रवीन्द्रले इजलासमा भने– राज्यले मेरो निधारमा तेस्रो कालो टीका लगाइदियो
काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले राज्यले आफूलाई हिरासतकै क्रममा तेस्रो कालो टीका लगाइदिएको बताएका छन् । आफू ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा टीका बोकेर हिँडेको उल्लेख गर्दै मिश्रले आज ४२ औँ दिनमा आएर आपराधिक उपद्रवको अर्को टीका लगाउने काम भएको बताए ।
‘यो टीका पुछ्ने अधिकार, यो टीका पुछ्ने निष्ठा यो देश र न्यायालयमा हुन्छ भनेर मैले केही कुरा राख्न खोजेको छु’, म्याद थपका लागि बिहीबार अदालतमा पेस भएपछि उनले न्यायाधीश मोना सिंहको इजलासमा भने, ‘यो के गरेको ? मैले बुझ्दै बुझिनँ । घटना भयो, मलाई पक्रेर पनि ल्याइयो । त्यसपछि म्याद थपियो र मैले छानबिनका लागि जतिपटक म्याद थप्दा पनि हुन्छ भनेको थिएँ । तर बयान सकिएपछि पनि म्याद थपिँदैछ ।’
इजलासमा आक्रोशित मुद्रामा प्रस्तुत भएका मिश्रले देशमा ईश्वर र जनताको नाममा शपथ खाएकाहरुले ब्यापक बठ्याई गरेको बताएको एक अधिवक्ताले बताए । तर, आफ्नो ८२ वर्षीया आमाको कसम खाँदै उनले आफूले राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवसम्बन्धी कुनै पनि कसुरजन्य कार्य नगरेको दाबी गरे । ‘मबाट अलिकति पनि अपराध भएको छैन’, उनले दोहोर्याए । आफूबाट कुनै गल्ती नहुँदा नहुँदै पनि न्यायालय र अरु कसैले आफ्नो नसुनेको मिश्रले बताएको ती अधिवक्ताले रातोपाटीलाई बताए ।
उनले अब कहाँ जाने भन्दै इजलासमा प्रश्न समेत गरे । उनले आफू इमानको धरातलमा बसेर काम गरेको व्यक्ति भएको जिकिर गर्दै तीनकुनेको प्रदर्शनका क्रममा नाकैमुनि अश्रुग्यास आएको कारणले मात्रै बोल्दै गर्दा केही आक्रोशजस्तो देखिएको हुनसक्ने जिकिर गरे । तर, हिंसाजन्य कुनै काम नगरेको उनको भनाइ थियो ।
बोलेकै आधारमा हुने भए विगतमा सत्तामै गणतन्त्र पक्षधरले कैयन आपत्तिजनक कुरा गरेकोबारे आफू जानकार रहेको मिश्रले बताए । ‘यदि बोलेकै आधारमा हुन्थ्यो भने त ...लेले खुकसी ज्ञानेन्द्रलाई छप्काइदे भन्नेहरु अहिले सत्तामै छन् नि ! बोलेकै आधारमा हुने हो भने त अरु केके छन्, के के छन् नि । मैले कुनै पनि हिंसाजन्य काम नगर्दा ४१ दिन राखेर ४२ औँ दिनमा फेरि राख्न पर्यो भनेर आपराधिक उपद्रवको कालो टीका लगाइदिने ?’ उनले भने ।
चैत १५ को तीनकुने घटना हिंसात्मक बनेपछि मिश्र सोही पक्राउ परेका थिए । सोही घटनापछि बिहीबार उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएकोमा रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
उनीहरूविरुद्ध सातौँ पटक म्याद थप गरिएको हो । सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवलशमशेर जबरा भने रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण