मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सामाजिक सदभाव खलबल्याउने प्रयास भइरहेको छ : मुख्यमन्त्री पाण्डे

आइतबार, २८ असोज २०८०, ११ : ००
आइतबार, २८ असोज २०८०

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको सामाजिक सदभावमा आँच ल्याउने प्रयास भैरहेकोले सचेत रहन आग्रह गरेका छन् । उनले बहुसांस्कृतिक, बहुभाषिक मुलुकमा अहिलेसम्मको मिलाप भत्काउन लागिएको बताए ।

‘जुनसुकै भाषा बोलेपनि, चाड मानेपनि हामीसँग सामाजिक सदभाव छ । चाडबाडलाई कसैले विभेदकारी रूपमा हेरिएको छैन,’ उनले भने, ‘आजभोलि सामाजिक सदभाव भड्काउने प्रयास भइरहेको छ । सदियौंदखिको मिलनलाई भत्काउने र अराजकता सिर्जना गर्ने प्रयास गरिएको छ । सदभावलाई अटुट र अक्षुण्ण राख्नुपर्छ ।’ उनले धरान, नेपालगन्ज लगायत क्षेत्रमा दङ्गा बढ्नुमा कुनै पक्षको अदृश्य स्वार्थ रहेको बताए । 

गोरखा मिलन समाज पोखराको चाडपर्व शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले अनुत्पादक क्षेत्रमा सरकारले खर्च नगर्ने बताए । ‘गाउँ गाउँमा सामुदायिक भवन बनेका छन् । तर वर्षमा २–४ दिनभन्दा प्रयोग हुँदैन,’ उनले भने, ‘समुदायमा एउटा भवन ठिकै हो । तर जात, समूह र धर्मको आधारमा भवन बनाउने क्रम छ । यो राम्रो होइन । यसलाई रोक्नुपर्छ ।’ 

उनले शक्ति गोरखामा केन्द्रित भएको भन्दै यो कार्यकालमा धेरै विकास हुने नागरिकको आकांक्षा रहेको बताएका छन् । ‘अहिले नभएको विकास कहिले हुन्छ भन्ने भाष्य बनेको छ । प्रधानमन्त्री, मुख्यमन्त्री देखि गृहमन्त्री समेत गोरखाको हुँदा यो सोच्नु स्वाभाविक पनि हो । यसले हामीलाई प्रेसर बढेको छ,’ पाण्डेले थपे, ‘विगतभन्दा यो वर्ष विकासको बजेट बढेको छ । 

११ वटै जिल्लामा मेरो दायित्व छ । तर आफ्नो जन्मथलो ४ वर्ष सरकारमा रहिरहे भने गोरखाको मुख्य मुख्य पूर्वाधार निर्माण गरिछाड्छु ।’ पाण्डेले जन्मभूमिका लागि केही योगदान गर्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप