मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी

समाचार सारांश
- संघीय संसद सचिवालयले संघीय निजामती सेवा विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी गरेको छ।
- विपक्षी दलहरूले बैठक चल्न नदिने अडान लिएका छन्, जसका कारण विधेयक पेश हुने वा नहुने अनिश्चित छ।
- विधेयकमा अवकाश उमेर ६० वर्ष पुर्याउने र कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्थामा विवाद रहेको छ।
काठमाडौँ । संघीय संसद् सचिवालयले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मंगलबारको प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ ।
जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो । सभा नचलेपछि पछि विधेयक पेस गर्ने कार्यसूची संघीय संसद् सचिवालयले परिवर्तन गरेको थियो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतिले पारित गरेको विधेयक मंगलबारको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची तय भइसकेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
‘समितिबाट सर्वसम्मतिले पारित भएको निजामती कर्मचारी सम्बन्धी विधेयक मंगलबारको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ । विपक्षी दलहरूले सदन चल्न नदिने बताइरहेका छन् । चल्छ कि चल्दैन थाहा छैन । चलेमा पेस हुन्छ,’ सभापति खतिवडाले रातोपाटीसँग भने ।
विपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट मिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् ।
विधेयकमा अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको थियो । यी दुई विषयमा विवाद रहँदै आएको थियो ।
अहिले पनि निजामती कर्मचारी संगठनहरूले यी प्रावधान हटाउन माग गर्दै आएका छन् । मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूले हुल बाँधेरै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर सच्याउन माग गरेका थिए ।
तर, खतिवडाले भने समितिले निर्णय गरिसकेकाले सच्याउन नसकिने बताए । ‘समितिले निर्णय गरिसकेपछि सच्चिने कुरा हुँदैन,’ उनले भने । तपाईंले समितिको निर्णयमा हस्ताक्षर गर्नु भएको छैन भन्ने कुरा आएको छ नि ? भन्ने रातोपाटीको प्रश्नमा सभापति खतिवडाले भने, ‘समितिको निर्णय सभापतिले हस्ताक्षर नगरेर रोकिने विषय होइन । त्यसैले निर्णय भइसकेपछि त्यसैदिन निर्णयमा हस्ताक्षर गरिसके ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
-
निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय
-
झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य
-
‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
-
निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु
-
अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या