शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीलाई लामखुट्टे रहित प्रदेश बनाइने

बुधबार, १५ कात्तिक २०८०, १८ : ४६
बुधबार, १५ कात्तिक २०८०

पोखरा । गण्डकीलाई तीन वर्षभित्र लामखुट्टे रहित प्रदेश बनाइने भएको छ । स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले लामखुट्टे रहित प्रदेश बनाउने प्रतिबद्धता जनाएका हुन् । 

जसका लागि स्वास्थ्य मन्त्रालयले उष्ण प्रदेशीय रोगलाई रोकथाम तथा नियन्त्रणका लागि नीति र योजना तर्जुमा गरेको छ । 

यसैका लागि मंगलबार र बुधबार पोखरामा प्रदेशस्तरीय कार्यशाला पनि भएको छ । सहभागीहरुले गर्मी समयमा देखा पर्ने रोग, कीटजन्य रोगको उपचारबारे छलफल गरेका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण नयाँ–नयाँ रोग देखा परेको र पहिलेदेखि भइरहेको रोग विस्तार भएको निष्कर्ष निकालिएको छ । 

‘जलवायु परिवर्तनले हाम्रो दैनिकी मात्रै फेरिएको छैन, नयाँ–नयाँ रोग देखिएका छन् । जलवायु परिवर्तन के हो भन्ने जनतालाई जानकारी गराउनुपर्छ,’ स्वास्थ्यमन्त्री सुशीला सिंखडाले भनिन्, ‘जलवायु परिवर्तन अनुकूलन कार्यक्रममा सरकार गम्भीर छ । जनस्तरमा पनि चेतना पुर्‍याउनुपर्छ । यसविरुद्ध सामूहिक रुपमा लड्नुपर्छ ।’ 

कार्यशालामा गण्डकी प्रदेश भित्रका सरकारी अस्पताल प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिति थियो । उनीहरुले गण्डकीलाई लामखुट्टे रहित प्रदेश बनाउने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य निर्देशक खीमबहादुर खड्काले तीनवर्ष भित्र लामखुट्टे रहित बनाउन सामूहिक कार्यक्रम गर्ने बताए । 

‘पहिले भन्दा प्रगति भएको छ । दुईतीन वर्षभित्र लामखुट्टे रहित प्रदेश बनाउने उद्देश्य राखेर काम गर्नुपर्छ । उच्च प्रतिबद्धता व्यक्त गरेर काम गर्नुपर्छ,’ उनले भने, ‘प्रदेशका सबै संरचना एकजुट भएर काम गरे लक्ष्य पूरा गर्न सम्भव छ । ३ वर्षमा फरक ढंगको गण्डकी प्रदेश । स्वच्छ पानी पिउने प्रदेश र लामखुट्टेले नटोक्ने प्रदेश तथा डेंगुले नधपाउने प्रदेश बनाउने छौँ । साँच्चै भन्ने हो भने युरोपको छनक दिने प्रदेश बनाउने छौँ ।’ 

तर लामखुट्टे रहित बनाउन कस्ता कार्यक्रम ल्याउने भन्ने घोषणा गरिएको छैन । गण्डकीमा यो वर्ष पनि डेंगुका बिरामी निकै बढेका छन् । हरेक वर्ष डेंगु बिरामी बढ्दो अवस्थामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप