आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

शुक्रबार, १७ कात्तिक २०८०, २३ : ०३
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण कार्य तालिका स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रवार सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यसो बारेमा जानकारी दिएकी हुन् । 

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न राष्ट्रपति कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गर्नेछन् । उनी मंसीर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गरिएको उनको भनाइ छ । 

त्यस्तै सरकारले मङ्सिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने १० औं सेसन अफ  कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ । त्यस्तै चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजाललाई स्वीकृति दिने, कृषि पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजना र आयोजनाको लागि २६१ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायिकरण लगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारीपत्र (एमओयु) स्वीकृत गर्ने निर्णय गरेको छ । 

यसैगरी सरकारले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ बमोजिम समिति गठन गर्ने, निमा तामाङको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने, देवराज धमालाको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र नेपाल रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय समेत गरेको छ । 

प्रवक्ता शर्माकाअनुसार सरकारले नेपाल इन्जिनियरिङ्ग सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा विश्वबाबु पुडासैनीलाई बढुवा गरी नेपाल ट्रष्टको कार्यालयको सचिव पदमा पदस्थापन गर्ने र नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा राधिका अर्याललाई बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप