सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
जनप्रतिनिधिको सक्रियता

चोरी भएको माटो खोज्दै उपप्रमुख र प्राविधिक टोली सेजमा

माटोबाट वार्षिक ३ करोड बढी राजस्व उठाएर बजेट घाटा कम गर्ने हाम्रो  लक्ष्य हो : नगरप्रमुख पौडेल
बुधबार, २४ असोज २०८०, ०६ : ५३
बुधबार, २४ असोज २०८०

बारा । सार्वजनिक जग्गाबाट ठुलो परिणाममा माटो चोरी भएपछि जीतपुर सिमरा उपमहानगरका उपप्रमुख सहित प्राविधिक टोली चोरी भएको माटोको खोजीमा लागेको छ । 

उपमहानगरको वडा नं ११ को कित्ता नं ४२ को सार्वजनिक ऐलानी  जग्गाबाट कसले माटो चोरी गर्‍यो र कहाँ बिक्री भयो भनेर उपमहानगरको टोली मंगलवार दिनभर स्थलगत अनुसन्धानमा दौडिएको हो । उपप्रमुख भोलाप्रसाद अधिकारी, इन्जिनियर सञ्जीव रुपाखेती मंगलवार बिहानै माटो उत्खनन भएको क्षेत्रमा पुगेको थियो । अनुगमनका क्रममा करिब डेढ बिगाहा सार्वजनिक जग्गाबाट  डेढ  देखि २ मिटर गहिराइमा माटो चोरी गरेर बिक्री गरेको भेटिएपछि टोली माटो खोज्न सिधै विशेष आर्थिक क्षेत्र प्राधिकरणमा सेजमा प्रवेश  गर्‍यो । 

पछिल्लो समय सेजको आन्तरिक सडक निर्माण र उद्योगीको संरचना निमार्र्णको क्रममा सेजमा हजारौँ टिपर माटो खपत भएको छ ।   अनुगमनको क्रममा स्थानीयहरूले  सार्वजनिक जग्गाबाट चोरी भएको माटो सिमरा सेजमा बिक्री भएको बताएका थिए । 

उपमहानगर वडा नं ११ का स्थानीय वीरेन्द्र यादवले स्थानीय जनप्रतिनिधिको मिलेमतोमा सार्वजनिक जग्गाबाट माटो चोरी गरेर सेजमा बिक्री गरेको बताए । ‘कागजमा निजी कित्ता नं उल्लेख गरेर  उपमहानगरबाट सिफारिस माग्नु भएको छ, ३५ नं कित्ताबाट सय टिपर माटोको लागि सिफारिस लिएर ४२ नं कित्ताको सार्वजनिक जग्गाबाट दिनदहाडै हजारौँ टिपर माटो चोरी गरेर गाउँको बाटो धुलो उडाउँदै सिमरा सेजमा गएको छ’ स्थानीय यादवले भने  ‘यो सबै जनप्रतिनिधि सम्लग्नतामा भएको काम हो’

a21

असोज ४ गते उपमहानगर वडा नं ११ का वडाध्यक्ष विन्दालाल साहले महमद दिन मियाँ चुरीहारको भोगचलनमा रहेको साबिक फक्तेपुर गाविस हाल जीतपुर सिमरा वडा नं ११ को कित्ता नं ३५ को ५ बिगाहा जग्गाबाट एक सय टिपर माटो उत्खनन गर्न उपमहानगरलाई सिफारिस पत्र पठाएका थिए । सानो परिणाममा व्यक्तिको निजी जग्गाबाट माटो उत्खनन गर्ने भनिएपछि उपमहानगरले ७२ हजार राजस्व लिएर तत्कालै उत्खनन अनुमति दिएको थियो । उपमहानगरका इन्जिनियर सञ्जीव रुपाखेतीले  माटो उत्खनन गर्नु पूर्व  स्थलगत अनुगमनमा क्रममा  वडाध्यक्षले आफूलाई कित्ता नं ३५ को  व्यक्तिको भोग चलनको जग्गाबाट माटो उत्खनन  गर्ने भनेर फिल्डमा जग्गा भनेर ४२ नं कित्ताको सार्वजनिक  देखाएको तर आफूले विश्वासका आधारमा थप कागजपत्र नहेरेको  बताएका छन् । ‘३५ नं कित्ताबाट एक सय टिपर माटो उत्खनन गर्ने भनेर वडाको सिफारिस पत्र आएपछि उपमहानगरले त्यसमा लाग्ने राजस्व दस्तुर लिएर सहजीकरण गर्ने हिसाबले २÷३ दिनभित्र अनुमति दिएको हो’ इन्जिनियर रुपाखेतीले भने ‘उत्खनन गनुपूर्व  साइड हेर्न म आफै पनि आएको थिए, मलाई कित्ता नं फरक देखाइयो, फिल्डमा जनप्रतिनिधि आफै आएर देखाएपछि हामीले पनि पत्याउने कुरा भयो’ वडाले पठाएको सिफारिसमा उपमहानगरले एक दर्जन टिपर र २ वटा एक्स्काभेटर माटो उत्खनन अनुमति दिएको थियो । 

उपमहानगर वडा नं ११ का निवर्तमान वडाध्यक्ष विनोद यादवले  बहालवाला वडाध्यक्ष र वडा सदस्यहरूको मिलेमतोमा विना लालपुर्जा जग्गाधनी खडा गरेर उपमहानगरसँग सय टिपरको उत्खनन अनुमति लिएको तर, माटो भने सार्वजनिक जग्गाबाट चोरी गरेको आरोप लगाएका छन् । सार्वजनिक जग्गाको कित्ता नं ४२ मा १८ बिगाहा १० कट्टा जग्गाको मात्रा रहेको छ जसमा एकदेखि डेढ बिगाहा क्षेत्रबाट माटो उत्खनन भएको छ । 

a26

सार्वजनिक जग्गालाई नै नम्बरी हो भनेर झुक्काएर माटो चोरी भएको घटनामा सार्वजनिक भएपछि उपमहानगरले जीतपुरका  व्यवसायी सुनिलकुमार गुप्ताको एक्स्काभेटर नियन्त्रणमा लिएको थियो । प्रहरीको रोहवरमा सर्जिवन मुचुल्का उठाएर वडा नं ११ को स्थानीय दाना उद्योगको कम्पाउडभित्र नियन्त्रणमा लिएको एक्स्काभेटर सोमवार राती करिब १ बजे भगाइएको छ । रातारात भगाइएको एक्स्काभेटर कहाँ कसको नियन्त्रणमा छ भन्ने खोजी भइरहेको उपमहानगरले जनाएको छ । 

उपमहानगरको वडा नं ११ पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगन्ज औद्योगिक कोरिडोर भन्दा भित्री सडक खण्डमा पर्ने ग्रामीण वडा हो । 

माटो चोरीमा ठुलो गिरोह सङ्लन छ : उपप्रमुख अधिकारी 

उपमहानगरका उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक भोलाप्रसाद अधिकारीले सार्वजनिक जग्गाको माटो बेचेर मुनाफा कमाउने गिरोहले यति ठुलो गल्ती गरेको बताएका छन् । उनले माटो चोरीमा ठुलो माफिया समूहले कार्यालयलाई समेत गुमराहमा राखेर सार्वजनिक जग्गाबाट माटो चोरी गरेको टिप्पणी गरेका छन् । 

‘हामीले माटो चोरी भएको सूचना पाउनासाथ कर्मचारी खटाएर सवारी साधनलाई नियन्त्रणमा लिएका छौ, अव थप कारवाहीको लागि मुचुल्का उठाएर ककसको संलग्नता छ अनुसन्धान हुन्छ’ उपप्रमुख अधिकारीले भने ‘माटो चोरी घटनामा ककसको संलग्नता छ लिखित रूपमा कारबाही अगाडी बढ्छ’ । 

सार्वजनिक जग्गाबाट टिपरले रातभर टिपरमा माटो ओसारपसार गरेको थाहा पाएपछि वडा नं ११ का स्थानीयहरूले उपमहानगरमा लिखित उजुरी नै दिएका थिए ।  स्थानीयको उजुरी लगत्तै नगरप्रमुख राजन पौडेलले योजना शाखा प्रमुख बालाराम खड्काको नेतृत्वमा इन्जिनियर र अमिनको टोली स्थलगत अनुगमनमा पठाएका थिए । 

a2

अनुगमन पश्चात् अवैध ढङ्गले माटो चोरी भएको भेटिएपछि  मालपोत कार्यालय सिमरालाई पत्र पठाएर कित्ता नं ३५ र कित्ता नं ४२ कुन प्रकृतिको जग्गा हो सो को विवरण खुलाएर पठाउन पत्राचार गरेको थियो । जसमा मालपोत कार्यालय सिमराले सोमवार पत्रको जवाफ पठाएर जग्गाको स्रेस्ता जीर्ण भएको जवाफ दिएको छ । 

उपप्रमुख अधिकारीले कित्ता नं ३५ र कित्ता नं ४२ को जग्गाको स्रेस्ता उपमहानगरसँग सुरक्षित रहेको तर त्यही विवरण मालपोतसँग कानुनी बाटोबाट माग्दा स्रेस्ता जीर्ण छ भन्नुले अवैध माटो चोरीमा मालपोत कर्मचारीको  मिलेमतो प्रष्ट देखिएको बताए । ‘हामीसँग त्यही कागजपत्र प्रष्ट र सुरक्षित छ तर कानुनी पक्रियाबाट मालपोतसँग विवरण माग्दा कागजपत्र जीर्ण छ भनेर प्रमाण लुकाउनुले अवैध माटो चोरीमा उहाँहरूको मिलेमतो भएको बुझिन्छ’ उपप्रमुख अधिकारीले भने । उपमहानगरले अवैध माटो चोरीमा सङ्लन टिपर र एक्स्काभेटर चालकलाई नियन्त्रणमा लिन सोमवार इलाका प्रहरी कार्यालय सिमरालाई पत्र पठाएको छ । 

साथै व्यवसायी  सुनिल कुमार गुप्तालाई पनि उपमहानगरले लिखित पत्र पठाएर माटो बिक्रीमा प्रयोग भएको सवारी साधन र कुन कुन फर्मबाट माटो बिक्री भएको त्यसको विवरण खुलाएर ३ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । उपमहानगर वडा नं ११ का जनप्रतिनिधिको मिलेमतोमा सार्वजनिक जग्गाबाट उत्खनन माटो व्यवसायी गुप्ताले बिक्री गरेको उपमहानगरले जनाएको छ । माटो उत्खननमा प्रयोग भएको टिपर तथा एक्स्काभेटर गुप्ताको हो । यता वडा नं ११ का वडाध्यक्ष विन्दालाल साहले सार्वजनिक जग्गाबाट माटो चोरी भएको आफूलाई थाहा नभएको बताएका छन् । ‘मैले ३५ नं कित्ताको सिफारिस पठाएको हो तर माटो कहाँ बाट उठ्यो मलाई थाहा भएन, यसमा कर्मचारीको हात होला रसिद उहाँहरूले काटेको हो’ वडाध्यक्ष साहले भने ‘माटो उठाउन मलाई सोध्यो मैले सिफारिस दिन सक्दैन, जानुस् नगरपालिका भन्दिए, पछि माटो उठाइसकेपछि मलाई कर्मचारीले आएर भनेपछि थाहा भयो’ वडाध्यक्ष साह वडा नं ११ का स्थानीय पनि हुन् । वडाध्यक्ष साहले नगरपालिकाबाट आएको कर्मचारीले नै गलत ठाउँको जग्गा हेरेर माटो उत्खनन गर्न अनुमति दिएको आरोप लगाएका छन् । ‘विन्दा राम्रो काम गरिरहेको छ यसलाई कसरी बदनाम गर्ने भनेर विपक्षीहरू मेरो विरुद्ध लागिरहेको छ’ वडाध्यक्ष साहले भने । 

वडाध्यक्ष साह वडा नं ११ का स्थानीय समेत हुन् । करिब एक हजार टिपर माटो चोरी हुँदा आफूलाई कुनै जानकारी नभएको साहको तर्क छ । यता माटो उत्खननको निवेदन तथा सिफारिस फाइल बोकेर उपमहानगर पुगेका माओवादी नगर कमिटी अध्यक्ष प्रेम बरालले पार्टीगत हिसाबले आफूले सहयोग मात्रै गरेको तर माटो चोरीमा  आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । 

सार्वजनिक जग्गाबाट चोरी भएको माटो सेजमा भेटियो 

सार्वजनिक जग्गाबाट चोरी भएको माटो विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजमा भेटिएको छ । सेजले ४० मिटर चौडाइ र ३ हजार ६ सय मिटर लम्बाई भएको आन्तरिक सडक निमार्ण गरेको छ जसमा ४८ हजार घनमिटर माटो आवश्यक पर्ने जनाएको छ । चालु आर्थिक वर्षभित्र काम सक्नेगरी सेजले ३ हजार ६ सय मिटर आन्तरिक सडक र २ वटा कल्भट निमार्णका लागि भ्याटसहित ८ करोड ५० लाख बजेट विनियोजन गरेको छ । सो कामका लागि ग्रिन नेपाल कन्ट्रक्सनले २०८० बैशाख १ गतेदेखि काम सुरु गरेर अगामी वैशाखभित्र सक्ने सम्झौतामा उल्लेख छ । 

a22

ग्रिन नेपाल कन्ट्रक्सनका सहायक इन्जिनियर चन्दनकुमार यादवले  ३ हजार ६ सय मिटर आन्तरिक सडक मध्ये हालसम्म १ हजार २ सय मिटर सडक निमार्णको काम सम्पन्न भएको र त्यसमा करिब १० हजार घनमिटर माटो प्रयोग भएको जनाएका छन् ।

१० हजार घनमिटर माटो मध्ये ८ हजार घनमिटर सेजभित्रकै आन्तरिक माटो प्रयोग गरेको र बाँकी माटो बाहिरबाट खरिद गरेर ल्याएको सहायक इन्जिनियर यादवले बताए । 

स्थानीय बजारमा  माटोको मूल्य प्रति टिपर ४ हजार भए पनि सेजमा माटोको माग अधिक भएकोले प्रति टिपर ४ हजार ५ सयको दरले खरिद गरेको यादवले जनाएका छन् । 

‘हामीले बाहिरको सप्लार्यस कम्पनीसँग प्रति टिपर ४ हजार ५ सयमा माटो किनेको हो,टिपरले राती १० बजेसम्म माटो ओसारेको कुरा सत्य हो तर, सप्लार्यस् कम्पनिले  माटो चोरेर ल्यायो कि किनेर ल्यायो हामीलाई थाहा छैन’ यादवले भने । सेजको आफ्नो आन्तरिक सडक बाहेक पनि पशुपति सेरामिक्स उद्योग, ग्रेनाइट टायल कम्पनी र लक्ष्मी ग्रेनाइट ईण्डष्ट्रीले पनि  उद्योगको पूर्वाधार निमार्णको काम गरेको छ जसमा हजारौँ टिपर माटो प्रयोग भएको छ ।  उपमहानगरका इन्जिनियर सञ्जीव रुपाखेतीले सेजमा प्रयोग भएको सम्पूर्ण माटो अवैध ढङ्गले राजस्व छलेर चोरी तस्करी गरेर ल्याएको बताएका छन् । ‘सेज भित्र प्रयोग भएको माटो अन्य पालिकाबाट आएको छैन , अवैध ढङ्गले हाम्रै उपमहानगर भित्र रहेका खोला, वन जङ्गल, सार्वजनिक जग्गाबाट चोरी गरेर ल्याइएको छ’ इन्जिनियर रुपाखेतीले भने ‘यसरी अवैध ढङ्गले हजारौँ टिप माटो सेजमा प्रयोग हुँदा उपमहानगरको लाखौँ रुपैयाँ राजस्व हिनामिना भएको छ ।’ 

अवैध तस्करी नियन्त्रण गर्न माटोलाई करको दायरामा 

उपमहानगरले चालु आर्थिक वर्षको नगर सभा मार्फत आर्थिक ऐनमा समावेश गरेर माटोमा पहिलो पटक कर निर्धारण गरेको छ । 

सार्वजनिक तथा निजी जग्गाबाट अवैध ढङ्गले हुने माटोको चोरी तस्करी नियन्त्रण गर्न उपमहानगरले माटोमा कर लगाएको हो । विगतमा वन जङ्गल, खोला नाला तथा सार्वजनिक जग्गाबाट हजारौँ टिपर माटो अवैध ढङ्गले तस्करी गरेर बिक्री वितरण हुँदा ती घटना खासै सार्वजनिक हुँदैनथे  । 

उपमहानगरले पहिलो पटक माटोमा कर लगाएपछि अवैध माटो चोरीको घटना सार्वजनिक भएको हो । उपमहानगरका नगर प्रमुख राजन पौडेलले विगतमा वन जङ्गल, खोलानाला, सार्वजनिक जग्गाबाट हजारौँ टिपर अवैध ढङ्गले माटो चोरी भएका घटना खासै बहसमा नआएको बताएका छन् । ‘राजस्व सङ्कलन र सार्वजनिक स्थलबाट हुने अवैध माटो चोरी नियन्त्रण गर्न हामीले माटोलाई पनि करको दायरामा ल्याएका हौ’ नगरप्रमुख पौडेलले भने । प्रदेशले माटोमा प्रतिघन फिट ४ रुपैयाँ कर निर्धारण गरेको छ । स्थानीय तहले पनि माटोको उत्खनन तथा निकासीमा कर लगाउन सक्ने अधिकार भए पनि बाराको १६ वटा पालिका मध्ये जीतपुसिमरा उपमहानगरले मात्रै माटोमा कर लगाएको छ । उपमहानगरले चालु आर्थिक वर्षको बजेट भाषण मार्फत आर्थिक ऐनमा समावेश गरेर माटोमा प्रतिघनफिट २ रुपैयाँ कर लगाएको हो । 

a5

‘चालु आर्थिक वर्षमा माटोबाट ३ करोड माथि राजस्व सङ्कलन गरेर बजेट घाटालाई कम गर्ने हाम्रो लक्ष्य हो’ नगरप्रमुख पौडेलले भने ।  यता कलैया उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले स्थानीय तहले माटोमा कर लगाउन सक्ने व्यवस्था भए पनि जीतपुर सिमरा बाहेकका पालिकाहरूले माटो बेचबिखनलाई करको दायरामा ल्याउन नसकेको बताए । ‘माटोको निकासीमा कर लगाउन पाइन्छ तर हामी (कलैया उपमहानगर) ले माटोलाई करको दायरामा ल्याउन सकेका छैनौ’ प्रमुख प्रशासकीय अधिकृत साहले रातोपाटीसँगको कुराकानी भने ।

a188a21a8a4a1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप