बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईंलाई महेश बस्नेतको चुनौती : मरेको राजा च्यापेर हामीलाई च्यालेन्ज गर्ने ?

‘कोशीबाट फिल्महरू प्रदर्शन भैसकेका छन्, संघीय सरकारमा पनि प्रभाव पर्नेछ’
शनिबार, २७ असोज २०८०, १६ : २६
शनिबार, २७ असोज २०८०

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कोशी प्रदेशबाट कांग्रेसको विद्रोही समूह र एमालेको सहकार्य सुरुवात भएको उल्लेख गर्दै चाँडै फिल्महरू प्रदर्शन हुने बताएका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले भने–‘कोशी प्रदेशको कांग्रेसको विद्रोह र एमालेसँगको सहकार्य त सुरुवात मात्रै हो । यसको कास्टिङ हो, यसको फिल्महरू प्रदर्शन हुँदैछन् । मलाई लाग्छ चाँडै नै फिल्महरू प्रदर्शन हुनेछन् र ती फिल्मका प्रभावहरू संघीय सरकारमा पनि पर्नेछ ।’

उनले नेपालको राजनीतिलाई नयाँ दिशामा मोड्ने ढंगले कोशी प्रदेशमा केदार कार्कीको नेतृत्वमा सरकार बनेको सुनाए । ‘कोशीमा एमाले जिम्मेवार बन्नुपर्छ भन्ने ढंगले हामीले अभिव्यक्ति दिएका थियौँ । कोशी प्रदेशको सरकार बन्ने सन्दर्भमा एमाले अधिकतम लचिलो बन्नुपर्छ भनेर मैले पनि भनेको थिएँ ।’–उनले भने । 

उनले अराजकहरूको कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको पनि टिप्पणी गरे । उनले भने,‘आज लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको छ । केपी ओली तेह्रथुम जाँदा योजनाबद्ध ढुंगा हानिन्छ । त्यहाँ निषेध गरिन्छ । दुई महिनाभित्र ओली, प्रचण्ड र देउवा नसच्चिए खुट्टा काटिनेछ र  प्रयोगशालमा राखिनेछ भन्दै भाषण गदै हिँड्छन दुर्गा प्रसार्इं भन्ने अराजक व्यक्ति । राज्य निरीह छ । बिचरा भन्न मन लाग्छ प्रचण्ड र नारायणकाजी । मेरो विरोध गर्ने ? देखाइदिन्छु ? मासु काट्छु, चोक्टा, चोक्टा बनाउँछु, उसिनेर खान्छु भन्छ दुर्गा प्रसाईँ । बैंक तथा वित्तीय संस्थाबाट लोन लिएकालाई नतिर भन्छ । आज उसका पछाडि सहकारी र वित्तीय संस्थाबाट ऋण लिएकाहरू ५ लाख, १० लाख छुट गरिदिन्छ भनेर लागेका छन् । भैँसीले कहिलेकाहीँ पुच्छरलाई हान्छ, त्यो प्रसाईँले पुच्छरको प्रयोग गरेर एमाले र नेताहरूमाथि चुनौती दिन्छ ।’

नेता बस्नेतले झापाको युवा संघको कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम भएको स्पष्ट पारे । उनले झापाको अर्जुनधारा नगर कमिटीको युवा संघको कार्यक्रमलाई गलत ढंगले नबुझ्न अनुरोध गरे । उनले भने,‘झापाको अर्जुनधाराको नगर अधिवेशन पूर्वर्निाधिरत कार्यक्रम हो । दुर्गा प्रसाईँ र पहिचानवादीले थ्रेट दिएका कुरा बाहिर आएका थिए, दुर्गा प्रसाईँजस्ता अराजक र आपराधिक व्यक्तिको पछि लागेर कोही पनि पीडितहरू उचालिनुहुँदैन । अर्जुनधारानजिकै एउटा चोकमा ५०/६० जना भेला भएका थिए । हाम्रो कार्यक्रम निकै सभ्य र भव्य रूपमा सम्पन्न भयो । म भाषण गर्दै गर्दा कडा ढंगले प्रस्तुत हुनुपर्ने परिवेश थियो ।’ उनले आफूहरूले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा धूप बालेर बस्ने कुरा नहुने टिप्पणी गरे । 

उनले झापामा आफूहरूको कार्यक्रम बिथोल्नको लागि पहिचानवादी र दुर्गा प्रसाईँका समथर्कहरु मिलेर आएको दाबी गरे । उनले भने,‘पहिचानवादी साथीहरू र दुर्गा प्रसाईँसँग रहेका साथीहरू मिलेर आउनुभएको छ । उनीहरू एक ठाउँमा छन् । के हामीलाई प्रतिरोधमा जान बाध्यता बनाएको हो त ? के हामीसँग प्रतिरोध नै खोजेको हो त ? युवा संघ  झापाले पहिचानवादी र दुर्गा प्रसाईँका कार्यक्रम गर्न नदिने भनेको छ । एमाले र युवा संघ सैद्धान्तिक रूपमा ठिक ठाउँमा छ । एमालेका कार्यकर्ता सशक्त छन् । त्यही भएर यिनीहरूको प्रहार हामीमाथि भएको छ । अराजक व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ । राज्यले अराजकतालाई प्रश्रय दिने काम गर्‍यो भने हामी प्रतिरोध गर्न बाध्य हुन्छौँ । मरेको राजा च्यापेर हामीलाई च्यालेन्ज गर्ने ? दुर्गा प्रसाईंले हामीलाई हिजो एमालेमा पसेर झुक्यायो । अहिले समानान्तर अदालत र सरकार चलाउन खोजेको छ। एमालेलाई प्रतिरोध र प्रतिकार गर्न बाध्य बनाइयो भने उनीहरूलाई क्षति हुन्छ । अहिले झापाको कार्यक्रममा हाम्रा सवारीसाधन तोडफोड हुँदा राजावादीहरू रमाउने छन् । मरेको भूत च्यापेर रमाउनेहरूलाई आवश्यकताअनुसार उचित जवाफ दिन एमाले तयार छ । यसमा द्विविधा राख्नुपर्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप