सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नागरिकताको विषय

एनआरएनएको कार्यक्रममा रामकुमारी झाँक्रीको आक्रामक अभिव्यक्तिले तनाव (भिडियोसहित)

औँला ठड्याउँदै झाँक्रीले भनिन्-कान खोलेर सुन्नुस्, यो देशको चिन्ता गर्न पर्दैन
बुधबार, ०१ कात्तिक २०८०, २० : ३८
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री कडा रूपमा प्रस्तुत भएकी छन् । कार्यक्रममा सहभागीमध्ये  केही एनआरएनएले आफूहरुलाई राजनीतिक अधिकारसहितको नागरिकता चाहिने बताएपछि झाँक्रीले त्यसमा आपत्ति जनाउँदै कडा रूपमा प्रस्तुत भएकी हुन् । उसो त एक प्रश्नकर्ताले असहज तरिकाले प्रश्न समेत गरेका थिए । 

ती प्रश्नकर्ताले चर्किँदै गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्ने भन्दै यसो नगरिएर मानवअधिकारको उलङ्घन हुने दाबी गरेका थिए । अन्य अन्य दुई प्रश्नकर्ताले पनि यस्तै आशयको अभिव्यक्ति दिँदै अध्यक्ष कुल आचार्यसमेतलाई आक्षेप लगाउन थालेपछि झाँक्रीले जवाफ दिन सुरु गरिन् । 

बुधबारको नागरिकतासम्बन्धी उक्त छलफलमा सुरुमा झाँक्री नम्र रूपमा प्रस्तुत भए पनि त्यसपछि सम्हालिन सकिनन् । ‘चेयरले नै र्‍यापअप गर्नुहुन्छ भनेर नबोल्ने कुरा गरेका थियौँ । यहाँहरूको जिज्ञासाका लागि धन्यवाद’, उनले बोल्न सुरु गरिन्, ‘मलाई पनि तपाईँहरुलाई जसरी चिच्याउन त आउँछ तर तपाईँहरूको अतिथि भएकाले चिच्याउनचाहिँ मिल्दैन जस्तो लाग्यो ।’

‘गैरआवासीय नेपाली नागरिकताको सन्दर्भमा यो औँला हालेपछि डुडुल्लोसम्म छिराउने मामिला हो भन्ने हामीलाई पनि थाहा थियो’ उनले थपिन्, ‘त्यही कारण यो ठ्याक्क नागरिकता को कुरा भएपछि हुँदै छ।’ उनले आफूले एनआरएनएको अपमान गर्न नचाहेको तर विदेशी पासपोर्ट लिइसकेपछि देशको चिन्ता गर्न नपर्ने बताइन् । 

‘पहिला नेपाली विदेश जान केके हर्क गर्‍यौँ । त्यो देशको आईएलआर वा गीनकार्ड पाउन के के हर्कत गर्‍यौँ ?’, उनले प्रश्न गरिन्, 'नेपालको नागरिकता र पासपोर्ट त्यागिसकेलाई जब तपाईँहरूले दुई पैसा कमाउनु होला, स्किल होला र देशमा फर्केर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि गणतन्त्रपछि यो संविधान ल्याएर यो व्यवस्था गर्‍यौँ । अनि तपाईँहरूले कुल आचार्यलाई फाँसीको कुरा गर्ने ? नलिन चाहनेले गैरआवासीय नेपाली नागरिकता नलिन सक्नुहुन्छ ।’

उनले नेपालमा आएर नागरिकताबारे ठुला कुरा गरेको नसुहाउने भन्दै आक्रोश पोखिन् ।  त्यसपछि दर्शक दीर्घाबाट झाँक्रीको विरोध सुरु भए पनि उनले यस्ता नाराले आफूलाई केही फरक नपर्ने भन्दै थप आक्रामक भइन् ।   

उनले हरेक देशको नागरिकतासम्बन्धी कानुन त्यस देशको विशिष्टतामा आधारित हुने बताउँदै एनआरएनएहरुलाई राजनीतिक अधिकारबाहेकको गैरआवासीय नागरिकता दिएको बताइन् । ‘साथीहरु कान खोलेर सुन्नुस्, तपाईँहरुलाई रेस्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर हुनसक्छ । मानवअधिकार विश्वप्यापी हुन्छ । तपाईँहरुलाई सिटजनको अधिकार दिएको होइन । गैरआवासीय नागरिकता दिएको हो ।’

उनले पहिला खुसीले नागरिकता त्याग्ने पनि अहिले ठुला कुरा गर्ने भन्दै आक्रोश समेत पोखिन् ।  त्यसपछि केहीबेर तनावको अवस्था बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप