बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

न्युजिल्यान्डका माइक हेसन पाकिस्तानी क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षक

बुधबार, ३१ वैशाख २०८२, १० : ४०
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले न्युजिल्यान्डका माइक हेसनलाई आफ्नो पुरुष राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । बंगलादेशविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअघि पीसीबीले ५० वर्षीय हेसनलाई प्रमुख प्रशिक्षक बनाएको हो । 

पाकिस्तानले निकट भविष्यमा घरेलु मैदानमा बंगलादेशसँग पाँच खेलको टी–२० शृंखला खेल्दैछ । उक्त शृंखला मे २५ तारिखदेखि सुरु हुनेछ । हेसन प्रभावशाली प्रशिक्षक हुन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । 

हेसन कुनै समय आईपीएल टोली रोयल च्यालेन्जर्स बेंगलुरुका प्रमुख प्रशिक्षक थिए । उनको प्रशिक्षकत्वमा विराट कोहलीले पनि आईपीएल खेलेका थिए । समाचारमा जनाइए अनुसार, पाकिस्तान सुपर लिग (पीएसएल) को समाप्तिपछि हेसन पाकिस्तानी टोलीसँग जोडिने छन् । 

हेसनको कार्यकाल मे २६ तारिखदेखि सुरु हुने पीसीबीले जनाएको छ । हेसन अहिले पीएसएल टोली इस्लामाबाद युनाइटेडसँग जोडिएका छन् । हेसनभन्दा अघि अकिब जावेद पाकिस्तानी टोलीका अन्तरिम प्रशिक्षक थिए । 

विश्व क्रिकेटमा हेसन निकै अनुभवी प्रशिक्षक मानिन्छन् । उनले सन् २०१२ देखि सन् २०१८ सम्म ६ वर्ष न्युजिल्यान्डको राष्ट्रिय टोली पनि समालेका थिए । त्यसपछि उनी आईपीएल क्लबसँग जोडिएका थिए । 

‘विश्व क्रिकेटका चर्चित व्यक्तित्व माइक हेसनलाई पाकिस्तानी राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गरेपछि हामी उत्साही छौँ । उनले अब सिमित ओभरको प्रतियोगितामा हाम्रो टोलीको जिम्मेबारी समाल्नेछन्,’ पीसीबीका अध्यक्ष मोहसिन नकवीले भनेका छन् । 

पाकिस्तान र बंगलादेशबिचको पहिलो टी–२० अन्तर्राष्ट्रिय मे २५ तारिखमा खेलिने छ । दोस्रो खेल मे २७ तारिखमा, तेस्रो खेल मे ३० तारिखमा, चौथो खेल जुन १ तारिखमा र पाँचौँ खेल जुन ३ तारिखमा खेलिने छ । 

पछिल्लो समय पाकिस्तानी क्रिकेट निकै अस्थिर देखिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पाकिस्तानी टोलीको प्रदर्शन पनि सन्तोषजनक छैन । त्यसैले केही समयअघि अकिबलाई हटाएर पीसीबीले नयाँ प्रमुख प्रशिक्षक पदका लागि आवेदन माग गरेको थियो । 

आकिब जावेदको प्रशिक्षकत्वमा पाकिस्तानी टोलीले कुनै पनि ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा गतिलो प्रदर्शन गर्न सकिरहेको थिएन । त्यसैले पीसीबीले नयाँ प्रशिक्षकका लागि आवेदन माग गरेको थियो । आकिब जावेदले नै सन् २०२४ मा तात्कालिन प्रमुख प्रशिक्षक गेरी क्रिस्टन र जासन गिलेस्पीमाथि खराब प्रदर्शनको आरोप लगाएका थिए । 

अहिले आएर पीसीबी पछिल्लो ६ वर्षको अवधिमा ११औँ प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । निरन्तर प्रमुख प्रशिक्षक र कप्तान परिवर्तनका कारण पनि पछिल्लो समय पाकिस्तानी टोलीको प्रदर्शन खस्कँदै गएको आरोप लाग्ने गरेको छ । 

सन् २०१९ को आईसीसी पुरुष एकदिवसीय विश्वकप इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना भएको थियो । उक्त विश्वकपमा पाकिस्तानी टोली पहिलो चरणबाटै घर फर्किएको थियो । उक्त विश्वकपयता पीसीबीले निरन्तर रुपमा प्रमुख प्रशिक्षक परिवर्तन गर्दै आएको छ । 

सन् २०१९ देखि सन २०२१ सम्म मिस्बाह–उल–हक पाकिस्तानी टोलीका प्रमुख प्रशिक्षक थिए । सन् २०१९ मा मिकी आर्थरलाई हटाएर मिस्बाह–उल–हकलाई प्रशिक्षक बनाइएको थियो । त्यसपछि सन् २०२१ मा मिस्बाह–उल–हकलाई हटाएर सकलेन मुस्ताकलाई पाकिस्तानी टोलीको प्रमुख प्रशिक्षकको जिम्मेबारी दिइएको थियो । 

सन् २०२३ मा सकलेन मुस्ताकलाई पछि हटाएर अब्दुल रहमानलाई प्रमुख प्रशिक्षक बनाइयो । तर, अब्दुल रहमान लामो समय पदमा टिक्न सकेनन् । सन् २०२३ मै उनलाई हटाएर ग्रान्ट ब्राडबर्नलाई प्रमुख प्रशिक्षक बनाइएको थियो ।

तर, उनलाई पनि लामो समय प्रमुख प्रशिक्षक पदमा राखिएन । सन् २०२३ मै उनलाई पनि हटाएर मोहम्मद हाफिजलाई पाकिस्तानी टोलीको प्रमुख प्रशिक्षकको जिम्मेबारी दिइएको थियो । सन् २०२४ को प्रारम्भमै उनलाई पनि हटाएर अजहर महमुदलाई प्रमुख प्रशिक्षक बनाइयो । 

त्यसको केही समयपछि नै अजहर महमुदलाई पनि हटाएर सन् २०२४ मै गेरी क्रिस्टनलाई प्रमुख प्रशिक्षक बनाइएको थियो । सन् २०२४ मै फेरि क्रिस्टनलाई पनि पदबाट हटाइयो र जासन गिलेस्पीलाई उक्त जिम्मेबारी दिइयो । 

दूर्भाग्य, जासन गिलेस्पी पनि पाकिस्तानी राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक पदमा लामो समय टिक्न सकेनन् । सन् २०२४ मै उनको स्थानमा आकिब जावेदलाई राष्ट्रिय टोलीको अन्तरिम प्रमुख प्रशिक्षक बनाइएको थियो ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप