मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘मलाई मन परेको कविता’ शृङ्खला–३ सम्पन्न

आइतबार, १४ असोज २०८०, ११ : १७
आइतबार, १४ असोज २०८०

काठमाडौँ । नेपाली साहित्यको प्रवर्धन तथा अग्रज पुस्ताको सम्मान गर्ने उद्देश्यले लेखक, प्रकाशक तथा सम्पादकहरूको साहित्यिक संस्था एपेक नेपालले ‘मलाई मन परेको कविता’ शृङ्खला–३ भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न गरेको छ । 

सो कार्यक्रममा नेपाली साहित्यका अग्रज पुस्ताका १५ जना कविहरूले आफूलाई मन परेको अनुज पुस्ताका १५ जना कविको एक एक कविता वाचन गरेका थिए । सौहार्दपूर्ण वातावरणमा सञ्चालित सो कार्यक्रमको प्रारम्भमा कविवर बैरागी काइँलाले कवि विवश पोखरेलको ‘बग्दै बग्दै जानू’ शीर्षकको कविता वाचन गरेर गरेका थिए । 

त्यसपछि क्रमशः कविहरू उषा शेरचनले बाबु त्रिपाठीको ‘गाउँमा’, कवि वसन्त चौधरीले दीप दर्पणको ‘धर्म’, कवि विधान आचार्यले सुदेश सत्यालको ‘फर्केर आऊ घर’, कवि मञ्जु काँचुलीले मोमिलाको ‘दुर्गम उचाइ’, कवि शैलेन्द्र साकारले मणिराज सिंहको ‘शून्यताले जब चिमोट्न थाल्छ’, कवि विश्वविमोहन श्रेष्ठले मौन आवाजको ‘आधा’, कवि अशेष मल्लले असीम सागरको ‘सडकको आवाज’, कवि राधेश्याम लेकालीले फूलमान बलको ‘बाटो’, कवि लक्ष्मी मालीले अनिता लामाको ‘आगोको फूल’, कवि राजेन्द्र शलभले प्रज्वल अधिकारीको ‘पाठशाला’, कवि प्रह्लाद पोखरेलले  प्रभा भट्टराई आचार्यको ‘खै म के भनुँ’, कवि किशोर पहाडीले मुरारि सिग्देलको ‘करुणामय काठमाडौँ’, कवि स्नेह सायमीले प्रकाश गुरागाईंको ‘अदृश्य हात’ र कवि तुलसी दिवसले रावतको ‘मायालुसँग’ शीर्षकको कविता वाचन गरेर गरेका थिए । 

साहित्यकारत्रय बैरागी काइँला, वसन्त चौधरी र आयोजक एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठबाट संयुक्त रूपमा दीप प्रज्वलन गरी सुरु भएको कार्यक्रममा कार्यक्रमका संयोजक राजेन्द्र शलभले स्वागत मन्तव्य राखेका थिए । 

अध्यक्ष विश्वविमोहन श्रेष्ठले कविता शृङ्लाको उद्देश्यमाथि प्रकाश पारेका थिए । यस्तै चौथो शृङ्खला अनुज पुस्ताको हुने जानकारी गराएका थिए । युवा कवि सङ्गीता थापाले सञ्चालन गरेको कार्यक्रम अवधिभर सरोदवादक रूपा न्यौपाने र सीतारवादक शीतल दाहालको मधुर सङ्गीत प्रस्तुत गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप