बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
देशकै पहिलो अलैँची प्रशोधन उद्योग

८२ करोडको अलैँची प्याकेजिङ गरी भारत निर्यात

बोराका बोरा अलैँची पठाउँदा पठाउँदै मैले प्रशोधन उद्योग खोल्ने सोचेँ : भट्टराई
मङ्गलबार, १२ मङ्सिर २०८०, १३ : ४८
मङ्गलबार, १२ मङ्सिर २०८०

विराटनगर । मालवस्तु निर्यात (ट्रेडिङ)को पुस्तैनी पेसा अँगाल्दै आएका झापाका एक युवाले देशमै पहिलो पटक (दुई वर्ष अगाडि) अलैँची प्रशोधन उद्योग खोले । झापाको अर्जुनधारा–८, कप्तानबारीमा निर्मल भट्टराईले एभरेष्ट लार्ज कार्डमम इण्डष्ट्रिज प्रा.लि. नाम गरेको उद्योग खोलेका हुन् ।

अप्रशोधित अलैँची बोराका बोरा भारत निर्यात गर्ने उनले भारतका उद्योगीले नेपालको अलैँची प्रशोधन गरेर भारतीय उत्पादन भन्दै तेस्रो मुलुकमा बेचेको देखे । उनलाई लाग्थ्यो, ‘नेपालमा उत्पादित अलैँची आफैँ ब्राण्डिङ, लेबलिङ, प्याकेजिङ गर्न पाए कति राम्रो हुन्थ्यो !’

उनले त्यही सोचका आधारमा अलैँचीको प्रशोधन उद्योग खोले । तर, उनले अझै पनि प्रशोधित अलैँची तेस्रो मुलुक पठाउन भने सकेका छैनन् । बरु त्यही भारतमा नेपाली प्रोडक्ट भन्दै अलैँची निर्यात गरिरहेका छन् ।

‘प्रशोधन नगरिएको अलैँचीभन्दा प्रशोधन गरेर प्याकेजिङ गरेको अलैँचीको मूल्य २० देखि २५ प्रतिशत बढी आउँछ,’ उनले सुनाए, ‘हामीले हाम्रो अलैँची भारत पठाइरहेका छौँ । तर, भारतले प्याकेजिङ र लेबलिङ गरेर तेस्रो मुलुक पठाइरहेको  छ । भारतले त हाम्रो मुलुकमै पनि प्याकेजिङ गरेर पठाएको छ । त्यसकारण हाम्रो उत्पादित वस्तुको हामी आफैँले प्याकेजिङ गर्ने र ग्रेडिङ गर्ने उद्देश्यले उद्योग खोलिएको हो ।’

भारतले सस्तोमा अलैँची लगेर महँगोमा नेपालमै पठाइरहेको देखेर उद्योग खोलेको उनले प्रस्ट पारे । ‘म ट्रेडिङ गरिरहेको छु । मेरो बुबाले पनि यही गर्नुहुन्थ्यो । बोराका बोरा माल पठाउँदा पठाउँदै मैले प्रशोधन उद्योग खोलेको हुँ,’ उद्योगका अध्यक्षसमेत रहेका भट्टराईले भने ।

उद्योगको प्रशोधन गर्ने कार्यमा आफू टिकिरहेको बताउने उनी संघर्षको चरणमा रहेको बताउँछन् । यद्यपि राम्रो गरेरै छोड्ने उनको आत्मविश्वास छ । ‘प्रशोधन गरेको वस्तुको खपत र बजार व्यवस्थापनमा अझै केही समस्या छ । तर, टिकिरहेका छौँ । टिकाउने मात्रै होइन, अब अन्तर्राष्ट्रिय मार्केटमा पठाउन र नेपालमा खपत बढाउन आवश्यक जनशक्ति थपेर अगाडि बढ्ने उद्देश्य छ,’ उनले भने, ‘अहिलेसम्म यो नै नेपालको पहिलो अलैँची प्रशोधन उद्योग हो ।’

अन्य व्यवसायीहरुले पनि यसखालका साना–साना लगानीका अलैँची प्रशोधन उद्योग खोल्नुपर्ने उनी बताउँछन् ।

प्रशोधन भएको अलैँचीका उत्पादित सामाग्रीहरू भारतबाहेक तेस्रो मुलुक निर्यात गर्न प्रयास गरिरहेको भट्टराई बताउँछन् । त्यस्तै विभिन्न खानाका परिकारहरूमा अलैँचीको प्रशोधित मसलाहरूको उपयोग कसरी गर्न सकिन्छ भनेर खोजी गरिरहेको पनि उनी सुनाउँछन् ।

‘नेपालमै खपत गर्ने चुनौती छ । हामीले अन्तर्राष्ट्रिय मार्केट (तेस्रो मुलुक) खोज्नुपर्नेछ । त्यसका लागि नीतिगत समस्या छ । यद्यपि अहिले भारत पठाइरहेका छौँ,’ उनले सुनाए, ‘भारतले आफैँ प्याकेजिङ गरेको अलैँची लिन चाहँदैन । उनीहरूको ठुलाठुला ब्राण्डेड कम्पनीहरुले प्याकेजिङ गरेर तेस्रो मुलुक पठाइरहेका छन् । तर, हामीले साना–साना उद्योगमार्फत ‘प्रोडक्ट नेपाल’ भनेर भारत नै पठाइरहेका छौँ । यसमा सरकारको सहयोग भएन भने उद्योग टिक्न सक्ने अवस्था कमजोर हुनसक्छ ।’

४० जना मजदुर रहेको उद्योगले अलैँचीका चार वटा आइटम उत्पादन गरिरहेको छ । अलैँचीको पाउडर, अलैँचीको दानाबाट बनेको माउथ फ्रेसनर, ग्रेडिङ अलैँचीलाई ५० ग्रामदेखि १ किलोसम्म प्याकेजिङ गर्ने र अलैँचीको दाना निकालेर विभिन्न खाना परिकारमा प्रयोग गर्ने उद्देश्यले प्याकेजिङ गरेर बजारमा लगिरहेको उनले जानकारी दिए । ‘नेपालमा प्याकेजिङ आइटमको खपत कम छ । हामीले अघिल्लो वर्ष अनुमानित ३२ करोडको निर्यात गर्‍यौँ । गत वर्षमात्रै ५० करोडको निर्यात गर्‍यौँ । त्यसमध्ये नेपालमा १ करोड बराबरको मात्रै खपत भयो,’ उनले सुनाए ।

पहाडी जिल्लाहरूबाट आएको अलैँची बिर्तामोडमा कलेक्सन हुन्छ । त्यहीँबाट अलैँची ल्याएर प्रशोधन गरिरहेको उनले बताए । उनले भारतसँगको प्रतिस्पर्धा नै मुख्य समस्या देखेका छन् । ‘हामीले बंगलादेशमा माल पठाउन सकेका छैनौँ । त्यहाँ ३५ प्रतिशत ड्यूटी छ । भुटानबाट शून्य प्रतिशत भन्सारमा अलैँची बंगलादेश गइरहेको छ । अर्को कुरा, पाकिस्तानमा मार्केट भए पनि त्यस्ता देशमा हाम्रो अलैँची पुग्न ६० दिन लाग्छ,’ उनले तेस्रो देशमा निर्यात गर्न भइरहेको कठिनाइबारे भने, ‘हाम्रो पोर्ट कलकत्ता हो । भारतले मुम्बई पोर्टबाट १५ दिनमै पुर्‍याउँछ । हाम्रो माल पनि मुम्बई पोर्ट प्रयोग गर्न दिने हो भने छिटो जान सक्थ्यो । त्यसकारण नेपाल सरकारले यस्ता विषयमा ध्यान दिनु पर्‍यो । निर्यातजन्य वस्तुहरू धेरै कम भएको हुनाले थोरै थोरै परिमाणको डिमाण्ड भए पठाइहाल्ने अवस्था पनि छैन ।’

अहिलेसम्म भारत निर्यात गर्न कुनै अवरोध नभए पनि भारतले जस्तै सहज तरिकाले तेस्रो मुलुक लैजान भने नपाएको उनको गुनासो छ । यस्तै सरकारले गुणस्तरीय अलैँची उत्पादन कसरी गर्ने भनेर सोच्ने भन्दा निर्यातको डाटामात्रै गनेर बसिरहेको उनी गुनासो गर्छन् ।

‘सरकारले अलैँची प्रशोधन उद्योगको प्रवर्द्धनका लागि उत्पादित अलैँचीको गुणस्तर, रोग, किरा, विषादीको प्रयोग लगायतको विषयमा ध्यान दिनुपर्छ । सरकारले निर्यात भएको डाटा मात्रै लिएर हुँदैन,’ उनले भने, ‘किसानलाई सहुलियतपूर्ण कर्जा पनि दिनुपर्छ । भट्टी र प्रोसेसिङ सेन्टरहरूको विकास गर्नुपर्छ ।’

चार महिनामा २ अर्ब १५ करोडको अलैँची निर्यात

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनामा नेपालबाट २ अर्ब १५ करोड ६० लाख ९५ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । जुन गत वर्षको तुलनामा झण्डै १९ करोड रुपैयाँले बढी हो । नेपाली अलैँचीको बजार भारत र पाकिस्तान हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप