शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जातीय विभेद हटाउन पालिकाले गर्‍यो सहभोज, दलित–गैरदलितको भान्सा एउटै

शुक्रबार, २९ मङ्सिर २०८०, २१ : ४५
शुक्रबार, २९ मङ्सिर २०८०

पोखरा । अघिल्लो वर्ष माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा ब्रतबन्धको भोज छोएको भन्दै एक जना दलित युवामाथि दुर्व्यवहार भयो । आफूमाथि विभेद गरिएको भन्दै नारायण परियारले चैत ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिए ।

उनलाई विभेद गर्ने अरु कोही नभएर सोही वडाका जननिर्वाचित सदस्य थिए । परियारले वडा सदस्य रामजी लामिछाने, छिमेकीहरु सुजन लामिछाने, सरिता लामिछाने र सन्तोष परियारविरुद्ध उजुरी दिए । दलितले भान्सा छोएको भन्दै रामजीले भोजमा पाकेका सबै खानेकुरा फालिदिएका थिए । त्यो घटनापछि गाउँमा छिमेकीबिचमै फाटो आयो । 

त्यसपछि त्यहीँका जनप्रतिनिधिहरुले जुक्ति निकाले ‘सहभोज आयोजना गर्ने ।’ वडाबाट उक्त प्रस्ताव गाउँपालिकामा गयो । पालिकाले बजेट छुट्याइदियो । शुक्रबार रिभानमा पालिकाभरिका भद्र भलादमी बोलाएर सहभोज आयोजना गरिएको छ ।

‘रिभानलाई राम्रो भनेर कसैले चिन्ने भएनन् । अलि वर्ष पहिले बाढीले घर बगाएर मान्छेको ज्यान गयो । पोहोर जातीय विभेदको त्यत्रो घटना भयो,’ त्यहाँका वडाध्यक्ष नारायण पौडेलले भने, ‘धन्न अहिले सहभोज राखेर पोहोरको मैलो पखाल्न पाइयो । अब गाउँमा जातीय विभेदलाई निरुत्साहित गर्न सहयोग पुग्छ ।’

सहभोजमा दलित र गैरदलितले एउटै भाँडाबाट खाना झिकेर खाएका छन् । त्यसअघि स्थानीय अगुवा गमबहादुर विकले पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापालाई आफ्नै हातले तरकारी चखाए । ‘मन्त्रीलाई त्यत्रा मान्छेका अगाडि तरकारी खुवाउँला भनेर सोच्दै सोचिएन नि कहिलै पनि,’ उनले भने, ‘आज संसारै जितेजस्तो भएको छ ।’

आजभोलि केही लचक भए पनि पहिलेका दिनहरुमा कथित उपल्लो जातबाट पाएको दुःख उनको मानसपटलमा ताजै छ । ‘बाटो हिँड्दा उपल्लो जातको देखे बाटै छोडेर बस्नुपर्थ्यो । खाना खाएपछि भाँडा माझेर सुनपानी छर्किने चलन अहिले पनि छ,’ उनी भन्छन्, ‘आज सहभोज सँगै बसेर खाइयो । केही नभए पनि गाउँमा विभेद अपराध हो भन्ने सिकाइचाहिँ भएको छ ।’

sahabhoj2

मन्त्री थापाले विभेद मान्छेबाटै भएकोले सुधार पनि मान्छेले नै गर्नुपर्ने बताए । ‘मान्छेको उत्पत्तिमा विभेद थिएन । विभेद हामीले नै गरेका हौँ,’ उनले भने, ‘पशुबस्तुले छोएको खान धक मान्दैनौँ, मान्छेले छोएको खाँदा गाह्रो मान्नुपर्ने कारण के छ ?’ उनले भने ।

संविधानबाटै जातीय छुवाछुत बर्जित भएकाले व्यावहारिक रुपमा पनि विभेद अन्त्य हुनुपर्ने उनको भनाइ छ । गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सबै नागरिक समान हुन् भन्ने सन्देश दिनकै लागि सहभोज गरिएको बताए ।

‘मान्छेमा जात कहाँ छ ? महिला छन्, पुरुष छन् । अरु के छ ?,’ उनले भने, ‘जसलाई काटे पनि रातै रगत आउँछ । अनि विभेदचाहिँ के को हो ? अब पालिकामा कसैले विभेद सहँदैन, कसैले विभेद गर्दैन ।’

उनले आगामी दिनमा पनि जनचेतनामुलक कार्यक्रम गरिरहने बताए । वडा तहमा पनि सहभोजका कार्यक्रम राखिएका उनको भनाइ छ ।

उपाध्यक्ष सीता अधिकारीले धर्म र संस्कृतिका नाममा विभेद बढेको भन्दै रुपान्तरण हुन आग्रह गरिन् । ‘हामी २१ औँ शताब्दीमा गैसक्यौँ । अझै पनि संस्कार र संस्कृतिका नाममा दलितमाथि विभेद हुन्छ । त्यस्ता संस्कृति हामीले नै फेर्ने हो, फेर्नुपर्छ,’ उनले भनिन्, ‘भाषणमा मात्रै होइन । व्यावहारिक रुपमै परिवर्तनको महसुस होस् ।’

दलित अधिकारकर्मी उदयकुमार नेपाली जातीय विभेद समाजको कलंक भएको बताउँछन् । ‘यो अभियान हरेक वडा र टोलमा लैजानुपर्छ । जातीय छुवाछुत समाजको कलङ्क हो भन्ने महसुस नहुँदासम्म निर्मुल गर्न गाह्रो छ,’ उनले भने ।

वडा नम्बर ६ का अध्यक्ष टेकनाथ गौतम सार्वजनिक समारोहमा सँगै बसेर खाँदैमा छुवाछुत अन्त्य नहुने बताउँछन् । ‘सबैको दैलोबाट चुलोसम्म जान पाउँछ कि पाउँदैनन् ? बोल्दा मिठो बोल्छौँ । तर सहभोज कार्यक्रम हरेक व्यक्तिको चुलोमा पुग्न सकेको छैन,’ उनी भन्छन्, ‘आज झिल्को बलेको छ । यसले पूरै समाज ढाक्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप