शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पत्रकारको जवाफ कामबाटै दिन्छौँ : मुख्यमन्त्री शाही

शुक्रबार, १६ चैत २०७४, ११ : ०६
शुक्रबार, १६ चैत २०७४

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारले सोधेका प्रश्नको जवाफ कामबाटै दिने बताएका छन् । 

बिहीबार बेलुका यहाँका पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यस्तो तर्क प्रस्तुत गरेका हुन् ।
“हामी भर्खरै मात्र सरकारमा आएका छौँ, एउटा कुनै बीउ रोप्यो भने पनि त्यसले फल दिने बेलासम्म पर्खनु पर्दछ भने प्रदेश सरकारको बीउ पनि भर्खरै रोपिएको छ,” उनले भने ।  एक वर्षसम्म पत्रकारलाई नजिकबाट सहयोग दिएर त्यसपछि मात्र आलोचना गर्न उहाँले आग्रह गरे । 

अहिलेको अवस्थामा यो प्रदेशलाई रहन नदिने भन्दै उहाँले केही दिनमै स्वेतपत्र जारी गर्ने तयारीमा रहेको बताए । 
दुईलेनको कर्णाली करिडर निर्माण, हिल्सा, नाक्चेलाग्ना, डोल्पा जिल्लाबाट उत्तरतर्फ नाका खोल्ने, विद्युतीकरण, स्वास्थ्य र शिक्षामा जोड दिइने उनको  भनाइ थियो । त्यसको साथै सिंगो पर्यटनको विकासका लागि ‘रारा पर्यटन वर्ष—२०७५’ को शुभारम्भ राराबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने उनले जनाए । । 

यता आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशका पत्रकारको भूमिका निकै सकारात्मक र प्रशंसनीय रहेको प्रतिक्रिया गरे । “सरकारको सबैभन्दा नजिकको वर्ग पत्रकार हो, यसले सरकारको सधँै खबरदारी र रचनात्मक आलोचना गर्नुपर्दछ,” योजनामन्त्री ज्वालाले भने । 

उनले भ्रष्टाचार, अनियमितता हुन नदिन सार्वजनिक खरिद ऐन बनाउन थालिएको र मिडिया जगत्लाई पनि तीन महिनाका लागि ल्याउन थालिएको बजेटमा सम्बोधन गर्ने जनाए । 
सरकार पहिले संरचना पछि हुँदा घोडा पछिपछि बग्गी अघिअघि जस्तो भएको व्यंग्य गर्दै उनले कानूनको सूची बनेको तर कानून बन्न बाँकी रहेको तर्क गरे। 

कर्णाली प्रदेशबाट बग्ने भेरी बबई डाइभर्सनको सबै पानी ५ नं प्रदेशले प्रयोग गर्ने भएकाले यसको बारेमा बहस अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा पत्रकारले मदिराले समाजमा जन्माएको अपराध, कोटेसन प्रणाली, टेण्डर घटिघटाउ, टुक्रे योजनाले जन्माएको भ्रष्टाचार अन्त्य गर्नुपर्ने र सार्वजनिक खरिद ऐनको नाममा केन्द्रीकृत गरिएको विज्ञापन प्रणाली खारेज गर्नुपर्नेमा जोड दिएका थिए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप