मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

महासमिति बैठक फागुनमा सार्ने देउवाको प्रस्ताव

जाडो देखाउँदै सबै नेता सहमत
शुक्रबार, २२ मङ्सिर २०८०, १९ : ३२
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठक आगामी फागुनमा सार्ने प्रस्ताव अगाडि सारेका छन् । सभापति देउवाले आसन्न पुस १६–१९ को महासमिति बैठक फागुनमा सार्न चाहेका हुन् ।

मङ्सिर १३ मा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले महासमिति बैठक आगामी फागुनमा सार्दा उपयुक्त हुने प्रस्ताव गरेका थिए । ‘महासमिति बैठक सारौँ । मध्य पुसमा यति जाडो हुन्छ । पुसको जाडोमै महासमिति बैठक गर्न मरिहत्ते किन गर्ने ? एक दुई महिना सारौँ । अलिकति न्यानो हुन्छ, फागुनमा गरौँ,’ देउवाको भनाइ थियो । देशभरिका मान्छे काठमाडौँ बोलाएर चारपाँच दिन जाडोमा राख्न नहुने उनको तर्क थियो ।

महामन्त्री गगन थापाले सभापति देउवाको प्रस्तावमा तत्काल प्रतिवाद गरेका थिए । ‘पार्टीले निर्णय गरिसक्यो । हल बुक भइसक्यो । सबै तयारी भइसक्यो । यही मितिमा गर्नुपर्छ,’ थापाको भनाइ थियो ।

यद्यपि महासमिति सार्ने सभापति देउवाको प्रस्तावसँग पार्टीका अधिकांश नेता सहमत देखिए । मध्य पुसमा साह्रै जाडो हुने भन्दै नेताहरुले एकदुई महिना पर सार्दा आकाश नखस्ने तर्क गरे ।

महामन्त्री गगन थापाले भने आजसम्म बैठक सार्ने कुनै औपचारिक छलफल नभएको बबताए । उनले भने, ‘आजका दिनसम्म महासमिति बैठक सर्ने कुनै गुञ्जायस छैन । हल बुक भएको छ । महासमितिको तयारीका लागि हामी बैठक बसेका बस्यै छौँ । प्रतिवेदन लेखनका लागि हिजोमात्र बैठक बसेको थियो । बैठक सार्ने औपचारिक कुराकानी केही भएको छैन ।’

केही दिनमै बस्ने केन्द्रीय कार्यसम्पादनको बैठकमा महासमितिबारे थप छलफल हुने महामन्त्री थापा बताउँछन् । ‘राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता सम्बन्धी निर्णय गर्न केही दिनमै कार्यसम्पादन समिति बैठक बस्दैछ । महासमिति बैठकबारे त्यसमा थप छलफल होला,’ उनले भने ।

कांग्रेसले तीन पटक महासमिति बैठक सारिसकेको छ । असोज पहिलो साता बसेको बैठकले महासमिति बैठक असोज १३, १४ र १५ गतेका लागि तय गरेको थियो ।

कात्तिक १९ गते बसेको कांग्रेस पदाधिकारी बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण देखाउँदै मङ्सिर २९ देखि पुस २ सम्म हुनेगरी नयाँ मिति तय गरिएको थियो ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मङ्सिर २१ मा पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी महासमिति बैठक पुस १६–१९ मा सरेको बताएका थिए ।

महासमिति सदस्य चयनको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको महामन्त्री थापाले बताए । कांग्रेसले महासमिति बैठक ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र बुक गरेको छ । २०७८ मङ्सिरमा सम्पन्न १४ औँ महाधिवेशनमा कांग्रेसले नीतिमाथि कुनै छलफल नगरी पदाधिकारी र सदस्यको निर्वाचनमात्रै गरेको थियो । ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेस दुई वर्षसम्म नीतिविहीन छ ।

२०७९ मा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुँदा नीति तय गर्न फुर्सद नपाएको कांग्रेस पछिल्लो एक वर्षमा सत्ता राजनीतिमै मस्त देखिन्छ । नीति अधिवेशनलाई महासमिति बैठकमा रुपान्तरण गर्ने निर्णय गरे पनि कांग्रेसले आगामी नीति तय गर्न अलमल गरिरहेको छ ।

विधानले नीति महाधिवेशनको व्यवस्था नगरेको र सहभागी प्रतिनिधिको विषयमा जटिलता देखिएपछि कांग्रेसले महासमितिलाई नीति महाधिवेशनको विकल्पमा व्याख्या गरेको छ ।

कांग्रेसको विधानमा महाधिवेशन भएको वर्षमा बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । महासमितिमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल हुने कांग्रेसमा अभ्यास छ ।

आसन्न महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक मुद्दा समेटेर प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महामन्त्री थापाका अनुसार प्रतिवेदन लेखनको काम अन्तिम चरणमा छ । आगामी २०८२ सालमा कांग्रेसको महाधिवेशन गर्नेगरी आगामी महासमिति बैठकमा कार्यतालिका ल्याउने थापाको तयारी छ । ‘अब आउने बैठकमा २०८२ को महाधिवेशनको तालिका प्रस्तुत गर्छु, त्यहाँ छलफल हुन्छ,’ उनले भने ।

२५ निर्वाचन क्षेत्रमा महासमिति सदस्य चयन हुन बाँकी

अझै २५ निर्वाचन क्षेत्रमा कांग्रेसले महासमिति सदस्य छनोट गर्न बाँकी छ । महासमिति छनोट नगर्नेमा भोजपुर, ओखलढुंगा, दोलखा, रामेछाप, पर्वत, अर्घाखाँची गरी सात जिल्लाका सात क्षेत्र छन् ।

यस्तै मोरङको ३ र ५ नम्बर, सुनसरीको २, ३ र ४ नम्बर, सिन्धुलीको २ नम्बर, महोत्तरीको १ नम्बर, बाराको ३ नम्बर, पर्साको १ र ३ नम्बर, धादिङको १ नम्बर, काठमाडौँको ४, ५ र ६, दाङको १ र ३ नम्बर कञ्चनपुरको १ नम्बर क्षेत्रमा पनि महासमिति सदस्य चयन गर्न बाँकी छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई मङ्सिर २० सम्मका लागि डेडलाइन दिए पनि महासमिति सदस्य छनोट गर्न नसकेका हुन् । अहिलेसम्म १४० क्षेत्रमा महासमिति छनोटको काम सकिएको निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले बताए ।

कांग्रेसको विधान अनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यस पटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहने छन् ।

कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट चयन भएर भएर आउने व्यवस्था छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन्  ।

१६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ ।

कांग्रेसका ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन् । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् । कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन् । यी सबै गरी २५ भन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

०७८ मङ्सिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनमा २५ जिल्लामा मात्र महासमिति सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी जिल्लामा महाधिवेशन प्रतिनिधि मात्र चयन गरिएको थियो । कांग्रेसले उक्त जिल्लाहरुमा अहिले धमाधम महासमिति सदस्य चयन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप