शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चिनी अर्थात् मिठो विष

बिहीबार, ०७ मङ्सिर २०८०, ०७ : ४७
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । विश्वभरि नै विशेषज्ञहरू चिनीलाई मिठो विष भन्छन् । चिनीलाई यो नाम त्यत्तिकै दिइएको होइन । आवश्यकताभन्दा धेरै चिनी सेवन मधुमेह, उच्च रक्तचाप, अत्यधिक मोटोपना जस्ता प्राणघातक रोगको बिउ हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार मधुमेह, उच्च रक्तचाप, अत्यधिक मोटोपनाजस्ता नसर्ने रोग विश्वभर हुने कुलमध्ये ७१ प्रतिशत मृत्युको कारण हो ।

यी रोग सरुवा होइनन् । तर हाम्रो खराब खानपिन र जीवनशैली यसका लागि बढी जिम्मेवार हुन्छन् । हरेक नेपालीले वर्षमा औसतमा १० केजी चिनी खान्छन् । भारतीयहरूको चिनी खपत २० किलो छ भने एक अमेरिकीले एक वर्षमा ४५ केजी चिनी खाने गरेका छन् । दैनिक रूपमा हामी चिनीबाहेक हल्का पेय, कुकिज, बिस्कुट अनि पाउरोटीलगायत चिनीको मात्रा धेरै पाइने खानेकुरा पनि खान्छौँ ।

डब्ल्यूएचओका अनुसार दिनमा ५० ग्रामभन्दा धेरै चिनी खानु स्वास्थ्यका लागि राम्रो होइन । के तपाईलाई थाहा छ ? तपाईले खाने ५०० एमएलको कोका–कोलामा मात्रै ५० ग्राम भन्दा धेरै चिनी हुन्छ । अर्थात् एक बोतल कोल्ड ड्रिङ्क पिउनु चार चम्चा चिनी हालेको एक कप चिया खानु बराबर हो ।

चिनीको सेवन धेरै भएको सङ्केत :

हाम्रो शरीरले पनि चिनीको सेवन धेरै भइरहेको छ भन्ने सङ्केत दिन्छ । तपाईको शरीरमा यस्ता लक्षण देखिन थालेका छन् भने सम्झनुस् तपाईले धेरै चिनी खाइरहनु भएको छ ।

१. मांसपेशी र जोर्नीमा पीडा

आर्थाराइटिस फाउन्डेशनका अनुसार मधुमेहका आधा बिरामीमा आर्थराइटिस अर्थात् हड्डी दुख्ने समस्या पनि हुन्छ । धेरै चिनीको सेवनले मांसपेशी र हड्डीलाई क्षति पुर्‍याउँछ । कसैलाई सानो उमेरमै शरीरका मांसपेशी दुख्न थालेको छ भने यो खानपिनमा धेरै चिनी सामेल भएको सङ्केत हुन सक्छ ।

२. समयभन्दा अगाडि नै बुढ्यौलीको लक्षण

हाम्रो शरीर चिनी अर्थात् सुक्रोजमा चल्ने गरी बनेको होइन । हामीलाई ऊर्जाको लागि ग्लुकोज चाहिन्छ । हामी प्रायः चिनी र ग्लुकोज एउटै हो भन्ने बुझ्छौँ । तर यी दुईमा फरक छ । सुक्रोज (चिनी) ग्लुकोज र फ्रक्टोज दुई खाले चिनी मिलेर बनेको हुन्छ । ग्लूकोज पचाउन शरीरलाई कुनै समस्या हुन्न । तर सुक्रोज पचाउन कलेजोले बढी  परिश्रम गर्नु पर्छ । धेरै सुक्रोज सेवन फ्याटी लिभरको कारण पनि बन्न सक्छ । धेरै चिनी खाँदा हाम्रो शरीरमा एड्भान्स ग्लाइकोजन एन्ड प्रोडक्ट्स नाम गरेको केमिकल बन्छ । यो केमिकलले समय अगावै हामीमा बुढ्यौलीको लक्षण देखाउँछ ।

३. लत लाग्नु

जब हामी चिनी खान्छौँ तब हाम्रो दिमागबाट डोपामाइन नामक एउटा हर्मोन निस्किन्छन । यसले हामीलाई खुसीको अनुभूति दिन्छ । चुरोट तान्दा पनि यही हर्मोन रिलिज हुन्छ । मानिसहरुले चुरोट सेवन गर्दा आनन्द महसुस गर्ने कारण यही हो । अनि विस्तारै उनीहरुमा यही आनन्द महसुस गर्ने लत बस्छ । चिनीमा पनि यही कुरा लागू हुन्छ । तर यस्तो खालको आनन्द धेरै बेरसम्म टिक्दैन । अनि फेरि गुलियो खाने इच्छा हुुन्छ । बारम्बार मिठो वा गुलियो खाऊ खाऊ भइरहन्छ भने सम्झिनुस् तपाईले धेरै चिनी खाइरहनु भएको छ ।

 ४. दाँतमा क्याभिटी

झन्डै सय वर्ष पहिले क्यानेडियन डेन्टिष्ट वेस्टन प्राइसले एउटा किताब लेखेका थिए । किताबको नाम थियो ‘न्यूट्रिशन एन्ड फिजिकल डीके’ । किताबमा बिना कुनै दाँत माज्ने ब्रस र आधुनिक डेन्टल केयर दाँत एकदम तन्दुरुस्त रहेका केही मानव सभ्यताबारे बताइएको थियो । यसको कारण ती सम्भयताका मानिसको सुगर डाइट थियो । अर्थात् चिनी बिनाको डाइटले मानिसको दाँत वर्षौवर्षसम्म सुरक्षित रहन्छ । तपाईको दाँत कुहिन थालेको छ अनि दाँतमा प्लाक जम्न थालेको छ भने पनि यसको अर्थ तपाईको चिनी उपभोग धेरै छ भन्ने हुन्छ ।

५.पेट फुल्ने समस्या

चिनी हामीलाई मात्रै होइन हाम्रो पेटभित्र रहेको ब्याक्टेरियालाई पनि निकै मन पर्छ । हाम्रो पेटमा दुई खाले ब्याक्टेरिया हुन्छन् । एउटा असल, अर्को खराब । असल ब्याक्टेरियाले पाचनलाई ठिक ठाउँमा राख्न सघाउँछ । खराब चाँहि ग्यास र ब्लोटिङ अर्थात् पेट फुल्ने समस्याको जड हो । खानामा धेरै चिनीले यस्ता खराब ब्याक्टेरियालाई सक्रिय पार्छ, फस्टाउन मद्दत गर्छ । तपाईलाई ग्यास वा ब्लोटिङको समस्या भइरहन्छ भने चिनी खपत धेरै पो छ कि विचार गर्नुस्  ।

६. असमान ऊर्जा

चिनीबाट हामीले जति छिटो ऊर्जा पाउँछौं त्यति नै छिटो यसको ऊर्जा सकिन्छ पनि । फल र अन्नबाट पाइने ऊर्जा शरीरले विस्तारै पाउँछ अनि लामो समयसम्म टिकिरहन्छ । चिनीको अत्यधिक सेवनले तपाई क्षणमै ऊर्जावान महसुस गर्नुहुन्छ अनि अर्को क्षण ताकतै नभएको । तपाईलाई पनि यस्तै भइरहन्छ भने धेरै चिनी खानुको असर हुन सक्छ ।

७. तौल बढ्छ

हाम्रो शरीरले बढी भएको ऊर्जालाई फ्याटको रूपमा जम्मा गरेर राख्छ । १ ग्राम चिनीमा ४ क्यालोरी हुन्छ । आधा लिटर हल्का पेयमा ५० ग्राम चिनी हुन्छ । अर्थात् हामीले ५०० एमएल कोक खायौँ भने यसबाट शरीरले २०० भन्दा धेरै क्यालोरी पाउँछ । दिनभरिमा हामीलाई २ हजार देखि २ हजार ५०० क्यालोरीको आवश्यकता पर्छ । एक कोल्ड ड्रिङ्कबाटै हामीले १० प्रतिशत क्यालोरी पाइसक्छौं । तर चाहिने भन्दा धेरै क्यालोरी शरीरका लागि स्वस्थ्यबद्र्धक होइन । हामीले लिएको अतिरिक्त क्यालोरी शरीरमा बोसोको रूपमा जमेर बस्छ अनि मोटोपना बढाउँछ । बारम्बार बिरामी भइरहनु र मूड स्वीङ भइरहनु पनि धेरै चिनी खपतको असर हुन सक्छ ।

हामीलाई काम गर्न र ऊर्जा अर्थात् ताकतका लागि कार्बोहाइड्रेट्स चाहिन्छ । तर चिनी कार्बोहाइड्रेट्सको स्वरुपमा विष हो । त्यसैले आफूलाई माया गर्नु हुन्छ भने चिनीको सेवन कम गर्नुस् । बरु फलफूल, साग सब्जी अन्न जस्ता कार्बोहाइड्रेट्सका राम्रो स्रोतको सेवन बढाउनुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप