शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लयमा फर्कँदै वेस्ट इन्डिज, दोस्रो खेलमा पनि इङ्गल्यान्डलाई हरायो

शुक्रबार, २९ मङ्सिर २०८०, १० : ३५
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा निराशाजनक प्रदर्शन गर्दै आएको वेस्ट इन्डिजले क्रमशः लयमा फर्किएको सन्देश दिएको छ । वेस्ट इन्डिजले दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि इङ्गल्यान्डलाई १० रनले हराएको छ ।

लगातार दोस्रो जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृङ्खलामा २—० को अग्रता लिएको छ । जर्ज टाउनमा बिहीबार राति खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली इङ्गल्यान्डले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ६६ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको क्यारेबियन टोलीका लागि ओपनर ब्याट्सम्यान ब्रान्डन किङ्ले अविजित ८२ रनको योगदान गरे ।

अनुभवी ब्याट्सम्यान किङले केवल ५२ बलको सामना गरी पाँच छक्का र आठ चौका पनि हिर्काएका थिए । उनी म्यान अफ दी म्याच पनि घोषित भए । किङले अर्का ओपनर कायले मायर्ससँग ओपनिङ विकेटका लागि ४३ रनको साझेदारी गरे ।

मायर्स भने १७ रन बनाउँदै पेभेलियन फर्किएका थिए । छैटौँ नम्बरका ब्याट्सम्यान रोभमन पोवेलले पनि अर्धसतक बनाएका थिए । उनले केवल २८ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ५० रन बनाएका थिए ।

इङ्गल्यान्डका बलर ताइमल मिल्स र अदिल रसिदले दुई–दुई विकेट हात पारे । जवाफी ब्याटिङ गरेको इङ्गल्यान्डका लागि साम कुर्रनले अर्धसतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ३२ बलमा तीन छक्का र चार चौका हिर्काएका थिए ।

ओपनर फिल साल्टले २५ रन जोडे । विल ज्याक्स २४ रनमा पेभेलियन फर्किए । मोइन अलीले अविजित २२ रन बनाए । क्यारेबियन टोलीका बलर अल्जारी जोसेफले तीन विकेट लिए । अकेल होसैनले पनि दुई विकेट हात पारे ।

पछिल्लो समय केही अनुभवी खेलाडी पनि वेस्ट इन्डिजको टोलीमा फर्किएका छन् । लगातारको निराशाजनक प्रदर्शनका कारण वेस्ट इन्डिजले हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप पनि खेल्न पाएको थिएन । वेस्ट इन्डिज र इङ्गल्यान्डबिचको तेस्रो खेल शनिबार खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप