वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार बढी श्रमिक कोषमा आबद्ध

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार भन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । गत चैत ८ गतेदेखि हालसम्म ४ लाख ६६ हजार ६२२ जना श्रमिक कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने व्यवस्था गरिएको छ । सोही आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको आबद्धता बढेको कोषले जनाएको छ ।
वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको हकमा निरन्तरता न्यून देखिएको कोषले जनाएको छ । तर, वैदेशिक रोजगारमा रही विदेशबाटै योगदान गर्नेको हकमा ९० प्रतिशतको निरन्तरता रहेको कोषका सह प्रवक्ता रोहित रेग्मीले बताए ।
वैदेशिक रोजगारमा रहेर कोषमा योगदान गर्दै आएका तीन जनाको मृत्यु भइसकेको कोषले जनाएको छ । तर उनीहरूको कोषबाट पाउने सुविधा भने नपाउने सह प्रवक्ता रेग्मीले बताए ।
कोषबाट सुविधा प्राप्त गर्न १२ महिनामा कम्तीमा ९ महिनाको योगदान हुनुपर्ने कोषको कार्यविधिमा उल्लेख छ । मृतकहरूले १ महिना मात्र योगदान गरेको देखिएकोले सुविधाका लागि उनीहरू योग्य नदेखिएको रेग्मीले बताए ।
कोषले सोमबार आफ्नो स्थापनाको छैटौँ वार्षिकोत्सव मनाउँदै छ । त्यसको पूर्व सन्ध्यामा कोषले आफ्नो प्रगती विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता छन् । १८ हजार ४३९ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । कोषमा हालसम्म ४४ अर्ब ८५ करोड रकम जम्मा भएको छ ।
कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ । हालसम्म ९२६ जनाले कोषबाट कर्जा लिएका छन् । जसमा स्पेसल कर्जा, घर कर्जा र शैक्षिक कर्जा रहेको कोषले जनाएको छ ।
कोषले आर्थिक वर्ष २०७९–०८० सम्ममा ३० हजार रोजगारदाता सूचीकृत गर्ने लक्ष्य राखेको थियो । तर, हालसम्म १८ हजार ३९ रोजगारदाता सूचीकृत भएका छन् । त्यो वर्षसम्म ५ लाख योगदानकर्ता सूचीकरण गर्ने लक्ष्य राखेकोमा उक्त लक्ष्य समयमै पुरा गर्दै हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता आबद्ध भइसकेको कोषले जनाएको छ ।
कोषले असोज १७ गतेदेखि देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी स्थानीय तह अन्तर्गतका अनौपचारिक क्षेत्रका श्रमिकलाई स्थानीय तह समेतको सह–योगदान रहने गरी कोषमा आबद्धताका लागि पत्र पठाएको थियो । जस अनुसार हालसम्म ६ वटा स्थानीय तहले कोषमा आबद्धताका लागि सहमति जनाई
पत्राचार समेत गरिसकेका छन् । भने २ स्थानीय तह आबद्धताका लागि प्रक्रियामा रहेका छन् । आबद्धताका लागि पत्राचार गर्ने स्थानीय तहहरूमा फेदिखोला गाउँपालिका स्याङ्जा, भीमफेदि गाउँपालिका मकवानपुर, वीरगञ्ज महानगरपालिका पर्सा, जितपुर सिमरा उपमहानगरपालिका बारा, बर्दिबास नगरपालिका महोत्तरी, मरिन गाउँपालिका सिन्धुली रहेका छन् । त्यस्तै प्रक्रियामा रहेका स्थानीय तहहरूमा तारा खोला गाउँपालिका बागलुङ र बुढानीलकण्ठ नगरपालिका काठमाडौँ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष