सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई विपत् व्यवस्थापनको ज्ञान कसरी दिने, पाठ्यक्रम कस्तो हुनुपर्छ ?

बिहीबार, १४ मङ्सिर २०८०, १० : ५३
बिहीबार, १४ मङ्सिर २०८०

भर्खरै (कात्तिक १७ गते मध्यराति) जाजरकोट केन्द्रबिन्दु भई गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट, पश्चिम रुकुम लगायत जिल्ला यतिखेर शोक र सकसमा छन् ।

भौगर्भिक अवस्था, खासगरी इन्डियन र युरासियन प्लेटको टकराबका कारण हाम्रो भूगोल भूकम्पीय जोखिममा रहेको विज्ञले बताउँदै आएका छन् । पाँच सय वर्षयताका भूकम्पको इतिहास नियाल्दा पनि यही पुष्टि हुन्छ । 

योसँगै भौगोलिक अवस्थितिका कारण पनि हामी अन्य प्राकृतिक विपत् (जस्तै: बाढी, पहिरो आदि)को जोखिममा छौँ । हरेक वर्ष बाढीले तराईका विभिन्न ठाउँमा डुबान पारेको र पहाडमा पहिरोले जनधनको क्षति पु¥याएको हामी सबैले देखे–भोगेकै हो । 

अन्य प्राकृतिक विपतसँगै पछिल्लो दशक (२०७२ यता) गइरहेका साना–ठूला भूकम्पमा ध्यानाकर्षण गर्दा हामीले भूकम्पबाट हुने जोखिमबाट बच्न आक्रामक प्रकृतिको सतर्ककता अपनाउनैपर्छ । 

भोलिका लागि सोचेर विपत् व्यवस्थापनका कार्यक्रम अगाडि बढाउनका लागि खासगरी हामीले शैक्षिक क्षेत्रतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । विपत्सँग जुध्न सर्वप्रथम हामीलाई विपतसँग सम्बन्धित आधारभूत ज्ञान (विपतको पूर्वतयारी, विपत् प्रतिरोध र विपत् न्यूनीकरणबारे ज्ञान) आवश्यक हुन्छ । हाम्रा विद्यालयका पाठ्य पुस्तकमा विपत व्यवस्थापनसम्बन्धी के–कस्ता विषय समावेश गरिएका छन् ? यसबारे चर्चा गरौँ । 

हाम्रो शिक्षा प्रणालीको व्यवस्थापन शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले गर्छ । शिक्षा प्रणालीलाई बेला–बेला परिमार्जन गरेको देखिन्छ भने पाठ्यक्रम पनि सोही अनुरूप बदल्ने गरिएको छ । पछिल्लो परिमार्जित पाठ्यक्रममा विपत् व्यवस्थापनलाई ‘विज्ञान’ विषयमा नसमेटेर ‘सामाजिक शिक्षा’मा समावेश गरिएको छ । 

कक्षा १ देखि ३ सम्म ‘मेरो सेरोफेरो’ विषयमा, कक्षा ४ मा ‘सामाजिक’ विषयमा, र कक्षा ६ देखि कक्षा ८ सम्म ‘सामाजिक अध्ययन’ विषयमा विपत् व्यवस्थापनको चर्चा गरेको देखिन्छ । कक्षा ५ मा यो विषय उल्लेख नै छैन । 

pdf ranjita

विपत् व्यवस्थापनका आधारभूत ज्ञान कक्षा १–८ भित्रै समेटिसक्नुपर्ने देखिन्छ । विपत् पूर्वतयारीका बारेमा विद्यार्थीलाई यथेष्ट रूपमा स्कुलमै सिकाउने चलन संसारभरि नै छ । हाम्रो देशको एउटा तथ्याङ्क हेर्ने हो भने स्थिति कहालीलाग्दो देखिन्छ । विद्यालय शिक्षा क्षेत्र योजना २०२२ का अनुसार, १३–१६ वर्ष उमेरका ४४ प्रतिशत विद्यार्थी विद्यालय नै जाँदैनन् । 

विद्यार्थीलाई ज्ञान, कौशल दिने र विचारशील बनाउने माध्यम भनेकै पाठ्यक्रम हो । यसले व्यावहारिक अध्ययन र अनुभवलाई पनि महत्त्व दिन्छ । त्यसैले पाठ्यक्रमलाई नियमित परिमार्जन गरिन्छ र समय सान्दर्भिक बनाइन्छ तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने हाम्रो स्कुलको पाठ्यक्रममा सैद्धान्तिक कुरा बढी र प्रयोगात्मक कुरा अत्यन्त न्यून रहेको अवस्था छ । जसरी पौडीको अभ्यास नगरी पुस्तक पढेको भरमा मात्र पौडिएर नदी तर्न सकिँदैन, त्यसैगरी विषयवस्तुलाई केवल पाठ्यक्रममा मात्रै समावेश गरेको भरमा विद्यार्थीलाई पूर्ण ज्ञान प्राप्त हुन सक्तैन । 

भूकम्पको हकमा त पुस्तक पढेर परीक्षामा राम्रो अंक ल्याउन त सकिन्छ, तर भूकम्प आएका बखत आफ्नो जिउ–धनको रक्षा गर्न सकिँदैन । 

भूकम्प प्रतिरोधक स्कुल भवन निर्माण 

८ मंसिर २०८० मा कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीयका अनुसार पछिल्लो भूकम्पका कारण सबैभन्दा बढी क्षति पुगेको जाजरकोटमा तीन सय ४१ विद्यालय भवन भत्किएका छन् । क्षतिग्रस्त कक्षाकोठाको संख्या एक हजार पाँच सय ९९ छ । यस्तै, रुकुम पश्चिममा ४८ विद्यालयका एक सय ९३ कक्षाकोठा क्षतिग्रस्त छन् । 

यो तथ्याङ्कले के दर्शाउँछ भने स्कुल सञ्चालन भइरहेका बेला भूकम्प गएको भए अकल्पनीय रूपमा विद्यार्थी हताहत हुने थिए । यस्तो दुर्घटना देशको कुनै पनि भागमा हुन सक्ने सम्भावना रहेको कुरा विज्ञले बारम्बार बताइरहेका छन् । त्यसैले देशभरका स्कुल भवनलाई भूकम्प प्रतिरोधक बनाउनु र सो सम्बन्धमा विद्यार्थी जानकार हुने गरी पाठ्यपुस्तकमा उल्लेख गर्न आवश्यक छ । केही समयअघि चर्चामा रहेको र अहिले संसद्मा विचाराधीन रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’मा ‘भूकम्प प्रतिरोधक स्कुल भवन’का सम्बन्धमा केही पनि उल्लेख नहुनुले सरकारको गाम्भीर्यता सतही भएको बुझिन्छ, जुन दुखद् हो ।

‘भूकम्पीय ड्रिल’को कार्यान्वयन 

कक्षा सञ्चालन भइरहेका बखत भूकम्प आयो भने कक्षा कोठाबाट कसरी बाहिर निक्लने र पहिले नै निर्णय भएको सुरक्षित स्थानमा कसरी पुग्ने भन्नेबारे शिक्षक र विद्यार्थीलाई प्रयोगात्मक तरिकाले पाठ्यक्रममै उल्लेख गरेर सिकाउनुपर्ने हुन्छ । यस्तो अभ्यास (जसलाई ‘भूकम्पीय ड्रिल’ भनिन्छ) संसारका प्रायः सबै स्कुलमा अनिवार्य रूपले गर्ने चलन छ तर हाम्रो स्कुलको पाठ्यक्रममा यो कुराले स्थान नै पाएको छैन । 

२०७२ वैशाख २९ गते भूकम्प आइरहेको समयमा कक्षा कोठाबाट शिक्षक पहिला निक्लिएको र विद्यार्थी रणभुल्लमा परी कक्षा कोठाको ढोकामै कोचाकोच भई घाइते भएको खबर आएको थियो । यो प्रसङ्गले पनि स्कुलमा ‘भूकम्पीय ड्रिल’ को आवश्यकतालाई दर्शाउँछ । भूकम्पीय ड्रिलले वास्तविक भूकम्पको अनुभव गराई त्यस्तो बखत आफ्नो ज्यानको सुरक्षा गरी अरुका लागि पनि सुरक्षित व्यवहार गर्न अभिप्रेरित गर्दछ । यस्तो ‘भूकम्पीय ड्रिल’ २०७२ वैशाख १२, १८९० साल भदौ १२ र १९९० साल माघ २ गते गएका तीन शक्तिशाली भूकम्पको सम्झनामा वैशाख १२, भदौ १२ र माघ २ गतेका दिन प्रत्येक वर्ष गर्न सकिन्छ । यो कुरालाई राज्यले कानुनमै निर्दिष्ट गरेर लागू गर्नुपर्दछ । 

‘भूकम्प संग्र्रहालय’को निर्माण 

भूकम्पसँग सम्बन्धित सम्पूर्ण कुरा विद्यार्थी लगायत अरु सर्वसाधारणलाई बुझाउनका लागि भूकम्प सङ्ग्रहालयको आवश्यकता पर्छ । संंसारका ठुल्ठूला सहरहरूमा, खास गरेर विगतमा भूकम्पले ध्वस्त पारेका सहरमा यस्ता सङ्ग्रहालय बनाइएका छन् । 

विद्यार्थीलाई शैक्षिक भ्रमणका रूपमा (जसलाई पाठ्यक्रममै उल्लेख गरेको हुन्छ) भूकम्प संङ्ग्राहलयमा लगिन्छ र भूकम्पीय क्षतिलाई आफैँले महसुस गर्ने गरी अवलोकन गराइन्छ । भूकम्पको म्याग्निच्युड बढ्दै जाँदा भवनको कम्पन के कसरी बढ्दै जान्छ भन्ने कुरा महसुस गराउन त्यहाँ ‘सेकिङ टेबल’ पनि बनाइएको हुन्छ, जसले विद्यार्थीलाई भूकम्पीय कम्पनको व्यावहारिक ज्ञान दिन्छ र विद्यार्थी सोही अनुरूप तयार रहन सक्छ । 

कक्षा १ देखि ३ सम्म ‘मेरो सेरोफेरो’ विषयमा, कक्षा ४ मा ‘सामाजिक’ विषयमा, र कक्षा ६ देखि कक्षा ८ सम्म ‘सामाजिक अध्ययन’ विषयमा विपत् व्यवस्थापनको चर्चा गरेको देखिन्छ । कक्षा ५ मा यो विषय उल्लेख नै छैन ।

हामीले पनि काठमाडौँ, पोखरा, विराटनगरजस्ता ठूला सहरमा कम्तीमा एउटा भूकम्पीय सङ्ग्रहालय बनाउनुपर्छ, जसको नेतृत्व पालिकाले लिनु यथोचित देखिन्छ । त्यस्ता सङ्ग्राहलयमा भूकम्प किन र कसरी जान्छ, भूकम्प आउँदा के कसरी जमिन तथा घर हल्लिन्छ, क्षति कसरी हुन्छ र क्षति कसरी न्यूनीकरण गर्न सकिन्छ, भूकम्पको समयमा आफूलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने कुरा प्रयोगात्मक रूपमा विद्यार्थीले अवलोकन गर्न पाउने मौका दिनुपर्छ । यो कुरालाई पनि अनिवार्य रूपमा पाठ्यक्रममा शैक्षिक भ्रमणका रूपमा उल्लेख गर्नुपर्छ ।

तालिमप्राप्त शिक्षकको व्यवस्था 

अहिले स्कुलमा पढाइरहेका शिक्षकलाई वा पढाउन चाहने व्यक्तिलाई विपत् व्यवस्थापनसम्बन्धी तालिम (खास गरेर प्रयोगात्मक) अनिवार्य गरिएको छैन । त्यसैले विपत््का बेला उनीहरूको पनि जिउ–ज्यान खतरामा परेका समाचार सुन्नमा आइरहेका नै छन् । अतः शिक्षक सेवा आयोग उत्तीर्ण भएका शिक्षकलाई विपत् व्यवस्थापनसम्बन्धी विस्तृत प्रयोगात्मक तालिम (माथि उल्लिखित ‘भूकम्पीय ड्रिल’ सहित) दिएर उनीहरूको व्यावहारिक बुझाइ (आफ्नो ज्यान सुरक्षित राखेर विद्यार्थीलाई सहयोग गर्न सक्ने) मूल्याङ्कन गरेर मात्र नियुक्ति दिने व्यवस्था गर्नु यथोचित देखिन्छ । यसो गर्दा क्षति न्यूनीकरणमा ठूलो सहयोग पुग्छ ।  

विपत्पश्चातको राहत वितरण 

विपत्पश्चात्को उद्धार कार्य सकिनेबित्तिकै राहत वितरणले प्राथमिकता पाउँछ । स्कुले विद्यार्थी आफैँ राहत लिन जानुपर्ने स्थिति पनि आउँछ । तर स्कुलको पाठ्यक्रममा राहत वितरणका सम्बन्धमा स्पष्ट कुरा लेखिएको छैन ।

जाजरकोट भूकम्पपछि राहत वितरणमा ढिला–सुस्ती हुनुका एउटा कारण सर्वस्वीकार्य राहत वितरण प्रणालीको अभाव हो भन्ने कुरा सुनिएको हो । सरकारले पछि ‘एकद्वार प्रणाली’ लागू गरेको खबर त आयो तर ‘एकद्वार प्रणाली’ भनेको के हो भन्ने बारेमा सर्वसाधारण अनभिज्ञ देखिए । त्यसैले ‘एकद्वार प्रणाली’का बारेमा स्कुलमा पढाउनुपर्छ र विद्यार्थीले व्यावहारिक रूपमा यसलाई अवलम्बन गर्न सक्ने ज्ञान प्राप्त गर्नैपर्छ । नत्र राहत सामग्री हुँदाहुँदै पनि कैयौँको ज्यान जाने जोखिम बढ्छ ।

विद्यार्थी नै देशका भविष्य भएकाले विपत् व्यवस्थापनका क्षेत्रमा आवश्यक ज्ञान दिएर सक्षम बनाउनका निमित्त विद्यालय स्तरबाट महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने कुरा निर्विवाद छ । जबसम्म देशको शैक्षिक अवस्था गुणस्तरीय र मजबुत हुँदैन तबसम्म देश विकासको दिशा बदलिँदैन । तसर्थ, भावी पुस्तालाई विपत् व्यवस्थापनका निमित्त तयारी अवस्थामा राख्नका लागि र स्कुलमा प्राप्त गरेको ज्ञान आफ्नो घरको सबै परिवारलाई बुझाउन सक्ने बनाउनका लागि विद्यालयको भूमिका अहं छ । 

विपत् व्यवस्थापनको क्षेत्रमा जनचेतना फैलाउने पहिलो काम विद्यालयबाटै सुरुवात गर्ने सकिन्छ, गर्नुपर्छ । त्यसका लागि आवश्यक पर्ने भूकम्प प्रतिरोधक स्कुल भवन, पाठ्यक्रम, पाठ्यपुस्तक, तालिमप्राप्त शिक्षकको व्यवस्थाका लागि राज्यले पहलकदमी लिनुपर्छ, संसारको चलन पनि यही छ । त्यसैले अब हामी अपवादका रूपमा रहनु हँुदैन, रहन सकिँदैन । प्राकृतिक विपत््बाट आफ्नो जिउ–ज्यान जोगाउन सक्ने आधारभूत ज्ञान कक्षा ८ सम्ममा विद्यार्थीले प्राप्त गर्न सकेको खण्डमा मात्रै हाम्रो प्रयासले सार्थकता पाउनेछ ।

(लेखक नीलकण्ठ आवासीय माध्यमिक विद्यालयमा आधारभूत तहकी विज्ञान शिक्षिका हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जिता नेपाल
रञ्जिता नेपाल
लेखकबाट थप