सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा दैनिक औसत ६ जनाको मृत्यु

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सम्पन्न
शुक्रबार, १९ असोज २०८०, १५ : ०३
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । उपत्यकामा साताव्यापी सञ्चालित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ शुक्रबार एक कार्यक्रमका बिच समापन  गरिएको छ ।  काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा काठमाडौँको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरी ट्राफिक सप्ताह २०८० को समापन गरिएको हो ।

‘बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न’ भन्ने ट्राफिक स्लोगानलाई सम्झँदै उपप्रमुख डंगोलले  सडक सुरक्षामा ट्राफिक प्रहरीको मात्र नभएर सबैको जिम्मेवारी उत्तिकै रहने बताइन् । उनले  ट्राफिक सप्ताह कार्यक्रमको आज समापनको दिन भएतापनि यो सडक सुरक्षाको सवालमा भने सुरुवातको रूपमा लिनुपर्ने बताइन् । 

ट्राफिक सप्ताहको प्रभावकारिताबारे कार्यक्रममा सहभागी सबैलाई प्रकाश पार्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले विश्वभर करिब साढे १३ लाख भन्दा बढी मानिसले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको बताए ।  नेपालमा औसत दैनिक ६ जनाको दरले वार्षिक रूपमा करिब २५ सय जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गरे । 

जीवन रक्षा जस्तो विषयमा संवेदनशील हुनुपर्नेमा उनले जोड दिए । 

ट्राफिक सप्ताहको अवसरमा करिब ५,२६५ जना स्वयंसेवक परिचालन गरिनुका साथै २,५६० जनालाई ट्राफिक सचेतना प्रशिक्षण प्रदान गरिएको छ । यस्तै  ८६५ जना चालक तथा परिचालकको स्वास्थ्य परीक्षण गर्नुका साथै ८० हजार ट्राफिक चेतनामूलक स्टिकरहरू वितरण गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए । 

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, वरिष्ठ कलाकार मनोज गजुरेल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर लगायतले पनि आ(आफ्नो मन्तव्य राखेका थिए । 

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु गरिएको ट्राफिक सप्ताहको अवसरमा चोक(जक्सनको जेब्राक्रसिङ, आकाशेपुलमा ट्राफिक स्वयंसेवक परिचालन, चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी लक्षित चालक, परिचालक तथा यात्रु सँग २ मिनेट कार्यक्रम, यात्रुहरूको बढी चाप  हुने स्थानमा सन्देशमूलक अडियो भिडियो  सामग्री प्रदर्शनी र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चेतनामूलक प्रभातफेरी गरिएको  थियो । 

यस्तै, नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम, स्थानीय निकाय र स्थानीय प्रहरीसँग समन्वय गरी संयुक्त रूपमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया एवं नागरिक सुनवाइ कार्यक्रम समेत गरिएको थियो । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा ट्राफिक सप्ताहमा गरिएका विविध कार्यक्रमको संयुक्त रूपमा तयार पारिएको सडक सुरक्षा सम्बन्धी वृत्तचित्र समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

सडक सुरक्षा तथा सडक सचेतना सप्ताह २०८० लाई सफल बनाउन स्वयम् सेवक पठाएर महत्त्वपूर्ण भूमिका खेल्ने ११ वटा संघसंस्था,  उत्कृष्ट कार्य गर्ने ५ जना ट्राफिक प्रहरी कर्मचारी, ३ जना काठमाडौँ महानगर प्रहरी बलका कर्मचारी र ७ जना चालक तथा परिचालकलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप