बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

दसैँलाई खाद्यले ३ हजार खसी–बोका र च्याङ्ग्रा ल्याउँदै, ८ करोड ३६ लाख बजेट !

घटस्थापनाका दिनदेखि बिक्री वितरण गर्ने तयारी
सोमबार, १५ असोज २०८०, १५ : ४६
सोमबार, १५ असोज २०८०

काठमाडौँ । यस वर्षको दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३ हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौँ ल्याउने तयारी गरेको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि बजार मूल्यभन्दा केही कम (सुपथ) मूल्यमा सर्वसाधारण उपभोक्तालाई खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराउने गरी कम्पनीले आवश्यक प्रक्रिया अघि बढाइसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले रातोपाटीलाई जानकारी दिइन् ।

कम्पनीले खसी र बोका २ हजार र च्याङ्ग्रा १ हजार गरी कुल ३ हजार खसी, बोका र च्याङ्ग्रा काठमाडौँ उतार्ने तयारी गरेको छ । तर, बजारको माग र आवश्यकता अनुसार खसी, बोका र च्याङ्ग्राको सङ्ख्या थपघट हुन सक्ने सूचना अधिकारी न्यौपानेले बताइन् ।

‘तयारी ३ हजारको हो । तर बजारको माग नै भएन, बिक्री नै भएन भने धेरै खसीबोका ल्याउने कुरा पनि भएन,’ न्यौपानेले रातोपाटीसँग भनिन्, ‘फेरि बजारको माग बढ्यो, बिक्री बढ्यो भने कम्पनीले थप खसी–बोका ल्याउँछ ।’

अघिल्लो वर्ष खाद्य कम्पनीले एक हजार ४६३ वटामात्र खसी, बोका र १६२ वटा च्याङ्ग्रा ल्याएको थियो । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि खाद्य कम्पनीले हेटौँडा, धादिङ, दाङ, तुलसीपुर लगायतका क्षेत्रबाट खसी, बोका ल्याउने तयारी गरेको छ । यस्तै, मनाङ र मुस्ताङबाट च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।

स्थानीय निकाय उपभोक्ता समूहमार्फत खसी, बोका तथा च्याङ्ग्रा सङ्कलन थालिसकेको कम्पनीले घटस्थापनाको अघिल्लो दिनसम्ममा काठमाडौँ ल्याइसक्ने र सकभर घटस्थापनाको दिनदेखि नै बिक्री वितरण सुरु गरिने सूचना अधिकारी न्यौपानेले रातोपाटीलाई जानकारी दिइन् ।

८ करोड ३६ लाख बजेट विनियोजन

दसैँका लागि ३ हजार खसी, बोका र च्याङ्ग्रा ल्याउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ८ करोड ३६ लाख रुपैयाँ बजेट छुट्याएको छ । स्थानीय बजारदेखि बिक्री केन्द्र (राजधानी) सम्म ल्याउँदासम्म लाग्ने सबै (खरिद, ढुवानी तथा व्यवस्थापन) खर्च यसैभित्र रहने न्यौपानेको भनाइ छ ।

‘स्थानीय बजारमा उपलब्ध खसी, बोका र च्याङ्ग्रा सोही स्थानमा सरोकारवालाहरू सम्मिलित उपभोक्ता समितिले मूल्य निर्धारण गर्छन् । त्यसपछि खाद्य कम्पनीको टोलीले उक्त खसी–बोका खरिद गरी काठमाडौँसम्म ढुवानी गर्छन् । ढुवानीका लागि समेत छुट्टै टेन्डर हुन्छ,’ न्यौपानेले भनिन् ।

गत वर्ष कम्पनीले कुल एक हजार ६२५ खसी, बोका र च्याङ्ग्रा खरिद–बिक्री गरेकोमा २ करोड २६ लाख रुपैयाँ खर्च गरेको थियो । कम्पनीले खसी–बोका प्रतिकेजी ६८० (जिउँदो) र च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँमा बेचेको थियो । यसो गर्दा कम्पनीलाई ५ लाखभन्दा बढी फाइदा भएको सूचना अधिकारी न्यौपानेको भनाइ छ ।

‘सुपथ मूल्यमा खसी–बोका उपलब्ध गराउँदा घाटा लाग्नु स्वाभाविकै हो । तर पनि गत वर्ष ५ लाख २६ हजार रुपैयाँभन्दा बढी फाइदा हुन पुगेको थियो । कम्पनीले बजार भाउभन्दा प्रतिकेजी १० रुपैयाँ सस्तोमा खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराएको थियो । यो वर्ष पनि प्रतिकेजी १० रुपैयाँको सहुलियत दिने तयारी कम्पनीको छ,’ उनले भनिन् ।

सहकारीमार्फत खसी–बोका खरिदको तयारी

यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्थानीय सहकारीमार्फत पनि खसी–बोका खरिदको तयारी गरेको बुझिएको छ । ‘विगतका वर्षहरूमा खाद्य कम्पनीकै कर्मचारीहरू मार्फत स्थानीय बजारबाट खसी बोका सङ्कलन गरिँदै आएको थियो । तर यस वर्षदेखि स्थानीय सहकारीमार्फत उत्पादित तथा सङ्कलित खसी–बोका किन्ने कि भन्ने तयारी छ,’ सूचना अधिकारी न्यौपानेले रातोपाटीसँग भनिन् ।

तथापि, यो अहिले छलफलकै विषय छ । ‘यदि छलफलले साकार रुप लिए खाद्य कम्पनीलाई खसी–बोका सङ्कलन र मूल्य निर्धारणमा समस्या हुने छैन । स्थानीय भाउ अनुसार सहकारीहरूले नै तोकेको मूल्यमा खसी–बोका खरिद गर्छ र बिक्री गर्नेछ,’ न्यौपानेले भनिन् ।

सङ्कलित खसी, बोका र च्याङ्ग्रा काठमाडौँको थापाथलीस्थित खाद्य कम्पनीको बिक्री केन्द्रबाट बिक्री वितरण गर्ने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप