सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
झापामा पूर्वराजा

झापामा शक्ति प्रदर्शनको तयारीमा राजावादी, स्थानीय प्रशासन चनाखो

५० हजार मान्छे उतार्ने राप्रपाको दाबी
शुक्रबार, ०८ मङ्सिर २०८०, १४ : १९
शुक्रबार, ०८ मङ्सिर २०८०

विराटनगर । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँमा व्यवस्थाविरोधी प्रदर्शन सुरु गरेको पर्सिपल्ट राप्रपाले पनि पूर्वराजा ज्ञानेन्द्र शाहसमेतको सहभागितामा झापामा अघोषित शक्ति प्रदर्शनको तयारी गरेको छ । झापाको विर्तामोडबाट झण्डै डेढ किलोमिटर पश्चिम रामचोकस्थित देवी पञ्चकन्या प्लटिङमा रहेको इकम कलेजले आयोजना गरेको पृथ्वीनारायण शाहको ५ फिट अग्लो सालिक अनावरण गर्ने कार्यक्रमका लागि पूर्वराजा शाह आजै झापा आउँदैछन् ।

आज भद्रपुर विमानस्थल हुँदै झापा आएर पूर्वराजा शाह धुलाबारीमा रहेको होटल मेची क्राउनमा बस्नेछन् । शनिबार दिउँसो १ बजे सालिक अनावरण र क्याम्पस उद्घाटनको औपचारिक कार्यक्रम राखिएको क्याम्पस व्यवस्थापनले जनाएको छ ।

त्यसअघि राप्रपाले नेपालको राष्ट्रिय झण्डा बोकेर पूर्वराजालाई उक्त होटलदेखि कलेज परिसरसम्म स्कर्टिङको तयारी गरेको छ । ‘हामी नागरिक समाजको हैसियतले राजाको भव्य स्वागतमा जान्छौँ । हामीले यति नै मानिस आउँछन् भन्ने आकलन गरेका छैनौँ । तर, उपस्थिति जतिसक्दो धेरै देखाउँ भन्नेमा छौँ । कार्यक्रमलाई इतिहासमा लेखाउने तयारी गरेका छौँ,’ राप्रपाका कोशी प्रदेश अध्यक्ष राम थापाले भने, ‘हामी नागरिक भएर राष्ट्रिय झण्डा बोकेर बाटोमा स्वागत गर्छौं, पुष्प गुच्छा दिन्छौँ ।’

राप्रपा निकट मजदुर संगठनका कोशी प्रदेश अध्यक्ष प्रविण रिमालका अनुसार राप्रपाका आम कार्यकर्ताले होटलबाट स्कर्टिङ गरेर पूर्वराजालाई कलेजसम्म ल्याउने छन् । ‘राजा आउने भएका कारण स्वागतमा मात्रै जाने हो, कलेजभित्रको केही थाहा हुँदैन,’ रिमालले भने, ‘स्वागतमा ५० हजार मानिस आउने आकलन गरेका छौँ ।’

धुलाबारीमा रहेको होटल मेची क्राउनबाट पूर्वराजा सर्वसाधारणलाई भेट्दै कलेजसम्म पुग्ने उनले बताए । पूर्वराजाको स्कर्टिङमा ८ हजारभन्दा बढी मोटरसाइकल हुने राप्रपाका नेताहरुले बताएका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कार्यक्रममा पार्टीको संलग्नता नहुने भनेर कलेजले जानकारी गराएको बताए । ‘सुरक्षामा समस्या आउने अवस्था देखिने संकेत छैनन् । केही मान्छे आउलान् । तर, भिडन्त हुने खालको अवस्था नहोला । केही नाराबाजी होला । पूर्वराजा सानो कार्यक्रम लिएर आएका हुन्,’ पोखरेलले भने, ‘निजी कलेजमा आउने हुन् । १–२ हजार मानिस आउलान् । आजै प्लेनबाट आएर मेची क्राउन होटलमा बस्ने जानकारीमा आएको छ ।’

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआइजी राजेशनाथ बाँस्तोलाका अनुसार पूर्वराजाले कलेजको प्राङ्गणमा रहेको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेर भोलि नै फर्किने कार्यक्रम तय गरेका छन् । ‘मानिसहरु जति भिडभाड भए पनि हामी सुरक्षा दिन्छौँ । अहिलेसम्म सुरक्षामा आँच आउने खालको कुनै गतिविधि हुँदैन भन्ने लागेको छ,’ उनले भने ।

इकम कलेजका प्रमुख आलोक कार्कीले झापा जिल्लाका सबै नागरिक समाज तथा राजनीतिक पार्टीलाई कार्यक्रममा निमन्त्रणा गरेको जानकारी दिए । कार्यक्रमलाई कुनै पनि राजनीतिक पार्टीसँग जोडेर नहेर्न उनले आग्रह गरे । ‘हामीले मूर्ति स्थापना गर्ने कुरा चल्दा के राख्ने या नराख्ने भनेर विभिन्न चरणमा छलफल गर्दा हाम्रो राष्ट्रलाई एकीककरण गर्नुहुने राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको सालिक बनाउने निर्णय गरिएको हो,’ उनले भने ।

विद्यार्थीहरुलाई इतिहासको सम्झना दिलाउनका लागि सालिक बनाउन लागिएको उनले बताए । क्याम्पसमा पूर्वराजाले २० मिनेट समय दिने उनले उल्लेख गरे । आफूहरुले आयोजना गरेको कार्यक्रमको अवसर पारेर राप्रपाले मौका छोपेको हुनसक्ने उनले बताए ।
‘राप्रपाले क्याम्पसको कार्यक्रमको अवसरमा मौका छोपेको हुनसक्छ । त्यसलाई हामीले रोक्न सक्दैनौँ । ५–६ सय विद्यार्थी र उनीहरुका आफन्तहरु आउन सक्छन् । त्यसो हुँदा केही मान्छे आउन सक्छन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप