आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सङ्गीत–संवाद

‘लोक सङ्गीतमा कुनै बन्धन वा छेकथुन हुँदैन’

नेपालमा शास्त्रीय सङ्गीत र लोक सङ्गीत नै प्रमुख दुई धारका रूपमा छन् : सितारवादक प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी
मङ्गलबार, २६ मङ्सिर २०८०, १० : २३
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । श्री ३ वीरशमशेरले सामवेदको यज्ञ गर्ने भए । यसका लागि विद्वान् व्यक्ति को छ भनी खोज्दा पं. देवचन्द्र रेग्मी (१९२६–१९८४) को नाम वीरशमशेरको कानमा पुग्यो । देवचन्द्रले बनारसमा प्रसिद्ध सितार तथा विनवादक पं. पन्नालाल नागरसँग १८ वर्षसम्म सङ्गीतको शिक्षा लिएका थिए । आफूले भनेजस्तो व्यक्ति (देवचन्द्र) पाएपछि काशीबाट झिकाएर वीरशमशेरले यज्ञ सम्पन्न गरे । 

लक्ष्मीनारायण गर्गद्वारा सम्पादित पुस्तक ‘हमारे सङ्गीत रत्न’मा देवचन्द्रको संक्षिप्त जीवनी समेटिएको छ । यस पुस्तक अनुसार देवचन्द्रले सितारमा भैरवी बजाएर नेपालका सुप्रसिद्ध कविराज पं. गोविन्ददास महतको ज्वरो निको पारेका थिए । देवचन्द्रसँग सितार सिक्दै गरेका कविराज एकपटक ज्वरोले थलिए । निवृत्तिका लागि उनले आयुर्वेदिक उपचार गराए, तर औषधिले कुनै लाभ भएन । उनले पं. देवचन्द्रसँग प्रार्थना गरे — मलाई सितारमा भैरवी सुनाउनुस् । सन् १९५७ मा प्रकाशित उपरोक्त पुस्तकमा उल्लेख छ, ‘देवचन्द्रले उनको इच्छा पूरा गरे । यस्तो चमत्कार भयो कि भैरवी सुनेपछि कविराजको ज्वरो उत्रियो । यस चमत्कारलाई देख्ने दुई–चारजना अझै पनि छन् ।’ 

उनै देवचन्द्रदेखि आज (चार पुस्ता)सम्म नेपालमा सितारवादक घराना चलिरहेको छ । देवचन्द्रका पनाति सितारवादक प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीले यतिखेर त्रिभुवन विश्वविद्यालयको ललितकला केन्द्रीय विभाग सम्हालेका छन् । भर्खरै उनको नयाँ पुस्तक ‘नेपाली सङ्गीत दरबार ः आदिकालदेखि आधुनिककालसम्म’ बजारमा आएको छ । पङ्क्तिकारसँगको दसैँअघि भएको भेटमा उनले आफ्नो व्यावसायिक यात्रा, रेग्मी घरानासँगै समग्र देशकै साङ्गीतिक अवस्थाको चर्चा गरेका थिए ।

कुराकानीको सुरुमै उनले आफ्ना जिजुबुवा (देवचन्द्र)ले सितार बजाएर ज्वरो निको पारेको प्रसङ्ग सुनाएपछि मैले सोधेको थिएँ, यसमा कुनै विज्ञान छ कि ?

लोक सङ्गीतमा कुनै बन्धन वा छेकथुन हुँदैन । त्यो स्वतःस्फूर्त रूपमा जन्मन्छ र हुर्कन्छ, समाजले त्यसलाई आत्मसात गर्छ । शास्त्रमा आधारित भएर गाइने बजाइने शास्त्रीय सङ्गीत हो । मैले व्यक्तिगत रूपमा भन्दा सङ्गीत भन्नु नै शास्त्रीय सङ्गीत हो ।

‘म आफैँले सितार बजाएर कसैलाई निको बनाएको घटना त  छैन, सङ्गीतका स्वरहरूले दिमागको कुन भागमा कसरी असर गर्छन् भन्ने सम्बन्धमा हामीले अध्ययन गर्दै थियौँ डाक्टरहरूको टिमसँग मिलेर । हामीले विभिन्न स्वरमा म्युजिक रेकर्ड गरेर दिन्थ्यौँ । उहाँहरूले इसिजी (इलेक्ट्रोकार्डिओग्र्राम)का माध्यमबाट बिरामीको परीक्षण गर्नुहुन्थ्यो,’ प्रा. डा. रेग्मी भन्छन्, ‘कुन स्वरले बिरामीको कुन भागमा कति तरङ्ग सिर्जना गर्यो भन्नेबारे उहाँहरूले हामीलाई जानकारी गराइरहनुभएको थियो, तर कोरोनापछि हाम्रो प्रोजेक्ट अगाडि बढेन ।’ 

उनका अनुसार, पञ्चतत्त्वबाट बनेको मानव शरीर र इन्द्रीयहरूलाई सङ्गीतका स्वरहरूले असर गर्छन् । ‘त्यसैले त रागहरू निश्चित समयमा गाइन्छ बजाइन्छ । यो भनेको त्यो स्वरले त्यो समयमा विशेष प्रभाव गर्छ । कुण्डलिनी जागरणमा सङ्गीतको भूमिका रहन्छ भन्नेतर्फ पनि रिसर्च भएका छन्,’ उनी सङ्गीत र मानव शरीरको सम्बन्ध देखाउँछन्, ‘शरीरका षट्चक्रलाई सङ्गीतका स्वरहरूले ऊर्जा दिन्छन् र चक्रहरू माथिमाथि सर्न थाल्छन् । अहिले म्युजिक थेरापीको ट्रेन्ड चलेको छ । दूधको उत्पादनदेखि बालीनाली वृद्धिका लागि यसको प्रयोग गरिएको छ । विकसित राष्ट्रहरूमा अपरेसन गर्दा सङ्गीत सुनाइएको पनि पाइन्छ ।’ 

dhrubesh chandra regmi (2)

सङ्गीत र मानव जीवनको सम्बन्ध प्रस्ट्याउन उनी पद्मपुराणको एउटा श्लोक सम्झन्छन्–

‘नाहं वसामि वैकुंठे योगिनां हृदये न च ।

मद्भक्ता यत्र गायन्ति तत्र तिष्ठामि नारद ।।

अर्थात् हे नारद ! म न बैकुण्ठमा बस्छु, न योगीहरूको हृदयमा बस्छु । म उहीँ रहन्छु, जहाँ मेरा भक्तले भजन–कीर्तन गर्छन् ।

‘यसरी सङ्गीतलाई भगवत् प्राप्तिको एउटा अचुक साधन मानिएको छ । किनभने यो ईश्वरको पनि प्यारो हो,’ उनी भन्छन्, ‘सङ्गीतको उत्पत्ति नै शिव, ब्रह्मा, सरस्वतीहरूबाट भएको छ । त्यसैले बाजाहरू कुनै न कुनै देवीदेवतासँग सम्बन्धित छन् । गन्दर्भ भन्ने देवताको एउटा वर्ग छ, जसको पेसा नै गाउने–बजाउने–नाच्ने हो । ओम् प्रणव ध्वनि हो, सृष्टिको पहिलो शब्द नै ओम हो । यही ओम नै सांगीतिक ध्वनि भयो । जसलाई हामी डिभाइन साउन्ड अर्थात् नाद ब्रह्म भन्छौँ ।’

घरानाको तराना

प्रा. डा. रेग्मीको काठमाडौँस्थित घर कता–कता सङ्गीत सङ्ग्रहालयजस्तै छ । वीरशमशेरको पालाको एक सय २० वर्ष पुरानो सितार देखाउँदै प्रा.डा. रेग्मीले भने, ‘यसलाई मेरो जिजु हजुरबुवा पं. देवचन्द्र रेग्मीले बजाउनुहुन्थ्यो ।’ 

देवचन्द्रका जेठा छोरा कृष्णचन्द्र र कान्छा पूर्णचन्द्रले पनि बाबुकै बाटो समाए । कृष्णचन्द्रका चेलाहरू हुन् — एकराजशमशेर (वीरशमशेरका नाति), वसन्तशमशेर राणा, गणेश भण्डारी, लक्ष्मीनारायण, आशागोपाल, सतीशचन्द्र आदि । पिताले बसाएको जगलाई थप उठाएको भनी सितारवादक कृष्णचन्द्र रेग्मीलाई २०१९ सालमा इन्द्रराज्य लक्ष्मी प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो । 

कृष्णचन्द्रका छोरा सतीशचन्द्रले झन्डै चार दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरी सङ्गीतको विकासका लागि योगदान पु¥याए । पिता र काकाबाट सितारवादन सिकेका सतीशचन्द्र सुरुमा नेपाल सरकारका अधिकृत थिए । उनलाई राजा महेन्द्रले शिक्षा मन्त्रालय हुँदै त्रिविमा पठाए, सितारवादककै रूपमा । यसरी रेग्मी घरानाको तराना अघि बढ्दै आयो । यही पुस्तेनी सितार घरानामा ध्रुवेशचन्द्र जन्मेका हुन् । 

बाल्यकालमा ध्रुवेशचन्द्रलाई सितारवादनमा त्यति रुचि थिएन । उनका बुवा (सतीशचन्द्र) कहिलेकाहीँ राजदूत लगायत उच्च पदस्थ व्यक्तिकहाँ सितार बजाउन जाँदा जेठा छोरा शिवेशचन्द्रलाई लिएर जान्थे । त्यहाँबाट आएको केही रुपैयाँ रिवार्ड (पुरस्कार)मध्ये केही पैसा शिवेशचन्द्रले पनि पाउँथे । 

‘मैले बुवासँग पैसा माग्थेँ । बुवाले भन्नुहुन्थ्यो- 'दाइले सितार बजाको छ, त्यही भएर उसले पायो । तिमीले बजाएका छैनौँ, म दिन्नँ,’ ध्रुवेशचन्द्र भन्छन्, ‘बुवाबाट पैसा पाउनका लागि मैले पनि सितार बजाउन थालेँ । वास्तवमा नक्सालस्थित हाम्रो घर एउटा आश्रमजस्तो थियो । बिहानदेखि साँझसम्म सङ्गीतको ध्वनि गुञ्जिरहन्थ्यो । घरमा हजुरबुवा र बुवाले सितारको अभ्यास गरिरहनुहुन्थ्यो । विद्यार्थीहरू सिक्न आउँथे ।’ 

dhrubesh chandra regmi (3)

सङ्गीत घरानामा जन्मे पनि ध्रुवेशचन्द्रले २०४२ सालमा कानुनमा बीएल गरी १० वर्षसम्म अधिवक्ताको अभ्यास गरे । ‘मेरो जमानामा म्युजिकलाई औपचारिक शिक्षाको रूपमा कसैले स्विकार्दैनथ्यो,’ उनी भन्छन्, ‘म्युजिक भनेको केही काम नपाएर कतै नबिकेको मान्छेले गर्ने हो भन्ने खालको बुझाइ समाजमा थियो ।’ 

बीएल गर्नुअघि नै घरमै पिताबाट सङ्गीतको शिक्षा लिई प्राइभेट परीक्षा दिँदै आएका उनले बीम्युज (सङ्गीत प्रभाकर) गरेका थिए, प्रयाग सङ्गीत समिति इलाहाबादबाट । पुख्र्यौली गर्विलो इतिहासको गुरुत्वले तानेर उनलाई अन्ततः सङ्गीत क्षेत्रमा ल्यायो । कानुनी पेसा छाडेर उनले दिल्ली युनिभर्सिटीबाट सन् १९८९ मा फाइन आर्टस्मा मास्टर्स गरे । इन्डियन म्युजिक (हिन्दुस्थानी सङ्गीत)मा मास्टर्स गर्दा उनले आधा प्राक्टिकल र आधा थ्यौरी पढ्नुपथ्र्यो । प्राक्टिकलमा उनको प्रमुख विषय थियो, सितार । मास्टर्स गरी नेपाल फर्केपछि सन् १९९० देखि उनले पद्मकन्या क्याम्पसमा सङ्गीत पढाउन थालेका हुन् । सन् १९९८ मा पीएचडीका लागि उनी दिल्ली युनिभर्सिटी पुगे । त्यतिबेलै सङ्गीत अलङ्कार अर्थात् सितारमा एमए बराबरको कोर्स पनि गरे । 

‘राणाकालीन नेपालको शास्त्रीय सङ्गीतको विशेष सन्दर्भमा नेपाली सङ्गीतको इतिहास’ विषयमा विद्यावारिधि गरेका ध्रुवेशचन्द्रले सन् २०१३ मा ‘फुल ब्राइट फेलोसिप’ पाएर अमेरिका गए, ‘म्युजिक फर पिस एन्ड हार्मोनी’का बारेमा अनुसन्धान गर्न । 

पुख्र्यौली गर्विलो इतिहासको गुरुत्वले तानेर उनलाई अन्ततः सङ्गीत क्षेत्रमा ल्यायो । कानुनी पेसा छाडेर उनले दिल्ली युनिभर्सिटीबाट सन् १९८९ मा फाइन आर्टस्मा मास्टर्स गरे ।

यहीबिचमा उनले सुकर्म ब्यान्डमार्फत सितारको धुन संंसारलाई सुनाउँदै आएका छन् । सन् १९९८ मा खोलिएको यस ब्यान्डले सन् २००१ देखि हरेक वर्ष अन्तर्राष्ट्रिय टुर गर्दै आएको थियो । कोरोनाका बेला भने उनीहरूको टुरमा रोकावट आयो । यसपछि भर्खरै गएको जुन–जुलाईमा यो ब्यान्ड युरोपमा थियो ।

‘हामीले क्लासिकल, सेमी क्लासिकल, लाइट सङ, फ्युजन, फोल्क ट्युनलाई मर्ज गरेर सितार वादन प्रस्तुत गर्छौं,’ प्रा.डा. रेग्मी भन्छन्, ‘क्लासिकल र फोल्क ट्युनको अन्तरङ्ग र एकअर्कासँग अन्योन्याश्रित सम्बन्ध छ । यी दुईलाई हामीलाई म्युजिकल्ली फ्युजन गर्छौं । पाँच वा १० मिनेटको क्लासिकल पिसहरू पनि बजाउँछौँ ।’ 

उनका अनुसार, सितार वादन राग–रागिनी पद्धतिमा आधारित छ । रञ्जयति इति राग, जसमा रञ्जना गर्न सक्ने क्षमता हुन्छ, त्यही राग हो । सितार वादनमा सामान्यतः आलापबाट सुरु भएर विलम्बित गत बजाइन्छ, जसलाई गायनमा बडाख्याल भनिन्छ । ‘त्यसपछि रजाखानी गत भनेर मिडियम फास्ट कम्पोजिसन बजाइन्छ । यसपछि स्पिड बढाएर झाला बजाउँछौँ । यही नै सितारको क्लाइमेक्स हो,’ उनी भन्छन्, ‘क्लाइमेक्स भनेको मैले आफूले सक्ने स्पिडमा जान्छु । स्पिडसँगै वादनका भेरियसन पनि आउँछन् ।’

शास्त्रीय सङ्गीत प्रस्तुत हुने किरातेश्वर सङ्गीत आश्रम र यलमाया क्लासिकमा जाँदा उनले शुद्ध शास्त्रीय राग प्रस्तुत गर्छन्, करिब एक घन्टा लगाएर । त्यसपछि समय भयो भने सानो एउटा सेमी–क्लासिकल पिस बजाउँछन् । ‘यी ठाउँमा शुद्ध शास्त्रीय प्रस्तुति सुन्नकै लागि मानिस आउँछन्,’ उनी भन्छन्, ‘कतिपय ठाउँमा शास्त्रीय प्रस्तुति सुन्न धैर्य हुँदैन, छटपटाहट हुन्छ, त्यस्तो ठाउँमा साना–साना पिस प्रस्तुत गर्छु, जो रागमै आधारित हुन्छन् ।’

सितारको प्रस्तुतिमा तबला, सारंगी, बाँसुरीको साथ रहन्छ । सुरुवातमा तबलावादक अतुल गौतम र मनोज सिंह यसको सदस्य थिए । अतुलको निधनपछि प्रमोद उपाध्याय जोडिए । मनोज अमेरिका गएपछि सारंगीवादक श्याम नेपाली भित्रिए । श्याम र प्रमोद पनि अमेरिका छिरेपछि मनोज गौतम जोडिएका थिए, उनी पनि क्यानडा गए । यसरी सुकर्म ब्यान्ड एक खालको तालिम केन्द्रजस्तो बन्न पुग्यो, यहाँबाट उत्पादितले विदेशमा अवसर खोज्न थाले । सुकर्ममा अहिले प्रा.डा. रेग्मी सितार र जगन्नाथ धौगडाले तबला बजाउँछन् भने उमेश पण्डित बाँसुरीमा छन् । 

सितार

सितार तारबाजा हो । सितार उत्पत्तिको इतिहास वीणासम्म पुग्छ । प्रा.डा. रेग्मीका अनुसार, सितार प्राचीन वीणा वाद्यको आधुनिक परिष्कृत रूप हो । हाम्रो शास्त्र अनुसार पहिले सबै किसिमका तारबाजालाई वीणा भनिन्थ्यो । 

dhrubesh chandra regmi (1)

‘आधुनिक इतिहासले के भन्छ भने, इरानबाट कुनै विद्वान् सङ्गीतकार भारत वर्षमा आए । उनले प्राचीन तीनतन्त्री वीणाबाट प्रभावित भई नयाँ बाजाको आविष्कार गरे र त्यसलाई सेहतार भन्ने नाम दिए । पर्सियन भाषाको सेह शब्दले तीनलाई जनाउँछ अर्थात् तीनतारे बाजा । सेहतार नै अपभ्रंश हुँदै सितार हुन पुग्यो,’ प्रा. डा. रेग्मी भन्छन्, ‘यस्तो भनाइ रहे पनि नेपालको धर्म–संस्कृतिका आधारमा व्याख्या गर्नुपर्दा सितार कसैले आविष्कार गरेको नभई प्राचीन कालदेखि चल्दै आएको बाजा हो । यसमा मोडिफाई भने विभिन्न समयमा हुँदै आएको छ ।’

सन् १९५८ मा भगवतशरण शर्मा ‘सङ्गीतालंकार’ले लेखेको र लक्ष्मीनारायण गर्गले सम्पादन गरेको पुस्तक ‘सितार–मालिका’ अनुसार, सितारको जन्म हुनुपूर्व तन्त्री (तार) वाद्यहरूमा वीणा र गायनमा ध्रुपद शैलीको प्रधानता थियो । ‘गुप्तकालसम्म अनेक वीणाका प्रचार हुन्थ्यो । समय–समयमा वीणाहरूमा परिवर्तन हुँदै आए । झन्डै ६० प्रकारका वीणाको नाम आज पनि ग्रन्थहरूमा पाइन्छन् । यसमा तीन तार भएको त्रितन्त्री र सय तार भएको शततन्त्री वीणाको पनि उल्लेख पाइन्छ,’ भगवतशरण शर्मा ‘सङ्गीतालंकार’ले लेखेका छन्, ‘सम्भव छ, कुनै मुसलमान कलाकारले त्रितन्त्रीको फारसी नाम सहतन्तरी या सहतार राखे । सात तार मिलाएपछि यसलाई सतार या सितारी नामले पुकार्न थाले । जेहोस्, वर्तमान सितार भारतीय वीणाको रूपान्तरण हो ।’

सङ्गीत क्षेत्रको विकासका लागि त्रिभुवन विश्वविद्यालयका डिन कार्यालयमा कम्तीमा एकजना सहायक डिन सङ्गीत अथवा ललितकला क्षेत्रको हुनुपर्छ । त्रिविमा शास्त्रीय संंगीतको संकाय नै फरक हुनुपर्छ । जसरी मानविकी संकाय भन्ने छ, त्यसरी नै ललितकला अध्ययन संंकाय भनेर छुट्टै संंकाय हुनुपर्छ ।

नेपालमा सङ्गीत

आफ्नो औपचारिक शिक्षालाई पनि बढाउँदै ध्रुवेशचन्द्रले पद्मकन्या क्याम्पसमा ३२ वर्ष पढाए — २०४६ देखि २०७८ सम्म । पछिल्लो एक वर्षदेखि उनी ललित कला केन्द्रीय विभागको प्रमुख छन् । 

मास्टर्स, एमफिल र पीएचडी प्रोग्राम रहेको यस विभागमा उनले फाइन आर्टअन्तर्गत म्युजिक, डान्स, चित्रकला, मूर्तिकला, ग्राफिक डिजाइन, प्रिन्ट मेकिङ लगायत विधा हेर्नुपर्छ । अर्थात् यी सबैको जिम्मेवारी उनलाई छ । 

नेपालमा सन् २०१७ देखि ललितकला विषयको एमफिल तथा पीएचडी प्रोग्राम सुरु भएको हो । सुरुदेखि नै प्रा.डा. रेग्मीले एमफिल तथा पीएचडीहरूलाई पढाउन थालेका थिए । यहाँ प्राक्टिकल हुँदैन, थ्यौरिटिकल विषयमा उनले ‘रिसर्च मेथोडोलोजी’, ‘एकेडेमिक एन्ड रिसर्च राइटिङ’, ‘ट्रेन्डस् अफ म्युजिक अफ् नेपाल’, ‘कन्टेम्पोररी म्युजिक प्राक्टिसेज इन् नेपाल’ आदि विषय पढाएका थिए । पछिल्लो एक वर्षयता अर्थात् प्रमुख भइसकेपछि भने उनले एक–दुई विषय मात्र पढाउने गरेका छन् । अहिले उनले ‘रिसर्च एप्लिकेसन इन् म्युजिक’ विषय पढाउँछन् । यसअघि उनले ‘फिलोसफिकल फाउन्डेसन अफ् रिसर्च’ विषय पढाएका थिए । 

प्रा.डा. रेग्मीका अनुसार अहिले मास्टरमा सङ्गीत विधा पढ्ने ५० जनाजति र चित्रकला–मूर्तिकला पढ्ने २८ जनाजति छन् । यस्तै, ललितकलाका सबै विधामा २० जनाले पीएचडी र २४ जनाले एमफिल गर्दै छन् । सङ्गीत विधातर्फ भने ६ जनाले पीएचडी र १६ जनाले एमफिल गर्दै छन् । 

‘सितारमै पीएचडी गर्नेहरू र गरिरहेकाहरू पनि छन् । यसमा वादनभन्दा पनि विभिन्न आयामबाट सितारको अध्ययन–अनुसन्धान हुन्छ,’ उनी भन्छन्, ‘हामीकहाँ सितार वादनमै पीएचडी गर्ने आँट भने कसैले गरेका छैनन् ।’

उनका अनुसार, आज नेपालमा शास्त्रीय सङ्गीत र लोक सङ्गीत नै प्रमुख दुई धारका रूपमा छन् । यी दुई धारबाट अरु सबै धार निस्किन्छन् — गजल, सिने, आधुनिक आदि । ‘यी सबैमा शास्त्रीय र लोककै प्रभाव हुन्छन् । मानिसले सजिलै ग्रहण गर्न सक्ने भएकाले सुगम सङ्गीत बढी प्रचलित छ । यो पनि शास्त्रीय र लोक सङ्गीतकै उपज हो,’ उनी भन्छन्, ‘लोक सङ्गीतमा कुनै बन्धन वा छेकथुन हुँदैन । त्यो स्वतःस्फूर्त रूपमा जन्मन्छ र हुर्कन्छ, समाजले त्यसलाई आत्मसात गर्छ । शास्त्रमा आधारित भएर गाइने बजाइने शास्त्रीय सङ्गीत हो । मैले व्यक्तिगत रूपमा भन्दा सङ्गीत भन्नु नै शास्त्रीय सङ्गीत हो । शास्त्रीय सङ्गीत प्राचीन ग्रन्थबाट आइरहेको छ ।’

उनका अनुसार, पहिलेजस्तो सङ्गीतमा साधना गर्ने विद्यार्थी अहिले कम छन् । अहिले थोरै सिकेरै चाँडै नाम कमाउन चाहन्छन् । ‘आफ्नो सिर्जना युट्युबमा ट्रेन्डिङमा पार्नेमै मान्छेको जोड देखिन्छ,’ उनी भन्छन्, ‘तथापि पहिलेको तुलनामा हामीकहाँ शास्त्रीय सङ्गीतको अवस्था धेरै राम्रो भएको छ । यसमा साधना गर्नेहरूलाई भने सरकारले चिनेन, हेरेन । अर्थात् सरकारले शास्त्रीय सङ्गीत विधालाई एउटा महत्त्वपूर्ण विधाका रूपमा लिएन ।’

नेपालमा सङ्गीत विषयको अध्ययन–अध्यापन २०१७ सालदेखि सुरु भएको हो । ६३ वर्षमा पनि त्रिवि, पद्मकन्या, रत्नराज्य, ललितकला क्याम्पस र सिर्जना कलेजबाहेक सङ्गीत पढाउने संस्था छैनन् । ‘अनि सङ्गीतको विकास कसरी हुन्छ ?’ प्रा. डा. रेग्मी प्रश्न गर्छन्, ‘मानिसले औपचारिक शिक्षा लिन पायो भने पो सङ्गीत क्षेत्र मजबुत बन्छ । सिक्ने मान्छेले अवसर पाउँछन् । यो सरकारले सङ्गीतको महत्त्व नै बुझेन ।’

उनका अनुसार, सङ्गीत क्षेत्रको विकासका लागि त्रिभुवन विश्वविद्यालयका डिन कार्यालयमा कम्तीमा एकजना सहायक डिन सङ्गीत अथवा ललितकला क्षेत्रको हुनुपर्छ । अझ महत्त्वपूर्ण कुरा त त्रिविमा शास्त्रीय संंगीतको संकाय नै फरक हुनुपर्छ । ‘जसरी मानविकी संकाय भन्ने छ, त्यसरी नै ललितकला अध्ययन संंकाय भनेर छुट्टै संंकाय हुनुपर्छ,’ उनी भन्छन्, ‘डिपार्टमेन्ट अफ् पर्फर्मेन्स आर्ट भनेर राखे पनि हामीले इन्डिपेन्डेन्ट भएर काम गर्न सक्छौँ ।’ 

संंगीत नाट्य प्रतिष्ठानमा शास्त्रीय सङ्गीतको विधा छुट्टै गरेर शास्त्रीय सङ्गीतको ज्ञाता नै त्यहाँ प्राज्ञका रूपमा नियुक्ति गरिनुपर्ने उनको माग छ । ‘एकचोटि मात्र सङ्गीतप्रवीण नरराज ढकालज्यूलाई प्राज्ञका रूपमा नियुक्त गरियो,’ उनी भन्छन्, ‘शास्त्रीय सङ्गीतलाई त्यहाँ परम्परागत सङ्गीत विभागअन्तर्गत राखिएको छ । हाम्रो माग हो, सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान अन्तर्गत ‘शास्त्रीय सङ्गीत विभाग’ भनेर छुट्टै खोलिनुपर्छ । यसलाई अरु विभाग अन्तर्गत राख्ने होइन । त्यसमा शास्त्रीय सङ्गीततज्ञलाई प्राज्ञ बनाइनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप