बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रभाव पार्न सक्ने खेलाडी : सदाब खान (पाकिस्तान)

शुक्रबार, ०३ कात्तिक २०८०, ११ : ०५
शुक्रबार, ०३ कात्तिक २०८०

काठमाडौँ । जारी विश्वकपमा पाकिस्तानी टोलीले निकै भरोसा गरेको खेलाडीमध्ये सदाब खान पनि एक हुन् । उनी पाकिस्तानी टोलीका अलराउन्डर खेलाडी हुन् । २५ वर्षीय दायाँ हाते ब्याट्सम्यान सदाब खानले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानका लागि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

जारी विश्वकपमा पनि उनले पाकिस्तानी टोलीका लागि राम्रो ब्याटिङ गरेका छन् भने विकेट पनि लिइसकेका छन् । पाकिस्तानले विश्वकपमा शुक्रबार अस्ट्रेलियाको सामना गर्दैछ । सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न यो खेल पाकिस्तानी टोलीका लागि निकै महत्त्वपूर्ण छ ।

त्यसैले यो खेलमा पनि पाकिस्तानी क्रिकेटप्रेमीले सदाब खानबाट उत्कृष्ट प्रदर्शनको आशा गरेका छन् । जारी विश्वकपमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराउँदा तल्लोक्रमका ब्याट्सम्यान सदाब खानले ३२ रन बनाएका थिए । उनले एक विकेट पनि लिएका थिए । 

यसैगरी श्रीलंकाविरुद्धको खेलमा पनि उनले एक विकेट लिएका थिए । त्यो खेलमा पनि पाकिस्तानी टोली विजयी भएको थियो । चिर प्रतिद्वन्द्वी भारतविरुद्धको खेलमा भने उनको ब्याटिङ र बलिङ दुवै चल्न सकेको थिएन । 

सदाब खानले पाकिस्तानका लागि ६७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै २५।६० को औसतले कुल सात सय ६८ रन बनाएका छन् । उनले चारवटा अर्धसतक पनि प्रहार गरेका छन् । एकदिवसीयमा उनको उच्च स्कोर ८६ रन हो । 

यसैगरी टेस्टमा उनले ६ खेल खेल्दै ३३.३३ को औसतले कुल तीन सय रन बनाएका छन् । टेस्टमा उनले तीनवटा अर्धसतक बनाएका छन् । टेस्टमा उनको उच्च स्कोर ५६ रन हो । उनले टेस्टमा तीन र एकदिवसीयमा १८ वटा क्याच पनि लिएका छन् ।

यसका अतिरिक्त उनले टी—२० अन्तर्राष्ट्रियमा ९२ खेल खेल्दै कुल पाँच सय ६९ रन बनाएका छन् । उनले एउटा अर्धसतक प्रहार गरेका छन् । टी—२० मा उनको उच्च स्कोर ५२ रन हो । उनले २९ वटा क्याच पनि लिएका छन् । 

यसैगरी यी स्पिनरले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा विकेट पनि लिएका छन् । उनले एकदिवसीय खेलमा ८५ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनले १४ विकेट हात पारेका छन् । टी—२० अन्तर्राष्ट्रियमा भने उनले एक सय चारवटा विकेट हात पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप