मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चाडपर्वको पूर्वसन्ध्यामा नयाँ बसपार्कमा बसहरुमा सचेतनामूलक पोस्टर टाँसियो

आइतबार, २८ असोज २०८०, २१ : २९
आइतबार, २८ असोज २०८०

काठमाडौँ । नेपालीहरुको महान् चाडपर्व नजिकिएसँगै यातायातमा हुने भिड र लापरबाही न्यूनीकरण गर्न मैनादेवी फाउन्डेसनले यातायात स्टिकर अभियान सञ्चालन गरेको छ।

नेपाल टेलिकम, नेपाल प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा आज गोंगबुस्थित बसपार्कबाट उक्त अभियानको सुरुवात भएको छ । 

आज भएको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र बहादुर खत्री, जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकेन्द्र गौतम विशिष्ट अतिथि, नेपाल टेलिकमका उप प्रबन्धक परमात्मा भट्टराइ , लोट्से बहुद्देश्य प्रा. ली का म्यानेजर पन्कज मल्ल लगायत नेपाल टेलिकमका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, यातायात व्यवसायी र मैनादेवी फाउन्डेसनका सदस्यहरूको उपस्थिति रहेको थियो। 

कार्यक्रममा बोल्दै मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले यस कार्यक्रम गर्नुको मुख्य उद्देश्य यातायातमा हुने भिडमा लापरबाही हुने गरेको र अधिकांश यात्रुहरुले सास्ती भोग्न परेको भन्दै यसलाई न्यूनीकरण गर्न यस कार्यक्रमको आयोजना गरेको बताए । उनले अब यस्ता कार्यक्रमहरुबाट यातायातको समस्या निर्मूल गर्नुपर्ने बताए । नेपाल टेलिकमका उप प्रबन्धक परमात्मा भट्टराईले सचेतना कार्यक्रमहरूको लागि आफूहरू सधैँ सकारात्मक रहेको र यस्ता कार्यक्रमहरु सबैले सञ्चालन गर्नुपर्ने बताएका थिए ।  

त्यस्तै विशिष्ट अतिथि महासंघका महासचिव डेकनाथ गौतमले मैनादेवी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमले यातायात व्यवसायीलाई थप जिम्मेवार बनाएको भन्दै यस्ता कार्यक्रमहरु आयोजना गरेकोमा आफूहरू खुसी रहेको बताए ।  

त्यसैगरी प्रमुख अतिथि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भूपेन्द्र बहादुर खत्रीले चाडबाडको बेला अत्यधिक घट्नाहरु बढ्ने गरेको भन्दै यस्ता कार्यक्रमहरु आयोजना भए सबै सचेत हुने र अपराध न्यूनीकरण गर्न सकिने कुरा व्यक्त गरे । आजदेखि सञ्चालन भएको कार्यक्रम थप ६ दिनसम्म चल्ने छ। काठमाडौँबाट विभिन्न ठाउँका लागि निस्किने गाडीहरुमा स्टिकर लगाएर कार्यक्रमको समुद्घाटन गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन मैनादेवी फाउन्डेसनका कार्यक्रम संयोजक सरोज घिमिरेले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप