बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संघीय संसद् भवनको निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्न सभामुखको निर्देशन

मङ्गलबार, २१ कात्तिक २०८०, १५ : ११
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्माणाधीन संघीय संसद्को भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । 

मंगलबार सहरी विकास मन्त्रालयले संसद् भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसद्को मुख्य दुईवटा भवनहरु दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका हो । आफ्नो चासो संसद्को आगामी अधिवेशन नयाँ संसद् भवनबाट चलाउने रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरु दुई महिनाभित्र जडान गरिसक्न आग्रह गरेका हुन् । 

सभामुख घिमिरेले सबै भवनहरुको निर्माण सम्पन्न नभएपनि बैठक बस्ने दुईवटा बैठक कक्षको भने प्राविधिक रुपमा सबै काम सक्नेगरी तयारी गर्न अनुरोध गरे । त्यसैगरी उनले संसद् भवनमा जडान गरिने प्रविधिहरुको बारेमा प्राविधिकहरुले जडान गर्दादेखि नै ज्ञान लिनुपर्ने बताए । उनले भविष्यमा आइपर्न सक्ने प्राविधिक समस्याहरुको बारेमा प्राविधिकहरुले अहिलेदेखि नै ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए  ।

सहरी विकासमन्त्री सीता गुरुङले संघीय संसद् भवनमा नयाँ प्रविधिको जडान गरिने बताइन् । उनले भोलिको विश्वसँग तुलना गरेर नयाँ प्रविधिहरुलाई प्राथमिकता दिएर जडान गरिने बताइन् । उनले बजेटको सीमिततालाई ख्याल गर्दै सकेसम्म राम्रा प्रविधिहरुको प्रयोग गरिने बताइन् ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संघीय संसद् भवन निर्माणको काममा ७५ प्रतिशत प्रगति हासिल गरिसकिएको बताए । उनले १२ वटा भवनहरुमध्ये ७ वटा भवनहरुको छाना सम्मको काम सम्पन्न भइसकेको जानकारी दिए । बाँकी ४ वटा भवनमा ट्रस्ट निर्माण लगायत छानाको काम अगाडी बढिराखेको उनले बताए  । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप