सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

मौद्रिक नीतिपछि अर्थमन्त्रीमा बढ्यो ‘आत्मविश्वास’

बुधबार, २७ मङ्सिर २०८०, २१ : १९
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । गत साताको शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गरेपछि अर्थमन्त्रीको ‘आत्मविश्वास’ बढेको देखियो । केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै लचिलो नीति लिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतको आत्मविश्वास बढेको हो ।

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा अर्थमन्त्री डा. महतले पटक–पटक अर्थतन्त्रमा सुधारको सङ्केत आएको बताए । उनले मौद्रिक नीतिबाट ब्याजदर घट्नु अर्थतन्त्र सुधारको बलियो आधार भएको बताए । यस क्रममा सेयर बजारमा आएको उत्साहले समेत अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिएको उनको भनाई छ ।

उनले लामो समयको प्रयासपछि अर्थतन्त्रमा सुधार देखिन थालेको जिकिर गरे । ‘बैंकको ब्याजदर घट्नु र राजस्व सङ्कलनमा सुधार देखिनु अर्थतन्त्रमा सकारात्मक सङ्केतको लक्षण हो,’ उनले भने, ‘यसबाहेक मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा समेत सुधार देखिएको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्क बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनेको छ ।’

‘हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्त्वपूर्ण परिवर्तन भएको छ,’ डा. महतले भने, ‘सार्वजनिक संस्थान सुधारका लागि गृहकार्य भइरहेको छ । निजीकरण समितिलाई क्रियाशील बनाई काम अगाडि बढाइएको छ ।’ आज आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत भएको शैली देख्दा अर्थमन्त्री डा. महतको आत्मविश्वास मौद्रिक नीतिको समीक्षापछि बढेको स्पष्ट रुपमा देखिन्छ ।

नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले लामो समयदेखि आपसी भिडन्तमा थिए । अघिल्ला अर्थमन्त्री जनार्दन शर्मा र केन्द्रीय बैङ्कबिच सुरु भएको संस्थागत भिडन्त विष्णु पौडेलको पालामा मत्थर भएको थियो । जुन, पछि डा. महतले अर्थ मन्त्रालयको बागडोर सम्हालेपछि फेरी सुरु भएको थियो । यसै सिलसिलामा मौद्रिक नीतिको कडाइ गर्दै ब्याजदरमा समेत कडाइ गरेको थियो । अर्थ मन्त्रालयले केन्द्रीय बैंकविरुद्ध र केन्द्रीय बैंकले अर्थ मन्त्रालयको विरोधमा सार्वजनिक मञ्चमा नै भाषणबाजी गर्दै आइरहेका थिए ।

अब भने यो दुई संस्थाबीचको भिडन्त साम्य हुने देखिएको छ । आजको पत्रकार सम्मेलनमा समेत अर्थमन्त्रीले त्यसको सङ्केत दिए । उनले ब्याजदर सस्तो बनेको मौका छोपेर जथाभावी ऋण लिँदा अहिलेको समस्या आएको बताए । तर, यसमा ऋणी र ऋणदाताको नै कमजोरी भए पनि त्यसमा अड्किन नहुने उनको भनाई छ । यस्तै, नियामक निकायले समेत गरेको कमजोरीका कारण आजको अर्थतन्त्र यो स्थितिमा आए पनि अब त्यसमै अड्किन नहुने डा. महतको भनाई छ ।

यस्तो छ आर्थिक अवस्था

यस अवधिमा पुँजीगत खर्च तर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसै गरी भन्सार महसुलतर्फ करिब १३ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत वृद्धिदर कायम हुँदा आयकरतर्फ करिब १२ प्रतिशतको वृद्धि देखिएको मन्त्रालयले जनाएको छ । समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको छ ।

वित्तीय क्षेत्रतर्फ मौद्रिक नीतिमार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम भएको छ । बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप सङ्कलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कायम भएको छ । जसबाट ब्याजदर क्रमशः घट्दै गएको छ । हाल अन्तर बैंक दर २.५ प्रतिशतको हाराहारीमा छ ।

२०७९ चैत्र महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर १०.४८ प्रतिशत रहेको २०८० असोज मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.९४ प्रतिशत रहेको छ । २०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६८.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा १३० अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप तर्फ २०७९/८० को पहिलो चार महिनामा ४६.७४ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष सोही अवधिमा २४४ अर्ब रुपैयाँ पुगेको छ । मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्बित हुँदैछ । घरजग्गा र शेयर कारोबार बढ्न सुरु भएको छ । हालै शेयर बजारमा आएको उत्साहले सकारात्मक सङ्केत गरेको छ ।

त्यसै गरी २०८० चैतसम्म समस्यामा परेका ऋणीहरूलाई कर्जाको पुनर्संरचना गर्ने अवधि दिइएको छ । साथै हाल घट्दो ब्याजदरले विविध कारणले बैंक ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिनेछ । सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको छ ।

अर्थतन्त्रको बाह्य क्षेत्रका परिसूचकहरू अनुकूल छन् । २०८० असोज मसान्तसम्म चालु खाता ५९ अर्ब रुपैयाँले बचतमा रहेको, ९९ अर्ब रुपैयाँले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति रहेको छ । विप्रेषणको आप्रवाह २०८० असोजसम्ममा ३० प्रतिशतले बढेकोले बाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको छ ।

चालु आर्थिक वर्षमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि भई २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको छ । जुन, अहिले सम्मकै उच्च हो । चालु आर्थिक वर्षमा करिब १०० मेगावाट जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने क्रममा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप