शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

खाद्यको खसी–बोका सोमबार काठमाडौँ आइपुग्ने, बजार मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट !

आइतबार, २८ असोज २०८०, १३ : २९
आइतबार, २८ असोज २०८०

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याउँदै गरेको करिब ३ हजार खसी, बोका र च्याङ्ग्रा भोलि मात्र काठमाडौँ आइपुग्ने भएको छ । घटस्थापनाको आसपास पारेर पश्चिम नेपालका विभिन्न जिल्लाबाट खरिद गरिएका खसी बोका सोमबार बिहानसम्ममा काठमाडौँ आइसक्ने खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले रातोपाटीलाई जानकारी दिइन् । 

‘सकभर आज बेलुकासम्ममा खसी बोका काठमाडौँ आइसक्ने जानकारी प्राप्त भएको छ । बाटोको स्थिति, ढिलामा पनि भोलि बिहानसम्ममा आइसक्नेछ’ सूचना अधिकारी न्यौपानेले भनिन्, ‘खसी बोकाको बिक्री वितरण भने पर्सि मंगलबारबाट गर्छौँ ।’

कम्पनीले पश्चिम नेपाल दाङ, तुल्सीपुर र हेटौँडाबाट खसी बोका ल्याउँदैछ । यता धादिङका केही सहकारीहरूले समेत खसी बोका सङ्कलन गरेर उपलब्ध गराउने बताएकोमा सम्भव भएसम्म उताबाट समेत केही खसीबोका ल्याइने उनले जानकारी दिइन् । 

यस पटक पनि खाद्य तथा व्यापार कम्पनीले ३ हजार खसी, बोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । २ हजार वटा खसी, बोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले ८ करोड ३६ लाख रुपैयाँ बजेट छुट्याएको छ । 

गत वर्ष गत कूल एक हजार ६२५ खसी, बोका र च्याङ्ग्रा खरिद–बिक्री गरेको कम्पनीले २ करोड २६ लाख रुपैयाँ खर्च गरेको थियो । प्रतिकेजी ६८० (जिउँदो) खसी–बोका र एक हजार २५० प्रतिकेजी च्याङ्ग्रा बेचेको थियो । यसो गर्दा कम्पनीलाई ५ लाखभन्दा बढी फाइदा भएको सूचना अधिकारी न्यौपानेको भनाइ छ ।

‘सुपथ मूल्यमा खसी–बोका उपलब्ध गराउँदा घाटा लाग्नु स्वाभाविकै हो । तर पनि गत वर्ष ५ लाख २६ हजार रुपैयाँभन्दा बढी फाइदा हुन पुगेको थियो । कम्पनीले बजार भाउभन्दा प्रतिकेजी १० रुपैयाँ सस्तोमा खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराएको थियो,’ न्यौपानेले भनिन् । उसो त यो वर्ष पनि कम्पनीले जिउँदो खसी बोका तथा च्याङ्ग्रा बजार मूल्यमा प्रतिकेजी १० रुपैयाँले सहुलियत दिने तयारी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप