सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा लगानी भित्र्याउन नीति स्पष्ट हुनुपर्छ : अमेरिकी राजदूत थम्पसन

आइतबार, १६ वैशाख २०८१, ०८ : ००
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि नीतिगत स्थिरता र स्पष्टता आवश्यक भएको बताएका छन् । अमेरिकी चेम्बर अफ कमर्स नेपालको आयोजनामा शनिबार राजधानीमा आयोजित ‘यूए–नेपाल व्यावसायिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तरक्रियामा उनले नीतिगत तहमा स्पष्ट नभएसम्म नेपालले स्वदेशी वा विदेशी लगानी बढ्न कठिन हुने बताए ।

उनले आर्थिक समृद्धिका लागि नीति पारदर्शिता, स्थिरता र अनुमानयोग्य हुनुपर्ने भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । ‘अमेरिका र नेपालबिच लामो समयदेखि सम्बन्ध रही आएको छ, अमेरिका नेपालले समृद्ध लोकतन्त्र, आर्थिक वृद्धि तथा विकास र मानव अधिकार, सामाजिक न्यायका क्षेत्रमा प्रगति गरेको हेर्न चाहन्छ’ उनले भने, ‘लोकतन्त्र र सामाजिक न्याय भयो भने आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’

राजदूत थम्पसनले पछिल्लो समय अमेरिकी सरकारले विद्युतीय प्रसारण लाइन, सडकलगायतका पूर्वाधार क्षेत्रमा लगानीका साथै महिलाद्वारा सञ्चालित साना उद्यममा पनि सहयोग गरिरहेको जानकारी दिए । उनले नीतिमा स्पष्टता भए थप अमेरिकी लगानी नेपालमा आउन सक्ने विश्वास व्यक्त गरे ।

यूएस चेम्बर अफ कमर्सका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष अतुल केशपले नेपालमा भोलिदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजित यसप्रकारको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह भएको बताए ।  उनले नेपालमा डिजिटल अर्थतन्त्र, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको ठुलो सम्भावना भएको भन्दै यी क्षेत्रको विकासबाटै मुलुकका समृद्धि हासिल हुने बताए ।

केशपले नेपालमा लगानी बढाउनका लागि नीतिगत स्पष्टतामा जोड दिँदै लगानीमैत्री वातावरण बनाउन सके ठुलो लगानी भित्रने उनले विश्वास व्यक्त गरे । ‘अहिले नेपालमा भित्रने कुल प्रत्यक्ष विदेशी लगानीमा अमेरिकी लगानी तीन प्रतिशत मात्रै छ । लगानीमैत्री वातावरण र नीति हुने हो भने आगामी दिनमा यसलाई बढाउन सकिन्छ’ उनले भने ।

अमेरिकी चेम्बर अफ कमर्स नेपाल (एमच्याम) का अध्यक्ष तथा मेटलाइफ नेपालका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक निर्मलकाजी श्रेष्ठले नेपाल लगानीको ठुलो सम्भावनाको मुलुक भएको बताए ।  ‘नेपाल लगानीको सम्भावना भएको मुलुक हो, हाम्रो अहिलेको प्राथमिकता हालको लगानीलाई दिगो बनाउने र आगामी दिनमा अमेरिकी लगानी बढाउनु हो’, उनले भने, ‘यसका लागि सबै साझेदारहरूको सहयोग आवश्यक छ ।’

यूएस चेम्बर अफ कमर्सका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशपले अमेरिकी चेम्बर अफ कमर्स नेपाललाई छोटो समयमा मान्यता दिलाउन खेलेको भूमिकाको चर्चा गरे । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएड नेपालका मिसन निमित्त निर्देशक करिन वेल्चले आफूहरूले सरकारी र निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न काम गरिरहेको बताइन् ।

उनले नेपालको आर्थिक विकासका लागि यूएसएडले पर्यटन, सूचना प्रविधि, कृषि र क्लिन इनर्जीका क्षेत्रमा यूएसएडले काम गरिरहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रमा ठुलो सम्भावना रहेको समेत उल्लेख गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप