मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

लडाइँ–झगडाको बिच पनि सम्बन्धलाई कसरी मजबुत राख्ने ?

बिहीबार, २८ मङ्सिर २०८०, १४ : २२
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । आफ्नो सम्बन्ध बलियो होस्, सुमधुर होस् भनेर त हरेक व्यक्तिले चाहेका हुन्छन् । तर कहिलेकाँही स्थिति चाहेकोभन्दा अलग भइदिन्छ । कयौँ सम्बन्ध आपसी झैँ–झगडा र मनमुटाबको चपेटामा परेर समाप्त हुन्छन् ।

सम्बन्धलाई हराभरा राख्ने कुनै सर्वमान्य सूत्र हुन्न । हरेक सम्बन्धलाई जोगाइराख्न समय र साथ र विश्वासको मलजल चाहिन्छ । पछिल्लो समय विश्वभर सम्बन्ध विच्छेदका मामिलाहरू तीव्र गतिमा बढिरहेका छन् । प्रेम सम्बन्ध बिहेसम्म पुग्नु अगावै टुटिरहेका छन् ।

हालै भएको एउटा अनुसन्धान चाहिँ सम्बन्ध जोगाउने मामिलामा सहायक साबित हुने देखिएको छ । अमेरिकामा मनोवैज्ञानिकहरूको एउटा समूहले माया प्रेमलाई सधैँ जवान राख्न एउटा सूत्र खोजेका छन् । यो अनुसन्धानमा कुन चाहिँ कुरा सम्बन्धलाई अगाडि लैजान र बलियो बनाउन उपयोगी हुन्छ भनेर बताइएको छ ।

  • के हो सम्बन्ध ‘मर्मत सम्भार’को अवधारणा ?

नेपालीमा एउटा उखान छ नि बुढाबुढीको झगडा परालको आगो । एकै क्षणमा हुर्रर बलेर सकिहाल्छ । सँगै बस्दै गर्दा श्रीमान्–श्रीमती वा पार्टनरको बिचमा स–साना मनमुटाव अनि तनाव त भइहाल्छन् । यस्तो स्थितिमा काम आउँछ, ‘सम्बन्ध मर्मत’ ।

पार्टनरहरूमा सम्बन्धलाई यथावत् राख्ने, जोगाइराख्ने व्यवहार छ भने झगडा पनि छिट्टै मायामा बदलिन्छ । कुनै पनि झगडा वा तनाव सम्बन्धलाई खोक्रो बनाउने स्तरसम्म पुग्नै पाउँदैन । 

सामान्य भाषामा भन्दा सम्बन्ध ‘मर्मत सम्भार’को अर्थ सम्बन्धमा क्षति पुर्‍याउन कारणहरूलाई सुरुमै पत्ता लगाएर हटाउने भन्ने हो । 

  • सामाजिक समर्थन र परिवारको साथ

वैवाहिक होस् वा प्रेम सम्बन्ध घर परिवारको साथ छ र सामाजिक समर्थन पाइएको छ भने यस्ता सम्बन्ध टुट्ने खतरा कम हुन्छन् । 

यस्तो सम्बन्धमा एक जना मात्रै पार्टनरको मनपरी चल्दैन । केही भइहाल्यो भने पनि घरपरिवारका सदस्यहरू मिलेर बिग्रिएको कुरालाई बनाएरै पनि सम्बन्ध जोगाउन मद्दत गर्छन् ।

घरपरिवारको भूमिका नभएको सम्बन्ध चाँडै बिग्रिने एउटा अध्ययनले देखाएको छ । सामाजिक समर्थन नभइकन अनलाइनबाट बनेको सम्बन्धमा सम्बन्ध विच्छेद हुने सम्भावना ६ गुणा धेरै पाइएको छ । 

सन् २०२१ मा म्यारिज फाउन्डेशनले एउटा सर्वेक्षण गरेको थियो । यसमा अनलाइनबाट भेटिएका १२ प्रतिशत जोडी बिहे भएको तीन वर्षभित्र अलग्गिएको पाइएको थियो । तर फेस –टू–फेस भेटेर डेटिङ गरेका अनि मात्रै बिहे गरेका जोडीमा यस्तो आँकडा २ प्रतिशत मात्रै थियो ।

  • कुराकानी गर्ने कला र आपसी बातचित

सम्बन्धका लागि दोस्रो ठुलो सम्बन्ध मर्मत व्यवहार कुराकानी गर्ने कला र आपसी बातचित नै हो । अमेरिकी लेखक जोसेफ ग्रेनीले आफ्नो किताबमा श्रीमान्–श्रीमतीबिच हुने आपसी कुराकानी र बहसका अनेकौँ फाइदा लेखेका छन् । 

उनका अनुसार श्रीमान्–श्रीमती कुनै विषयमा लडाई वा बहस गर्छन् भने सो मामिलामा उनीहरूको बुझाई झन् धेरै हुन्छ । एक अर्कालाई मन पर्ने नपर्ने कुराहरू दुवैले बुझ्छन् ।

  • एकअर्कामाथि भरोसा

समयसँगै सम्बन्धमा उतारचढाव आइरहन्छ । तर पार्टनरहरुलाई एकअर्काप्रति अनि आफूमाथि भरोसा छ भने कुनै पनि हालतमा सम्बन्ध बिग्रिँदैन । उतारचढाव खास कारणले गर्दा आएको हो अनि समयसँगै यसलाई आफूहरू मिलेर ठिक गर्न सक्छौँ भन्ने दुवैले बुझेका हुन्छन् ।

तर पार्टनरहरूबिच भरोसा छैन भने सानो उतारचढावले नै सम्बन्धको अन्त्य गराउन थाल्छ । सम्बन्धमा केही कुरा पनि ठिक हुन्न भनेर उनीहरूले सोच्न थाल्छन् । त्यसैले दिन राम्रो चलिरहँदा एकअर्काबिच भरोसा बढाउने काम गर्नुस्, ताकि अप्ठ्यारो बेलामा यसले सम्बन्धलाई मर्मत गर्ने औजारको रूपमा काम गरोस् ।

  • सकारात्मकता र उदारता

सकारात्मकता र उदारताले  पनि सम्बन्धलाई स–साना अवरोध अनि चोटबाट पार पाउन मद्दत गर्दछ । सम्बन्धमा सकारात्मक दृष्टिकोण छ र पार्टनरहरू खुला विचारधाराका छन् भने यिनीहरूले सम्बन्धलाई राम्रो तरिकाले निर्वाह गर्न सक्छन् । त्यसैले कसैले पनि आफ्नो पार्टनरसँग कुरा लुकाउने वा ढाँट्ने गर्नु हुन्छ । कुराकानी गर्नुस् अनि सबन्धलाई सकारात्मक राख्नुस् ।

सम्बन्धमा उतारचढाव सामान्य हो । सानातिना झगडा टार्न सकिन्न । यस्तोमा सम्बन्ध मर्मत गर्ने व्यवहारले नै सबन्धलाई जोगाइराख्छ । 

तर एक पट्टीबाट मात्रै त रोटी पाक्दैन । त्यसैले यस्तो व्यवहार दुवैतिरबाट देखाउन जरुरी छ । नत्र त्यस्तो सम्बन्ध बोझ मात्रै बन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप