शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

तीन करोड २६ लाख लागतको घण्टाघर अझै सञ्चालनमा आएन !

शनिबार, २३ मङ्सिर २०८०, १४ : ३३
शनिबार, २३ मङ्सिर २०८०

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाको मुटुमै अवस्थित छ घण्टाघर । बाहिरबाट हेर्दा यो चिटिक्क र मनमोहन देखिन्छ । जोकोहीलाई यसले आकर्षित गर्छ । घण्टाघरका चारैतर्फ घडी राखिएको छ । जसलाई पनि लाग्न सक्छ त्यो घडीले नगरवासीलाई सही समय बताउँछ । तर होइन, ती घडीका सुई अहिलेसम्म स्थिर छन्, केहिल्यै बज्दैनन् ।

सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले झन्डै दुई वर्षअघि निर्माण सम्पन्न गरेको टीकापुरस्थित घण्टाघर हालसम्म अलपत्र छ । कार्यालयले एक वर्षअघि नै टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिसकेको भए पनि नगरपालिकाले हालसम्म सञ्चालनमा ल्याउन नसकेको हो ।

नगरपालिकाको वडा नं. १ को ब्लक नं. १९ मा ३ करोड २६ लाख ४२ हजार रूपैयाँको लागतमा रोयल प्रशंसा जेभी निर्माण कम्पनीले २०७५ फागुन १९ गते घण्टाघर निर्माणका लागि सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने थियो । तर कोरोना सङ्क्रमणका कारण २०७८ मा मात्र निर्माण सम्पन्न भएको घण्टाघर सञ्चालन हुने अझै  निश्चित छैन । 

नगरपालिकाले सो घडी सञ्चालन गर्न दुई पटक टेन्डर आह्वान गरेको जनाएको छ । तर कसैले पनि टेन्डर नहालेपछि पुनः प्रक्रियाको तयारीमा रहेको बताएको छ ।

नगरप्रमुख रामलाल डंगौराले भने, ‘हस्तान्तरण भइसकेपछि हामी सञ्चालनको प्रक्रियामा छौँ । दुई पटक टेन्डर आह्वान गरिसकेका छौँ । कसैको पनि टेन्डर नपरेपछि पुनः प्रक्रिया छौँ ।’

रेस्टुरेन्ट मोडलमा निर्माण भएको घण्टाघरले टीकापुरको पहिचान, संस्कृति झल्काउने बताउँदै मेयर डंगौराले सकेसम्म चाँडै सञ्चालनमा ल्याउन तत्पर रहेको भनाइ छ ।

नगरपालिकाले गत साउनमा टेन्डर आह्वान गरेको थियो । तीन वर्षका लागि नगरपालिकाले मूल्य अभिवृद्धि करबाहेक न्यूनतम ७ लाख २० हजार रुपैयाँको ठेक्का आह्वान गरेको थियो ।

घण्टाघरलाई भ्यु टावरका रूपमा पनि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ । यहाँबाट टीकापुरको अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । २६ मिटर उचाइ रहेको यो घण्टाघरबाट टीकापुर बजार क्षेत्रको अवलोकन गर्न सकिनेछ । पहिलो तलामा रेस्टुरेन्ट सञ्चालन गर्न सकिन्छ भने घण्टाघरमा प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउन्टर निर्माण गरिएको छ । 

स्थानीयहरू भने घण्टाघरको उचाइ निकै कम भएकाले यहाँबाट केही घरबाहेक अन्य दृश्य देख्न नसकिने बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप