बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
दूध उत्पादनमा बढोत्तरी

तराईमा उत्पादित दूधबाट इलाममा छुर्पी !

मोरङबाट दूध लगेर इलाममा बनाएको छुर्पीको गुणस्तरमा खासै भिन्नता नआएको व्यवसायीको दाबी
मङ्गलबार, ०५ मङ्सिर २०८०, ०६ : २०
मङ्गलबार, ०५ मङ्सिर २०८०

विराटनगर । तराईमा उत्पादित दूधबाट छुर्पी बन्छ कि बन्दैन ? बने पनि गुणस्तरीय बन्छ ? गत वर्षदेखि तराईको दूधबाट छुर्पी उत्पादन गर्न थालिएको छ । हाल तराईमा अत्यधिक दूध उत्पादन भइरहेको छ । दूध बढी हुँदा दूधबाट उत्पादित पाउडर तथा घिउ बजारमा लाखौँ किलो स्टकमा छ । तर छुर्पी भने विदेश निर्यात भइरहेको छ । छुर्पीको निर्यात बढ्दै जानु र तराईको दूधबाट छुर्पी उत्पादन सुरु हुनुलाई सुखद संयोग मानिएको छ । 

मोरङ कानेपोखरीमा रहेको नवदुर्गा डेरी उद्योगका सञ्चालक राजकुमार खनालले गत वर्ष र अहिले गरेर झन्डै ६० हजार लिटर दूध इलामका दुई उद्योगमा पठाए । उक्त उद्योगले उत्पादन गरेको छुर्पीको गुणस्तरमा खासै समस्या आएन । ‘एक पटक छुर्पीमा केही कालो दाग बसेको जस्तो देखियो भन्न आयो । तर गुणस्तरमा समस्या देखिएन,’ खनालले भने, ‘गत वर्ष राम्रो भएको प्रतिक्रिया आएको थियो ।’

खनालले क्रिम काटेर इलामको सूर्योदय नगरपालिका–९ मा रहेको ढुङ्गेलधारा डेरी उद्योग फिक्कललाई दूध बिक्री गरेका थिए । उक्त डेरीका सञ्चालक कुमार ढङ्गेलले तराईको दूधबाट बनेको छुर्पीको रङमा फरक परेको तर गुणस्तरमा फरक नपरेको बताए । ‘इलामको दूध मिसाएर छुर्पी बनाएको हो । शतप्रतिशत तराईको दूधबाट बनेको छुर्पीमा कलर भने फरक पर्छ । इलामको दूधबाट बनेको छुर्पी पहेँलो देखिन्छ । तर तराईको दूधबाट बनेको छुर्पी भने सेतो देखिन्छ,’ उनले अनुभव सुनाए, ‘त्यस्तो हुनुमा भैँसीको दूध मिसावट मुख्य कारण हो ।’

यद्यपि बिक्रीमा र गुणस्तरमा समस्या नरहेको उनको भनाइ छ । उनको उद्योगमा पनि दुई हजार किलोभन्दा बढी घिउ स्टकमा छ । प्रतिकिला पाँच सय रुपैयाँमा पनि घिउ बिक्री हुन छोडेको उनको गुनासो छ । त्यही भएर उनले क्रिम काटेको दूध मोरङबाट लगेका हुन् । ‘इलाममा पनि दूध नपाइने होइन । तर घिउ बिक्री हुन छाडेका कारण क्रिम काटेको दूध मगाएको हुँ,’ उनी बताउँछन् ।

यस्तै इलाम सूर्योदय नगरपालिका–८ नम्बर वडामा रहेको कञ्चनजङ्घा डेरी उद्योगले पनि खनालबाट गत वर्ष झन्डै ३५ हजार लिटर दूध लगेको थियो । उद्योगका सञ्चालक महेश अर्यालले तराईबाट इलाममा लगेर छुर्पी बनाउन सकिने देखिएको बताए । ‘दूधको गुणस्तरमा ह्रास नआउने हो भने छुर्पीको गुणस्तरमा पनि समस्या आउँदैन । तर दूधमा केमिकल मिसाउने, गाईवस्तुलाई दिने दाना पानीमा जथाभाबी औषधी खुवाउने गरेको दूध भए समस्या आउँछ । चिसो ठाउँमा ल्याएर विविधीकरण गर्न सकिन्छ,’ उनले भने, ‘अहिलेको समस्या घिउ नबिक्ने हो । भैँसीको दूध भएका कारण कलरमा समस्या भयो । तर तराईको एक हजार लिटरमा इलामको १५ सय लिटर मिसाएर बनाएको छुर्पीमा कुनै समस्या देखिएन ।’ 

उनीहरूले उत्पादन गर्ने डक्स छुर्पी नै हो । बजार व्यवस्थापन गर्न सकेदेखि तराईको दूध ल्याएर छुर्पी बनाउँदा कुनै समस्या नपर्ने उनी बताउँछन् । ‘त्यसका लागि समय व्यवस्थापन भने गर्न सक्नु पर्छ,’ अर्यालले भने । उनले तराईको दूध ३५ हजार लिटरभन्दा बढी लगेको बताए । उनको डेरी उद्योगमा पनि तीन हजार किलोभन्दा बढी घिउ स्टकमा छ । छुर्पी राम्ररी चलिरहँदा घिउको बजार भने कमजोर बनेको उनको भनाइ छ । 

इलामको सूर्योदय नगरपालिका–९ मा रहेको हलेसी डेरी उद्योग फिक्कलले दैनिक चार हजारदेखि पाँच हजार लिटरसम्म दूध सङ्कलन गर्छ । उद्योगका सञ्चालक किरण भण्डारीले महिनामा ६ हजारदेखि ७ हजार किलोसम्म छुर्पी बिक्री भइरहेको बताउँछन् । ‘घिउमा भने समस्या रहेको छ । छुर्पी पनि मज्जाले गएको छैन । छुर्पी उत्पादन बढेका कारण बिक्रीमा पनि समस्या आउँदै छ,’ उनले भने, ‘धेरै समस्या घिउमा छ । २२ हजार किलोसम्म घिउ थन्किएको छ । यसको बजार कहाँ खोज्ने, कसरी बेच्ने भनेर समस्या आयो ।’ जेठदेखि स्टकमा रहेको कतिपय घिउ बिग्रिसकेको उनको दाबी छ । उनको विचारमा भारतबाट अवैध तरिकाले घिउ र दूध आइरहेका कारण समस्या भएको हो ।

तराईको दूधबाट इलाममा छुर्पी बनाउन सकिने प्रयोग सफल हुँदै जाँदा कतिपय विराटनगरका व्यापारीले पनि चासो राख्न थालेका छन् । विराटनगरमा रहेको बन्जरा एग्रोले अहिले दैनिक १५ सय लिटर दूध उत्पादन गर्छ । विगतमा जस्तो सहज ढङ्गले दूध बिक्री भइरहेको छैन । विराटनगरबाट उत्पादित दूधबाट छुर्पी बन्न सक्ने कुराले आफूहरू पनि आशावादी भएको बन्जरा एग्रोका प्रबन्धक सञ्जय चापागाईं बताउँछन् । ‘दूधको विविधीकरण गर्ने कुरामा यो पनि एउटा विकल्प हुने देखिन्छ,’ उनले भने, ‘छुर्पी बनाउन सकेदेखि लामो समयसम्म स्टोरेज गर्न पनि सकिने हुँदा दूधको बजारभन्दा छुर्पीको बजार खोज्न सकिने अवस्था देखिन्छ ।’

नेपालको छुर्पी विदेश निर्यात हुने गरेको छ । छुर्पीको निर्यात भने बढिरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९–८० मा १७ लाख ८६ हजार ११२ किलोग्राम छुर्पी विदेश निर्यात भएको थियो । जसबाट नेपालमा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ भित्रिएको थियो । 

आर्थिक वर्ष २०७९–८० को असोज महिनासम्ममा छुर्पी तीन लाख १९ हजार ५१२ किलोग्राम निर्यात भएको छ । जसको मूल्य ५५ करोड ६८ लाख ३२ हजार हुन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा छुर्पीको निर्यात बढेको छ । चालू आर्थिक वर्षको असोजसम्ममा छुर्पी तीन लाख ७४ हजार ५५३ किलोग्राम अर्थात् ७६ करोड ११ लाख ६ हजार रुपैयाँको निर्यात भएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा पनि दुई अर्ब ९१ करोड १९ लाख ३९ हजार मूल्य बराबरको १७ लाख ५५ हजार ४५१ किलोग्राम छुर्पी निर्यात भएको थियो । नेपालबाट क्यानडा, हङकङ, अमेरिका, बेलायत, सिङ्गापुरलगायतका मुलुकमा कुकुरको खानाको रूपमा छुर्पी निर्यात हुने गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप