मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलमा थप केयरगिभर माग, युद्धको अवस्था सामान्य बनेपछि प्रक्रिया अघि बढ्ने

सोमबार, १३ कात्तिक २०८०, १० : ५९
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । इजरायलले थप नेपाली केयरगिभर माग गरेको छ । नर्सिङ सेन्टरहरूमा काम गर्नको लागि इजरायलले थप १ हजार ३०० केयरगिभर माग गरेको हो । 

हाल इजरायल र गाजाबीच युद्धको अवस्था छ । जसले गर्दा उक्त प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

यदि युद्ध नभएको खण्डमा अहिले आवेदन प्रक्रिया अगाडि बढिसकेको हुने थियो । तर, हाल इजरायल युद्धको अवस्थामा रहेकाले तत्काल प्रक्रिया अगाडि बढाउन नसकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह–सचिव राजीव पोखरेलले युद्धको अवस्था सामान्य भएसँगै छनौटको प्रक्रिया अगाडि बढाइने बताए ।

‘अहिले इजरायल र गाजाबीच युद्ध चर्किरहेकाले यो विषय पेण्डिङमा छ । नत्र केही दिनभित्रमा नै केयरगिभरको लागि सूचना आह्वान गरेर आवेदन प्रक्रिया अघि बढ्ने थियो । अब दुई देशबिचको वातावरण शान्त भएपछि प्रक्रिया अगाडि बढ्छ,’ सह–सचिव पोखरेलले भने ।

हाल इजरायलमा ४ हजार ५०० भन्दा बढी नेपाली छन् । ती मध्ये १ हजार भन्दा मानिसहरू हालै केयरगिभरको रूपमा गएका थिए । उनीहरूको कामप्रति नर्सिङ होमका सञ्चालकहरू सन्तुष्ट देखिएका छन् । जसले गर्दा उनीहरूले थप नेपाली केयरगिभर माग गरेसँगै इजरायल सरकारले नेपालसमक्ष प्रस्ताव गरेको थियो ।

युद्धको अवस्था सामान्य बनेपछि दुवै देशका अधिकारीहरूबिच छलफल गरेर अघि बढ्ने उनको भनाई छ । इजरायलले केयरगिभरसँगै एक हजार जना कृषि कामदार समेत माग गरेको थियो । तर, प्रति कामदारले एक हजार अमेरिकी डलर तिर्नुपर्ने भएपछि नेपालले तत्कालका लागि उक्त प्रस्ताव अस्वीकार गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप