आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा किन बढ्दैछ भर्चुअल प्रेग्नेन्सीको चलन ?

मङ्गलबार, २८ कात्तिक २०८०, ०९ : ०१
मङ्गलबार, २८ कात्तिक २०८०

बेजिङ । घट्दो जनसंख्या यतिबेला चीन सरकारको टाउको दुखाई बनेको छ । बढ्दो महँगी अनि खर्चका कारण युवा पुस्ता भने बिहेवारी र बच्चा जन्माउने झन्झटबाट बच्ने प्रयासमा छ । 

परिणामतः वृद्ध जनसंख्या बढ्दो छ, शिशु जन्मदर घटिरहेको छ । यसैबिच चीनमा नयाँ चलन शुरु भएको छ । यसले त्यहाँको समाज र सम्बन्धलाई कस्तो खालको असर पार्ला भनेर विज्ञहरुमा चिन्ता बढेको छ । पछिल्लो समय विवाहित जोडीहरु ‘ई–प्रेग्नेन्सी’ या ‘भर्चुअल प्रेग्नेन्सी’ अपनाइरहेका छन् ।

चिनियाँ सामाजिक सञ्जाल मञ्च वीबोमा यो शब्द निकै ट्रेन्डमा छ । यसका कारण केही मानिसहरुले मावन सभ्यताको भविष्यबारे चिन्ता गर्न लागेका छन् ।

के हो भर्चुअल प्रेग्नेन्सी ?

भर्चुअल प्रेग्नेन्सी भनेको साँच्चै गर्भधारण गर्नु या बच्चा जन्माउनुको सट्टा सामाजिक सञ्जालमा यसको घोषणा गरेर गर्भवति भएको बेलाको जस्तै व्यवहार गर्नु हो । वास्तवमै सबै कुरा भइरहेको छ जस्तो व्यवहार देखाउनु हो । भर्चुुअली गर्भवति भएकी महिलाले पूरै ९ महीनासम्मै कुनै गर्भवति महिलाले जस्तै समय बिताउँछिन् ।

यति बेला सबै खालै चिनियाँ रितिरिवाज मनाइन्छ । मानिसहरु बधाई दिन पनि आउँछन् । सबै कुरा असली हुन्छ, सिवाय बच्चा वा गर्भधारण । यसमा सबै कुरा भर्चुअली हुन्छ । चाइल्ड प्लानिङको घोषणादेखि डेलिभरीसम्म सबै भर्चुअल हुन्छ । यति बेला अभिभावकहरुले पैसा पनि जम्मा गर्छन् । केहीले भने भर्चुअल वा ई–प्यारेन्टिङको नाममा पछि पनि पैसा जम्मा गरिराख्छन् । पैसा बचाउन र भविष्यमा गर्भधारणको तयारीका लागि यसको चलन बढेको छ । केही युवा दम्पत्तिले भने आफ्नो भावनात्मक आवश्यकता पूरा गर्न पनि यस्तो गर्ने गरेको पाइएको छ ।

किन बढ्दैछ भर्चुअल प्रेग्नेन्सी ?

चिनियाँ युवाहरुमा भर्चुअल प्रेग्नेन्सीको चलन बढ्नुको दुई ओटा कारण छन् । भर्खरै बिहे गरेका दम्पत्तिहरु भागदौडले भरिएको आफ्नो जिन्दगी र कामको व्यस्तताका कारण बच्चा जन्माउने अवस्थामा छैनन् । यस्तोमा उनीहरुले इमोशनल सपोर्टको रुपमा भर्चुअल प्रेग्नेन्सीको सहारा लिइरहेका छन् । केहीले भने पैसा बचाउने उपायका रुपमा यसलाई अपनाइरहेका छन् । साउथ चाइना मर्निङ पोष्टमा छापिएको एउटा समाचार अनुसार भविष्यका लागि पैसा जम्मा गर्न कयौं दम्पत्तिले भर्चुअल प्रेग्नेन्ट भइरहेका छन् । ९ महिनाको अवधिभर मेडिकल परीक्षणदेखि स्वस्थवद्र्धक खानेकुरासम्म हरेक चिजका लागि पैसा छुट्याएर जम्मा गर्छन् । अनि जम्मा गरेको पैसा अन्ततः बैक खातामा जम्मा गर्छन् । वास्तविक गर्भधारणको लागि आफूलाई तयार गर्न, असली गर्भधारणको बोझबाट बच्न आदिका कारण पनि यसको चलन बढेको छ ।

चीनको जनसंख्या घटाउने चेतावनी

अहिले लोकप्रियता बढिरहेको भर्चुअल प्रेग्नेन्सीले एकाथरी मानिसहरु भने चिन्तित बनेका छन् । चीनमा जनसंख्या घट्न थालेको छ । यसले मानव सभ्यतालाई नै संकटमा पुर्याउने चिन्ताबिच त्यहाँ यो चलनको विरोध पनि शुरु भएको छ । पारिवारिक वा सामाजिक व्यवस्था कमजोर हुन थाल्यो वा अर्को स्तरमा गयो भने मानिसहरु कम बच्चा जन्माउन थाल्छन् । मान्छेहरु पैसा कमाउन अनि प्रोफेशनल रुपमा अगाडि बढ्नमै व्यस्त छन् । यस्तोमा मन बहलाउन पनि ई–प्रेग्नेन्सीको चलन बढेको छ ।

अचम्म अचम्मको प्रयोग

गएको केही वर्षहरुमा चीनमा सम्बन्धको मामिलामा अचम्म अचम्मको प्रयोग भइरहेका छन् । प्रेमी प्रेमिका भाडामा लिनेदेखि नक्कली बिहे गर्नेसम्मका चलन देखिएको छ । भागदौडपूर्ण जागिरबाट मुक्ति मिलोस् अनि घरको काम गर्न सकियोस् भनेर केही युवा ३०–३५ वर्षमा एडप्शनका लागि मातापिता खोजिरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप