शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारको श्रम दिनमा ‘बुलबुले सरसफाइ’

बिहीबार, १५ चैत २०७४, १५ : ००
बिहीबार, १५ चैत २०७४

सुर्खेत– हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रुपमा मनाउने मन्त्रिपरिषद्को निर्णयअनुसार कर्णाली प्रदेश सरकारले आज बुलबुले ताल तथा उद्यानको सरसफाइ गरेको छ ।  मानसरोवरको मूलद्वारका रुपमा चिनिने बुलबुले ताल मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारले सरसफाइ गरेर श्रम दिन मनाएको छ । सरसफाइमा बुलबुले ताल तथा उद्यान क्षेत्रमा भएको मानव निर्मित फोहरको व्यवस्थापन गरिएको छ । 

सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, “समाजमा भएको फोहरसँगै हाम्रो दिमागी फोहर पनि हटाउन आवश्यक छ र बसेर खानेलाई घृणाका पात्र बनाउनु पर्छ ।” विदेशी नभई अब स्वदेशको श्रममा रमाउन सिक्नुपर्ने संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए । 

उनले बुलबुलेलाई स्वर्ग पुगेको अनुभूति गराउने र काक्रेविहारलाई इतिहासको झल्को दिने क्षेत्रका रुपमा विकास गर्ने बताए । खासगरी नेपालको पर्यटनको गन्तव्य कर्णाली प्रदेशलाई बनाउने प्रमुख लक्ष्यका साथ ‘रारा पर्यटन वर्ष २०७५’ मनाउन थालिएको र वैशाख १ गतेका दिन त्यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने उनले जनाए । 

वन तथा पर्यटनमन्त्री नन्दसिंह बूढाले प्रदेश सरकार कर्णाली प्रदेशको जैविक विविधता संरक्षण र पर्यटन प्रवद्र्धनका लागि पर्यटन नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको बताए ।  यता, उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले ३१ बिगाहा क्षेत्रफलमा फैलिएको बुलबुले ताल र उद्यान क्षेत्र पर्यटकीय ताल मात्र नभई सांस्कृतिक ताल भएको बताए । भवन आवास कार्यालयको सहयोगमा रु पाँच करोडमा ताल निर्माण भइरहेको छ ।

सरसफाइ कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, सामाजिक विकासमन्त्री दलबहादुर रावल र यातायात तथा भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्री, प्रमुख सचिव सुरेश प्रधानलगायत प्रहरी प्रमुख, उच्च सरकारी अधिकारी तथा सञ्चारकर्मी पत्रकारको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप