सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

आजदेखि जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा

शुक्रबार, १७ कात्तिक २०८०, १३ : ३८
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि शुरू गरेको छ ।
बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले पहिलो पटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा शुरू गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालनको शुभारम्भ गरे । 
अध्यक्ष सिलवालले परीक्षामा सफल भई इजाजतपत्र पाउने बीमा अभिकर्ताहरूले गर्ने व्यवसायबाट बीमा सम्बन्धी सही सूचना प्रवाह हुने र हाल बीमा बजारमा देखिएको बीमालेख व्यतित तथा सरेण्डरको समस्या समाधानमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे । 

प्राधिकरणको केन्द्रीय कार्यालयबाट आज पहिलो दिन संचालित जीवन बीमा अभिकर्ता अनलाइन परीक्षामा देशका विभिन्न स्थानबाट ४७ जना परीक्षार्थीहरू अनलाइन माध्यमबाट सहभागी भएका थिए । 
अनलाइन परीक्षा संचालनको शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित थिए । 

जीवन बीमा अभिकर्ताका लागि हाललाई एकपटकमा १०० जनासम्मले अनलाइन माध्यमबाट परीक्षा दिनसक्ने व्यवस्था गरिएको छ ।

परीक्षा संचालन भएको मितिले ७ दिनभित्र जीवन बीमा अभिकर्ताको परीक्षाफल प्रकाशन गरिने प्राधिकरणले जनाएको छ ।  ।

जीवन बीमा अभिकर्ताको अर्को परीक्षा यही कात्तिक २०, २२ र २४ गतेका लागि तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप