आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा सुरक्षाबारे सुझाव माग्दै सशस्त्र प्रहरी

शनिबार, ३० मङ्सिर २०८०, १४ : २५
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । सीमा सुरक्षा तथा सीमावर्ती राजस्व चुहावट नियन्त्रणका विषयमा सशस्त्र प्रहरी बल नेपालले पूर्वअधिकृतहरुसँग सुझाव लिन थालेको छ ।   सशस्त्र प्रहरी बल नेपालले सङ्गठनका बहालवाला तथा अवकाश प्राप्त वरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा वर्तमान सुरक्षा अवस्था बारेमा छलफल गरी सुझाव लिन थालेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने उल्लेख गर्दै प्राप्त सुझाव, सल्लाह तथा रचनात्मक सहयोग सङ्गठनको वृत्तिविकासका लागि मार्गदर्शकसमेत हुने बताए । सुझाव सङ्कलनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, सिहंबहादुर श्रेष्ठ र पुष्पराम केसी सहभागी रहेका थिए ।

उनीहरुले समयानुकूल सीमा सुरक्षाका चुनौती पनि बदलिँदै जाने भएकाले त्यसैअनुरुप लाग्नुपर्ने सुझाव दिनुभएको छ । शुक्रबारबाट सुरु उक्त सुझाव लिन कार्यक्रम आगामी दिनमा पनि जारी राख्ने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सङ्गठनको उद्देश्य हासिल गर्न यस्ता कार्यक्रम जरुरी रहेको बताए ।

सीमा सुरक्षामा स्थानीय जनतासँगको सहकार्य महत्वपूर्ण हुने भएकाले सङ्गठनले सीमावासीसँग सहकार्य गर्ने कार्यको थालनी गर्नु अत्यन्त महत्वपूर्ण भएको उनीहरुको भनाइ थियो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षकहरुले पनि सीमा सुरक्षा र सङ्गठनको बृहत्तर हितका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा सीमा सुरक्षा, मानवस्रोत तथा कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु क्रमशः नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम तथा वंशीराज दाहाललगायतको सहभागिता थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप