शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ–मस्को हवाई सम्पर्क स्थापित गर्न चेम्बर र रुसी महासङ्घले पहल गर्ने

शुक्रबार, २९ मङ्सिर २०८०, ११ : ४८
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपाल भ्रमणमा रहेको रुसी महासङ्घको व्यवसायीक प्रतिनिधिबिच भेटवार्ता भएको छ । भेटवार्तामा दुई मुलुकबिच संयुक्त लगानी एवं व्यापारिक साझेदारी गर्नेबारे छलफल भएको हो । रुसी महासङ्घको प्रतिनिधि मण्डलसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौँ र मस्कोबिच सीधा हवाई सम्पर्क स्थापित गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले भने, ‘नेपाल रुसबिचको कूटनीतिक सम्बन्ध बलियो छ । सयौँ नेपाली विद्यार्थीहरू इन्जिनियरिङ, चिकित्सा लगायतका विषय अध्ययनका लागि जाने गरेका छन् ।’ रुसका तर्फबाट पनि वार्षिक १० हजारको हाराहारीमा नागरिकहरू नेपाल घुम्न आउने गरेको सन्दर्भमा सीधा हवाई सम्पर्क सञ्जाल बढाउन सकेमा दुवै मुलुकलाई फाइदा पुग्ने अध्यक्ष मल्लले जानकारी दिए ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनका क्रममा रहेकाले दुई मुलुकबिच सीधा हवाई सम्पर्क सञ्जाल विस्तार गरेर आर्थिक सहकार्य  र व्यापारिक साझेदारी गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । नेपालको कृषि, पर्यटन, उद्योग, एवं आईटी क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको अध्यक्ष मल्लले बताए । रुसी लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ ।

चेम्बर पदाधिकारीहरुसंँको भेटमा रुसी महासङ्घको व्यावसायिक प्रतिनिधि मण्डलले पनि नेपालमा सीधा हवाई सम्पर्क सञ्जाल विस्तारका लागि आफूहरूले पहल गर्ने बताएका थिए । हवाई सम्पर्क स्थापित गर्नका लागि दुवै देशका सरकारसमक्ष संयुक्त पहल गर्नुपर्ने रुसी महासङ्घका प्रमुख एलेक्जेण्डर एल रेवासले बताए । दुई मुलुकबिच अन्य व्यापारिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप