आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो

बिहीबार, ०७ मङ्सिर २०८०, ०८ : ३५
बिहीबार, ०७ मङ्सिर २०८०

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र पर्यटकीय क्षेत्र नगरकोट नजिकै रहेको सो ठाउँमा पर्यटकलाई आकर्षण गर्नका लागि पर्यटकीय ताल निर्माण थालिएको हो ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ताल निर्माण सुरु गरिएको हो । अहिले ताल निर्माणका लागि विजय÷लोटस÷तेजस्वी जेभीले रु पाँच करोड ८७ लाखमा बाँध निर्माणको सम्झौता गरी निर्माण थालनी गरेको छ । एक वर्ष अगाडि नै सुरु हुनुपर्ने सो निर्माण कार्य रकम अभावका कारण ढिला हुन गएर अहिले कार्य थालनी भएको निर्माण व्यवसायी गणेश तामाङले बताए ।

आगामी २०८१ मङ्सिर ७ गते सम्पन्न गर्नुपर्ने बहुवर्षीय योजनाको रुपमा सुरु भएको परियोजनाको अहिले पहिलो चरणअन्तर्गत बाँध निर्माणको काम गरिरहेको छ । बाँध निर्माणको लागि एक हप्तादेखि डोजर लगाएर जग खन्ने काम भइरहेको छ ।

थलथले अवस्थामा रहेको सो ठाउँमा यसअघि खासै कोही जाँदैनथे । सो ठाउँमा अहिले कृतिम ताल निर्माण गरी पर्यटन प्रवद्र्धनको काम अगाडि बढाइएको हो । ताल निर्माण भएपछि सिँचाइको सुविधासमेत हुने भएकाले त्यहाँका स्थानीयवासीको आर्थिकस्तरमा वृद्धि हुने स्थानीयवासी लालचन्द्र गिरीले बताए। ताल निर्माणसँगै सो ठाउँमा डुङ्गा सञ्चालन गर्ने र ताल आसपासका क्षेत्रमा पर्यटकका लागि मनोरञ्जन गर्ने उद्यानसमेत निर्माण गर्ने जनाएको छ ।

सो स्थान आसपासमा रहेको वासुकी उद्यान र देवीस्थानडाँडा अर्को आकर्षणको केन्द्र रहेको छ । अग्लो ठाउँमा रहेको सो स्थानबाट काठमाडौँ उपत्यका लगायत काभ्रेको बनेपा आसपासका सबै ठाउँ नियाल्न सकिने भएकाले पनि पर्यटकको लागि उपयुक्त स्थान हुने गिरीगाउँका स्थानीयवासी सानुकाजी गिरीले बताए । त्यससँगै अब ताल निर्माण कार्य सम्पन्न भएपछि आधुनिक भवन निर्माणसँगै पर्यटकको आवागमन बढेर उत्पादन हुने कृषिजन्य बस्तुको बिक्रीबाट स्थानीय कृषकको आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।

पहिला नालाको शेरा बजारसम्म लगेर तरकारी बिक्री गरेकामा पछिल्लो समयमा सडकको सुविधा भएपछि ठेकेदारले बारीसम्म पुगेर सङ्कलन गरी सिधैँ काठमाडौँ बिक्री गर्दै आएको किसान बताउँछन् । “अब ताल बनेपछि पर्यटकको आवागमनले घरआँगनमा नै बिक्री गरेर आर्थिक लाभ लिन पाउने आशा छ”, चारघरेका रामचन्द्र दाहालले भने, “तत्कालीन समयमा स्थानीयवासीले पर्यटकीय ताल बनाउन आग्रह गरेका थिए, त्यसलाई निरन्तररुपमा आवाज उठाउँदै आउने क्रममा अब बाँध निर्माण कार्य सुरु भएकाले बन्ने आशा पलाएको छ ।”

काम सुरु भए पनि सम्पन्न नभइञ्जेलसम्मका लागि बजेटको सुनिश्चित गर्न र निर्माण व्यवसायीले पनि समयमा नै सम्पन्न गरिदिनका लागि स्थानीयवासीले आग्रह गरेका छन् । लामो समयदेखि देखेको सपना बल्ल साकार हुन थालेको भन्दै यहाँका बासिन्दाले अब त्यसलाई छिट्टै सम्पन्न गर्नका लागि आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप