शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
विमानस्थलको जग्गा

गौतम बुद्ध विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता प्रकरण : तीनतिरबाट छानबिन

बुधबार, २४ असोज २०८०, १० : १६
बुधबार, २४ असोज २०८०

बुटवल । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिका नाममा दर्ता भएको घटना बाहिर आएपछि विभिन्न निकायले छानबिन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस विषयमा मालपोत कार्यालय प्रमुख कुमार आचार्यलाई १० बुँदे स्पष्टीकरण सोधेको थियो । मालपोत कार्यालय प्रमुख आचार्यले हालै त्यसको जवाफ दिएका छन् ।

लगत्तै भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट छानबिनको एक टोली रुपन्देही आएको छ । उक्त टोलीलाई ५ दिनको म्याद दिएर रुपन्देही पठाइएको हो । टोलीले रुपन्देहीका मालपोत कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा अन्य सरोवारवालाहरु भेटघाट गरेको गरेको छ । विभागले जग्गा विज्ञका रुपमा केदार दाहाल र कानुन अधिकृत गोकुल भुजेललाई खटाएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख महाशाखाका निर्देशक विदुर प्रसाद खनालका अनुसार जग्गाको विषयमा हालको अवस्था के, कसरी नापी भयो आदि विषयमा रिपोर्ट तयार गर्न ५ दिनको म्याद दिइएको हो ।

उनले रातोपाटीसँग भने, ‘हामीले टोली खटाएको छौँ, अब टोलीले रिपोर्ट दिएपछि हामी कसरी अगाडि जाने भन्ने निर्णय हुन्छ ।’

घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले पनि छानबिन सुरु गरेको छ । सो कार्यालयका सूचना अधिकारी एवं उपसचिव भेषराज रिजालले अख्तियारमा उजुरी परेकोले सरोकारवालसँग कागजपत्र मगाउने र अध्ययन गर्ने काम भइरहेको बताए ।

उनले भने, ‘हामी अनुसन्धानको क्रममा छौँ, विभिन्न डकुमेन्ट अध्ययन गर्दैछौँ । प्रक्रियागत रूपमा अनुसन्धान जारी छ । धेरै बोल्न मिल्दैन,’ उनले भने ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि मुआब्जा समिति संयोजकको हैसियतमा आफूले जग्गाको रकम दिन रोकेको र मालपोत कार्यालय प्रमुखसँग स्पष्टीकरण सोधेको बताए । उनले आफूले क्षेत्राधिकारभित्र बसेर गर्न सक्ने काम गरेको र अख्तियारबाट समेत अनुसन्धान भइरहेकाले थप विषय खुल्ने विश्वास व्यक्त गरे ।

माफिया गिरोह र मालपोत कार्यालयको मिलेमतोमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटना बाहिर आएपछि सबैभन्दा धेरै तनाव मालपोत कार्यालयका प्रमुख कुमार आचार्यले व्यहोर्नु परेको छ ।

विमानस्थलको रन–वे क्षेत्र नै व्यक्तिको नाममा दर्ता गरेको खुलेपछि मिडिया, प्रमुख जिल्ला अधिकारी, भूमि व्यवस्था विभाग र अख्तियारलाई जवाफ दिँदादिँदा आचार्य हैरान भएका छन् । आफूले कानुन बमोजिम काम गरेको जवाफ सबैलाई दिएको उनले रातोपाटीलाई बताए ।

उनले रातोपाटीसँग भने, ‘मलाई जसले जहाँबाट सोधे पनि मेरो एउटै जवाफ हो, कानुन बमोजिम दर्ता छ । त्यसमा अदालतको आदेश अनुदार दर्ता गरेको हो । त्यस कारण मेरो जवाफ सिधा र एउटै छ ।’

के भन्छन् स्थानीय ?

२०२१ सालमा भूमि सुधार ऐन लागु भएपछि ७ नम्बर फाँटबारीमा सुर्जा मिश्राइनले ३० बिघा १४ कट्ठा १४ धुर जग्गाको फाँटवारी भरेको देखिन्छ ।

यही फाँटवारीको अन्तिम महलमा हदबन्दीभन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिघा जग्गा कालिकाजी (भगवान) लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ । तत्कालीन जग्गा धनी सुर्जा मिश्राइनले कालिकाजीलाई दिएपछि स्थानीयले पूजाआजा गर्न थाले ।

फिल्ड बुकमा कसैको पनि नाम उल्लेख नभएको उक्त जग्गामध्ये ४ बिघा १७ कट्ठा ६ धुर जग्गालाई मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र नायब सुब्बा अजित साहिनले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्रको नाममा दर्ता गराएका स्थानीयको बुझाइ छ ।

मालपोत कार्यालयबाट पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरेको जग्गाको मुआब्जाका लागि गौतम बुद्ध विमानस्थल सुदृढीकरण कार्य आयोजना कार्यान्वयन इकाईमा निवेदन परेपछि जग्गाको विवादसहितको रहस्य बाहिर आएको हो । स्थानीय राजु यादवले उक्त ठाउँमा मन्दिर रहेको र आफ्ना हजुरबुबाले पूजा आजा गर्ने गरेको रातोपाटीलाई बताए ।

उनका अनुसार त्यहाँ विमानस्थलले बाउन्ड्री लगाए पनि अझै मन्दिर छ । ‘हामी विमानस्थलका सुरक्षाकर्मीको अनुमतिले अहिले पनि मन्दिर पूजा गर्न जाने गरेका छौँ । वर्षौंदेखि तीन पुस्ताले पूजाआजा गर्ने मन्दिर अहिले व्यक्तिको नाममा गयो भनेको सुन्दा अचम्म लागेको छ,’ उनले भने ।  

अहिले त्यही मन्दिरलाई दान गरिएको जग्गालाई सिद्धार्थनगर नगरपालिका–१० निवासी पर्वतराज कान्त मिश्रले छुट कित्ता भन्दै मालपोत कार्यालय रुपन्देहीमा निवेदन दिएका थिए । उक्त जग्गालाई भूमाफिया गिरोह र मालपोत कार्यालयलाई आफ्नो पक्षमा पारी आफ्नो नाममा दर्ता गराउन ठुलो संघर्ष गरेको देखिन्छ ।

अहिले जग्गाबाट रकम लिन प्रयास गरेका पर्वतराज कान्त मिश्र भारतको गोरखपुर बस्ने गर्दछन् । गोरखपुरको बाँसगाउँ बस्ने भए पनि पछिल्लो पटक जग्गा बिक्री र मुआब्जाबाट रकम दाबी गर्न उनी एकदुई पटक सिद्धार्थनगर नगरपालिका– १० स्थित गाउँमा आएका छन् ।

विमानस्थलले २०७४ सालमा स्थानीयलाई मुआब्जा दिएर विस्तारको काम गरेको थियो । मन्दिरको जग्गा फेरि २०८० सालमा पर्वतराज कान्तले आफ्नो नाममा गरी मुआब्जाको रकम दाबी गरेका छन् ।

स्थानीय राजु यादवका अनुसार पुरानो बस्ती भएको जग्गा छाडेर अरू जग्गामा ७ वटा कित्ता बनाएको अवस्था छ ।

घटना के थियो ?

५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । स्थानीय सुर्जा मिश्राइनको हक भोगमा ३० बिघा १४ कट्ठा १४ धुर जमिन रहेकोमा हदबन्दीका कारण २०२२ पुस २० मा उनले हदबन्दीभन्दा धेरै जमिन मन्दिरका नाममा दिएकी थिइन् ।

निःसन्तान रहेकी मिश्राइनको २०२५ माघ १८ मा मृत्यु भएपछि नजिकको हकदारबारे विवाद सुरु भएको थियो । विभिन्न व्यक्तिबिच विवाद भए पनि २०३६ जेठ १८ मा सर्वोच्च अदालतको फैसलाले रमाकान्त मिश्र हकदार साबित भएका थिए ।

मालपोत कार्यालयले रुपन्देहीले भुजौली ९(ख) को कित्ता नम्बर ७, ३२, ६७, ६८, ९२, ९४ र ९ (क) को कित्ता नम्बर २९ लाई पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरिएको थियो । ती जग्गा विभिन्न व्यक्तिको नाममा बिक्री भएको थियो । मालपोत कार्यालय रुपन्देहीले ७ कित्तामा रहेको ४ बिघा १७ कट्ठा ६ धुर जमिन २०८० साल वैशाख ८ मा दर्ता गरिदिएको हो ।

मिश्रले आफ्ना नाममा रहेको जग्गा जमिनमा विमानस्थल निर्माण भएको भन्दै मुआब्जा लिन दाबी गरेका छन् । अहिले विमानस्थलमा ४ बिघा जग्गाको मुआब्जा माग गरिएको हो । उक्त मुआब्जा बापत करिब ९ करोड रकम दिनुपर्ने अनुमान छ ।

विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले तत्काल यो छानबिनबाट निरूपण नहुँदासम्म रकम नदिने रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप