मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल बलिपूर्ति आज, नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

शुक्रबार, १० कात्तिक २०८०, १९ : ४८
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ ।  विजयादशमीपछिको चौथो दिन आज पनि नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिन सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम आज कोजाग्रत पूर्णिमामा अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजै अलि बलिपूर्ति गर्नुपर्ने जनाएको छ । औपचारिक रुपमा नवदुर्गाको प्रसाद लगाउने क्रम आजै सकिन्छ । 

दसैँमा घरमा आउने आफन्तलाई पूर्णिमाका दिन पनि टीका लगाइदिने व्यावहारिक प्रचलन छ । मान्यजनबाट टीका थाप्न जाने प्राय, ज्वाइँ, छोरी, बहिनी, भाञ्जाभाञ्जीलगायत हुने भएकाले पूर्णिमाका दिन पनि टीका र प्रसाद लगाइदिने व्यावहारिक प्रचलन रहेको हो । वैदिक सनातन परम्परामा पूर्णिमालाई पर्वका रुपमा मानिन्छ । 

अन्य पूर्णिमामा पनि आफूले मान्नुपर्नेलाई टीका लगाएर दक्षिणा दिने परम्परा अनुसार आश्विन शुक्ल पूर्णिमामा शनिबार पनि टीका लगाउने क्रम भने जारी रहन्छ । यसरी टीका लगाउँदा कसैले जमरा भने लगाउँदैनन् । अखिल बलिपूर्ति भएपछि नै जमरा नदी, ताल, तलाउ, पोखरी वा पवित्र स्थानमा लगेर सेलाइन्छ ।

 पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । देशका अन्य भागमा भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद र जमरा लगाउने गरिन्छ ।
कोजाग्रत व्रत भने कात्तिक ११ गते बस्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यस दिन बेलुकी धनधान्यकी देवी लक्ष्मीको विशेष पूूजा, आराधना गरिन्छ । यस वर्ष कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने पनि  समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप