सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

हुलदङ्गा गर्दा क्षतिपूर्ति बढी पाउने  प्रवृत्तिले अराजकता बढेको छ :  मुख्यमन्त्री पाण्डे

शनिबार, १३ असोज २०८०, १२ : ४७
शनिबार, १३ असोज २०८०

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताएका छन् । 

पछिल्लो केही समय यता गण्डकी प्रदेशको पोखरा, लमजुङ लगायतका जिल्ला र देशका विभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमणका घटना भइरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । 

शनिबार गोरखा अस्पतालको निरीक्षण गर्ने क्रममा उनले भने ‘अस्पतालमा भएका घटनाकमा संलग्नका बारेमा जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस् चाहे अरू कसैको होस् त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभूति सद्भाव केही पनि रहँदैन ।’ 

त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । ‘यो कुरामा सम्झौता कसैसँग हुँदैन,’ उनले थपे, ‘यो संवेदनशील विषय भएकाले सबैको ध्यानाकर्षण हुनुपर्छ । हाम्रो एउटा मान्यता छ, बचायो भने भगवान्ले बचाउँछन् भन्छन्, डाक्टर भगवान् होइनन् । मलाई लाग्दैन की कुनै पनि डाक्टरले बिरामीलाई मारौँ भनेर उपचार गर्छ, यस्तो हामीले सोच्नु पनि हुन्न ।’
 
‘पछिल्लो समय अस्पतालमा अराजकता बढ्नुको कारण क्षतिपूर्ति दिने प्रथा पनि हो’ उनले भने ‘हुलदङ्गा गर्‍यो क्षतिपूर्ति बढी पाउने, नपाउनेले पनि पनि पाउने । त्यस्तो प्रवृत्तिले पनि  चिकित्सक र अस्पतालमा अराजकता बढेको छ ।’ चिकित्सकमाथि हातपात र अस्पताल जोगाउन जनप्रतिनिधिले पनि जनतालाई सचेतना जगाउनुपर्ने उनले बताए । 

समाजमा हरेक खालमा मानिस रहेकाले केही उच्छृङ्खल व्यक्तिले घटना घटाए भन्दैमा चिकित्सकले काम नै गर्न नसक्ने भयौँ भनेर बस्न नहुने उनले बताए । ‘डाक्टरहरूलाई राज्यले सुरक्षा दिनुपर्छ, हामीले त्यो वातावरण सिर्जना गर्छौँ तर काम सबै रोकेर बस्नु भएन ।’

गोरखा अस्पतालको सेवा सुविधा बिस्तारकालागि गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । अस्पतालका व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठ र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले अस्पतालको समस्या र आवश्यकताका बारेमा जानकारी गराएका थिए । जवाफमा मुख्यमन्त्री पाण्डेले प्राथमिकताका आधारमा तत्काल नगरी नहुने कामको लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप