शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा एक सिटका लागि कोशी माओवादीबाट को–को छन् आकाङ्क्षी ?

आइतबार, ०१ पुस २०८०, १८ : १०
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि माओवादी कोशीबाट आकाङ्क्षी धेरै देखिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अगाडि बढाएसँगै उम्मेदवार बन्नका लागि धेरैले आकांक्षा देखाएका हुन् ।

आगामी फागुन २० गते ६ वर्षे कार्यकाल पुरा गरी बाहिरिन लागेका १९ जनामध्ये कोशी प्रदेशमा माओवादीबाट बिना पोखरेल रहेकी छिन् । महिला कोटा खाली हुने भएकाले रिक्त स्थानमा कसलाई पठाउने भन्ने सम्बन्धमा प्रदेश कमिटीले केन्द्रको मुख ताकेको छ ।

कोसीबाट लक्ष्मी न्यौपाने (झापा), चम्पा कार्की (ओखलढुङ्गा), करुणा बस्नेत (सोलुखुम्बु), ममता ताजपुरिया (मोरङ), अस्मिता कार्की (खोटाङ) लगायत दर्जन बढी आकाङ्क्षी देखिएका छन् । तर गठबन्धन दलहरूबिच कोटा साटफेर हुन सक्ने भएकाले कुन प्रदेशमा कसले कुन सिट लिने भन्नेमा टुङ्गो लाग्न सकेको छैन । सिट बाँडफाँटका सम्बन्धमा मङ्गलवार बस्ने माओवादी पदाधिकारी बैठकले निर्णय लिन सक्ने नेताहरूले विश्वास लिएका छन् ।

खाली रहेको महिला कोटामा कसलाई ल्याउने विषय केन्द्रसँग जोडिएकाले अहिले नै केही भन्न नसकिने अध्यक्ष हर्क नेम्बाङले बताए । ‘महिला कोटा खाली भए पनि कुन कोटा राख्ने भन्ने विषय केन्द्रसँग जोडिन्छ । अदलबदल हुने सम्भावना छ । तीन गते पदाधिकारी बैठक भएकाले त्यसपछि मात्र टुङ्गो लाग्ला’, उनले भने ।

नेतृ धर्मशीला चापागाईँले आकाङ्क्षी धेरै भएकाले राष्ट्रियसभामा कसलाई पठाउने भन्नेबारे नेतृत्वले नै टुङ्गो लगाउने विश्वास व्यक्त गरिन् । ‘आकाङ्क्षी धेरै छन् । कसलाई पठाउने भन्नेबारे नेतृत्वले टुङ्ग्याउलान्’, उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप