत्थान’ भनिएको हो ।इन्द्रजात्रा विशेषतः देवराज अर्थात् देवताका पनि राजा इन्द्रसँग सम्बन्धित छ । 

सत्यमोहन जोशीको पुस्तक ‘नेपाली चाडपर्व’ अनुसार, अचेल नेपालबाहेक अन्यत्र इन्द्रजात्रा मनाइएको पाइँदैन । ‘वैदिक युगको परम्परा अनुसार भारतमा कुनै शदीतक इन्द्रध्वजोत्सव मनाउने प्रचलन थियो होला,’ जोशी लेख्छन्, ‘एक त विष्णुधर्मोत्तर, वृहत्संहिता, सौन्दरानन्द आदि ग्रन्थमा ठाउँठाउँमा इन्द्रध्वजाका प्रसंग आउँछन् । महाकवि कालिदासले ‘रघुवंश’ महाकाव्य चतुर्थ सर्गमा त इन्द्रध्वजाको सुन्दर वर्णन गरी आकाशमा मुख फर्काएर इन्द्रध्वजा हेर्नुपर्छ भनी लेखिएको छ ।’ 

२०४२ सालमा प्रकाशित कुलचन्द्र कोइरालाको पुस्तक ‘इन्द्रजात्रा’मा भने ‘दक्षिण भारतमा चैत–वैशाखमा इन्द्रध्वजारोहण हुने’ उल्लेख छ । कोइराला लेख्छन्, ‘नेपालका नेवार जातिलाई पनि इतिहासकारहरू दक्षिण भारतका ‘नैयर’ जाति नै भएको मान्दछन् । नैयर नेवार नभए पनि दक्षिणका मानिस यहाँ आएर परम्परा ल्याए भन्ने कुरामा मतैक्य हुन सक्छ ।’ 

डा. चुन्दा बज्राचार्यको पुस्तक ‘नेवाः सांस्कृतिक चाडपर्व’ अनुसार, नेवार जातिले मनाउने ठूला जात्रामध्ये इन्द्रजात्रा एक हो । यसलाई येँयाः, येँद्याः, येँद्याः पुन्हि, येँयाः पुन्हि आदि नामले पनि चिनिन्छ । यो जात्रा यँलाथ्व द्वादशीदेखि यँलागा चतुर्दशी (भाद्र शुक्लपक्ष द्वादशीदेखि आश्विन कृष्णपक्ष चतुर्दशी) सम्म मनाइन्छ । 

सत्यमोहनको पुस्तक अनुसार, नेवारहरूले परम्परागत रूपमा काठमाडौंलाई येँ अथवा यैँरे भन्ने गर्छन् । काठमाडौँको येँगाल टोलस्थित प्राचीन कालको येँगाल हिटी (ढुंगेधारा)मा रहेको एक शिलालेखमा ‘येँ’लाई इन्द्रग्रह भनिएको छ । यसबाट येँगालको मूलरूप इन्द्रग्रह देखिन्छ, येँ अर्थात् इन्द्र र गाल अर्थात् गृह । 

इन्द्रध्वजोत्थान कहिलेदेखि ? 

कोइरालाको पुस्तक ‘इन्द्रजात्रा’ अनुसार, कुनै पनि देवीदेवताको विशेष पूजा, यज्ञविधान, ध्वजोत्थान आदि उत्सव मनाएर नृत्य, गीत, नाटक, प्रदर्शन आदिले जात्रा लगाउनु तथा विशेष खानपानको व्यवस्था मिलाउनु आदिलाई प्राचीन कालमा ‘मह’ (पर्व) शब्दले अथ्र्याउँथ्यो । 

आर्य जातिका विशिष्ट देवता इन्द्रको विशेष आराधना गरिने यज्ञ वा पूजा प्रकारलाई ‘इन्द्रमह’ भनिएको बुझिन्छ । ऋग्वैदिक आर्य जातिका मुख्य देवता इन्द्रलाई खुसी पार्न स्तुति गरिएका अनेक मन्त्र ऋग्वेदमा पाइन्छन् ।

इन्द्रध्वजोत्थानको विधिविधानका बारेमा कालिका पुराणको ८८औँ अध्याय र देवी पुराणको २१औँ अध्यायमा विस्तारपूर्वक वर्णन गरिएको छ । यसैसँग मिल्दोजुल्दो वर्णन पाँचौँ शताब्दीका ज्योतिर्विद् बराह मिहिरको ‘वृहत्संहिता’ ग्रन्थमा पनि उल्लेख छ ।

लिच्छविहरूको प्र्रवेशपछि काठमाडौँ खाल्डोमा वर्ण–व्यवस्था र वैदिक परम्पराले प्रवेश पाएको हो । जहाँसम्म इन्द्रजात्राको प्रसंग छ, कोइरालाका अनुसार लिच्छविका पहिला राजा जयदेव प्रथम (ईपू तेस्रो शताब्दीदेखि ई. को पहिलो शताब्दीसम्मको कुनै समय)का पालादेखि यहाँ निश्चय रूपले इन्द्र महोत्सवको परम्परा चल्यो । ‘त्यसबेला यहाँ आर्यहरूको विशाल जमघट भइनसकेको भए किराँत हटाउन र यहाँ शताब्दियौँसम्म शासन गर्न लिच्छविले सक्ने थिएनन्,’ कोइराला लेख्छन्, ‘नेपालका लिच्छवि सनातन धर्म नै मान्थे भन्ने ऐतिहासिक अभिलेखबाट प्रमाणित हुन्छ ।’

वंशावलीको कथन अुनसार, इन्द्रजात्रापर्व राजा गुणकामदेवले कान्तिपुर नगरको विधिवत विस्तार गरी आश्विन शुक्ल पञ्चमीको दिन इन्द्रजात्रा गरेका थिए । 

लिङ्गो र ध्वजापताका

वास्तुशास्त्रु अनुसार, शुभाशुभ विचार गर्न पहिले सहरको बीचमा पर्ने गरी इन्द्रध्वजोत्थान गरिन्थ्यो । यसका लागि आवश्यक लिङ्गो कस्तो हुने र ध्वजा कस्तो हुने भन्ने सम्बन्धमा विधि–विधान तोकिएका छन् ।

कोइरालाको पुस्तक ‘नेपालमा इन्द्रजात्रा पर्व’ अनुसार, २२ हातको लिङ्गो अधम, ३२ हातको मध्यम र ४२ हातभन्दा माथि ५२ हातसम्मको उत्तम मानिएको छ । नेपालमा ३२ हात माथिको लिंगो काटेर ल्याउने चलन छ । ध्वजा बनाउने विधिबारे युक्ति कल्पतरु, हयशीर्ष संहिता, नारद पाञ्चरात्र, शिवसर्वस्व, देवी पुराण आदि ग्रन्थमा वर्णन गरिएको छ । १० हातभन्दा कम र बीस हातभन्दा बढीको ध्वजा नबनाउनु भन्ने युक्ति कल्पतरुको कथन छ । 

पताकामा जडिने वा बनाइने माङ्लिक चिह्नका बारेमा आठ किसिम बताइएको छ । ‘कलश, ऐना, चन्द्रमा, पद्म, पद्मकोष (रत्न भएको बाकस), ब्राह्मणको ध्वजा हुन्छ । हात्ती, सिंह, घोडा, बाघ क्षेत्रियको ध्वजा हुन्छ,’ कोइराला लेख्छन्, ‘यस्तै, हाँस, मयुर, सुगा, ठेउवा, क्रमैले चारवर्णको मांगलिक चिह्नहरू हुन् ।’ अर्थात् यस विधिविधानले वर्ण व्यवस्थालाई केन्द्रमा राखेको छ । 

इन्द्रको प्रतिमाले वीर्य, ओज, वर्षा–बादलका देवता, देवाधिदेवलाई बुझाउँछ । इन्द्रको चित्रणले राष्ट्ररक्षा, सहकाल, धनधान्य वृद्धि, विजय, ऐश्वर्य, सम्प्रभुता, दीर्घजीवन र शत्रुमर्दन हुने विश्वास गरिन्छ । 

प्राचीन समयमा शक्तिशाली देवताको कल्पना वा कथानक मानिसका लागि स्वाभाविक थियो । क्रमशः मानिसले शक्तिको उपासनाका लागि पूजा–अनुष्ठानलाई जोड दिन थाल्यो । इन्द्रको आराधना खासगरी यज्ञबाट गरिन्थ्यो । वैदिक आर्यका लागि यज्ञ र इन्द्र पर्यायजस्तै छन् । पहिले आर्यहरूले महिनौँ तथा वर्षौंसम्म यज्ञ लगाउँथे तर यज्ञ जो–कोहीले लगाउन सक्दैनथ्यो । यो धनीमानी, शासक वा संन्यास लिएकाहरूबाट मात्रै सम्भव थियो । 

‘इन्द्रजात्रा’ पुस्तकमा कोइराला लेख्छन्, ‘यज्ञविधान समर्थवान धनी वर्गका निम्ति मात्रै सहज साध्य थियो । गरिब अपठित वर्गको निम्ति नै प्रतिमा पूजनको प्रचलन आवश्यक भयो ।’

भरतनाट्यममा उल्लेख छ– चार वेद स्त्री र शूद्रलाई सुनाउन योग्य नभएकाले पाँचौँ वेद (नाट्यशास्त्र) सृष्टि गरियो, जुन वेद धर्म, अर्थ, कीर्ति, कारक र उपदेशले समेत युक्त छ । 

वर्ण व्यवस्थामा आधारित हिन्दु समाज वा राज्यमा शूद्र र वर्ण व्यवस्थाबाहेकका समुदायलाई समेट्न प्रतिमा पूजन र जात्रापर्वहरू ल्याएको बुझिन्छ । अक्षर चिन्नुलाई ‘देवनागरी’ अर्थात् देउताको नगरीमा प्रवेश गर्नु मानिन्थ्यो । गुरुकुलबाट अक्षर चिन्न र वेदाध्ययन गर्न उपनयन संस्कार आवश्यक हुन्थ्यो, जुन ब्राह्मणलाई मात्रै अधिकार थियो । यसरी हेर्दा भक्ति मार्गमा ल्याउन विभिन्न संस्कृति तथा जात्रापर्व जन्मेको बुझिन्छ । 

बौद्ध र शैवले इन्द्रको खिल्ली उडाउने कथा कल्पे ?

इन्द्रजात्राका अवसरमा विभिन्न उत्सव मनाइन्छ । जस्तो : कुमारी, गणेश र भैरवलाई रथमा विराजमान गराई रथजात्रा गराउनु । डा. चुन्दाका अनुसार, कुमारी, गणेश र भैरवको रथ तानिने भए पनि यसलाई ‘कुमारी जात्रा’ भन्ने चलन छ । 

कोइरालाको पुस्तक (२०६६) अनुसार, कुमारी रथयात्राको पहिलो दिनको कार्यक्रम सकिएपछि महर्जन जातका एक व्यक्तिलाई जामा मकुण्डा लगाई डाँगी (डंकिनी)को रूपमा निकालेर टोलटोलमा घुमाई मरुटोलमा पुर्‍याएर जात्रा विसर्जन गरिन्छ । यसबारे यस्तो लोकोक्ति छ :

परापूर्वकालमा इन्द्रकी आमा वसुन्धराले व्रत गरी पूजाका लागि पारिजातको फूल टिपी ल्याउन इन्द्रलाई अह्राइन् । पृथ्वीमा आई फूल टिप्न लागेका बेला राक्षसहरूले इन्द्रलाई देखे । राक्षेसहरूले इन्द्रलाई चोर भनी बाँधेर टोल घुमाए । आमाले थाहा पाई मत्र्यलोकमा आएर धान र गहुँ बाली पाक्न चाहिने खसु (डुलु) वहदु (सुपायँ) शीत र हुस्सु जगान तिरी इन्द्रलाई छुटाइन् । स्वर्गका राजाकी आमा आएको मान्छेले थाहा पाएर मान्छेहरू उनको पछि लागे । आफ्ना मरेका पितृलाई स्वर्गमा गएर भेट्ने उनीहरूको इच्छा थियो । फर्कंदा बाटो नबिर्सियोस् भनी उनीहरूले चिह्नका रूपमा शतबीज छर्दै गए । 

यता, इन्द्रकी आमा स्नान गर्नका लागि यँकीदह (इन्द्रदह) मा केहीबेर भुलिन् । उता, शतबीज छरेको बाटो हेर्दै र नागको शरीरमा भएको उज्यालोमा हेरी पत्ता लगाएर इन्द्रको आमाको पछि लाग्ने मान्छेहरूलाई आफन्तले फर्काएर लगे । 

इन्द्रकी आमा डाँगी रूपमा पृथ्वीमा आएकी थिइन् । अतः उनकै अनुकरणमा डाँगी निकाली शतबीज छर्दै पछि लाग्ने चलन चल्यो । त्यसै दिन इन्द्र दहमा स्नान गर्न जाने परम्परा पनि छ । कुनै लोकोक्तिमा इन्द्रकी आमाको नाउँ वसुन्धरा भनिन्छ भने कसैले वसुन्धरा व्रत गरेको कथा भन्छन् । पारिजातको फूल टिप्न आउनेलाई तान्त्रिकहरूले स्तंभन गरी समातेको र चोर भनी बाँधी राखेको थाहा पाई आमा आई छुटाएर लगेको कथा भन्छन् । 

‘परन्तु यो लोकधारणाको अनुशीलन गर्दा, इन्द्रको महत्त्वलाई घटाउन यो कथानक रची उपहास गर्ने प्रयत्न गरिएको थाहा हुन्छ । यो काम सम्भवतः इन्द्रको महत्त्वलाई स्वीकार नगर्ने बौद्धहरूको देन मान्न सकिन्छ,’ कोइराला लेख्छन् । 

भक्तपुरमा प्रचलित लोकोक्तिमा भने अर्कै कथा छ — अनन्त चतुर्दशीका दिन व्रत बसी इन्द्रपुत्र जयन्त पारिजातको फूल र फल जम्मा गर्न पृथ्वीमा घुम्दै थिए । आफूहरूको बगैँचामा पुगेर फल टिप्दै गरेका जयन्तलाई राक्षसहरूले चोर भनी बाँधेर राखे । साथै उनको हात काटिदिने आदेश अनुसार हात काटिदिए । 

छोरो हराएको थाहा पाएर खोज्न इन्द्रले ऐरावत हात्तीलाई पठाए । हात्तीले घुम्दै जयन्तलाई राक्षसले पक्री राखेको पत्ता लगायो । इन्द्र आएर छोरालाई छुटाएर लगे । 

कोइरालाका अनुसार, यसै कथामा आधारमा ‘मुपात्र’ जात्रा नामक जात्रा गर्ने चलन छ । इन्द्रजात्राको दिन बिहान चोकचोकमा करिब दश हातका खम्बा गाडिन्छ, त्यहाँ ताँवाको मुकुण्डो लगाएर हात बाँधेका जयन्तको प्रतीक राखिन्छ । तीनजना नचिनेका मानिस पक्री एउटालाई मुपात्र (मुख्यपात्र राक्षस) र दुई जनालाई ‘घीचा’ (सहायक) बनाइन्छ । तिनीहरूलाई टोलटोलमा घुमाई जयन्तको प्रतीक खम्बामा खड्ग प्रहार गर्न लगाइन्छ । यसको साथै पुलुकिसि (ऐरावत हात्ती)को प्रतीक बनाई सहरभरि घुमाइन्छ । 

पूर्णिमाको दिन एमाद्योः (जयन्तको प्रतीक) अगाडि होम गरिन्छ । द्वितीयाको दिन मुपात्रलाई सहर घुमाई एमाद्योःलाई मुपात्रले तीनपटक घुमी खड्ग प्रहार गर्दछ । 

तृतीयाको दिन छुमा गणेशको खट्यात्रासहित यामता र घींंचासहित मुपात्रलाई पनि सहर घुमाइन्छ । चौथीको दिन तौमढी टोलका भैरवलाई खटमा राखेर यामता ‘मुपात्र’सहित सहर घुमाइन्छ । त्यसै दिन साँझ पुलुकिसी (ऐरावत हात्तीको प्रतीक)लाई छुवाली बालेर भक्तपुर सहर घुमाइन्छ । यसपछि पुनः यामताः मुपात्रलाई सहर घुमाइन्छ ।

‘उपर्युक्त प्रथाबाट के थाहा पाइन्छ भने, वैदिक देवता इन्द्रको खिल्ली उडाउन काठमाडौँमा डाँगीको कल्पना बौद्धहरूले गरे भने, तान्त्रिक शैव प्रभावमा गणेश भैरवको स्थितिभन्दा इन्द्रको महत्त्व नगण्य गराउन जयन्तको कल्पना र मुपात्र जात्रा गर्ने पम्परा चलाए,’ कोइराला लेख्छन्, ‘सर्वसाधारण जनता केवल मनोरञ्जनमा नै दंग पर्थे । सबैले सम्प्रदाय बाहिरको यो दुष्कर्म बुझेनन् र रमाइलोकै रूपमा यो परम्परा चल्दै आएको छ । इन्द्र जात्राको ध्वजोत्थानको सट्टा वैशाखमा विस्केट (वृषकेतु) वीरध्वजा खडा गर्ने प्रथा भक्तपुरमा चल्दै आएकाले शैव सम्प्रदायवादीको प्रभुत्व कुनै कालमा भक्तपुरमा रहेको सहजै अनुमान गर्न सकिन्छ ।’ 

लीलाभक्त मुनंकर्मी आफ्नो पुस्तक ‘हाम्रा सांस्कृतिक पर्व र जात्राहरू’मा लेख्छन्, ‘तीनै लोकमा ऐरावत हात्ती घुमिसकेपछि जयन्तलाई राक्षेसहरूले पक्रिराखेको कुरा थाहा हुन्छ । हात्तीले स्वर्गमा राजा इन्द्रलाई सबै कुरा जाहेर गरे । सोही कुराको आधारमा आफ्नो देशमा रमिता गराउन भक्तपुरका मल्ल राजाहरूले यो जात्रा तीन दिनसम्म चलाएको हो ।’ 

इन्द्रजात्राको परम्परामा परिवर्तन

ग्रीष्मबहादुर देवकोटा ‘नेपालको राजनीतिक दर्पण (भाग १) अनुसार, २००८ भदौ २७ गतेदेखि इन्द्रजात्रा परम्परामा परिवर्तन ल्याएको हो । त्यस दिनको मन्त्रिमण्डलको निर्णयलाई उनले पुस्तकमा उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘गृहविभागले इन्द्रजात्रा बारेमा परापूर्वदेखि चलिआएको धर्मसम्बन्धी जात्राहरू साबिकै बमोजिम गर्ने र ‘विजय परेड’को हकमा साम्प्रदायिक भावना जति सक्यो उति हटाउनु नै श्रेय हुनाले सो अबदेखिलाई बन्द गर्ने मन्त्रिमण्डलमा निर्णय भएको छ भन्ने जनायो ।’ 

उनले पुस्तकमा तीन बुँदा उल्लेख गरेका छन् : १) इन्द्रजात्राको दिन सिविल र मिलिटरी अफिसर कर्मचारीहरू सबैलाई बिदा दिने । २) श्री कुमारीको रथ गद्दीदरबारअगाडि पुगेपछि सिंहासनारोहणको उत्सव नगर्ने । ३) इन्द्रजात्राभर हुनमान ढोकामा राति निजामती कर्मचारीहरू शामेल गराउनुनपर्ने । ४) हनुमान ढोकामा लिंगो खडा गर्दा जंगी अफिसरहरू सामेल गराउनुनपर्ने । 

उनका अनुसार, त्यसअघि नेपालमा इन्द्रजात्रामा कुमारीको रथको साथ–साथै राष्ट्रिय सेना लगायत जंगी–निजामती अफिसर र भाइभारदार, साहुमहाजन लगायत श्री ५ महाराजाधिराज र प्राइममिनिस्टर, कम्यान्डर–इन–चिफहरूले समेत परिक्रमा गर्ने प्रथा थियो । उनी लेख्छन्, ‘परिक्रमा समाप्त भई कुमारीको रथ गद्दीबैठकअगाडि पुगेपछि कुमारीको घरअगाडिको डबलीमा दरबार बस्ने र सो डबलीमा कसैले कहिले पनि कुल्चन नपाउने प्रथा थियो, जुन डबलीमा यस विज्ञप्तिको प्र्रकाशनपछि दाउरा बेच्ने र सबैलाई कुल्चने अवसर प्राप्त भयो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप