मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

निबन्ध :  तटस्थ उपलब्धि र तिनका भेद

सोमबार, ०२ पुस २०८०, १४ : १३
सोमबार, ०२ पुस २०८०

उपलब्धि धेरै किसिमका हुन्छन् । आत्म केन्द्रित उपलब्धि, परकेन्द्रित उपलब्धि, व्यक्तिगत उपलब्धि, सामूहिक उपलब्धि, तटस्थ उपलब्धि यस्तै यस्तै । त्यसैगरी तिनीहरूमा पनि प्रत्येकका विभिन्न भेद र विशेषता हुन्छन् । यिनैमध्ये यहाँ तटस्थ व्यक्तिगत उपलब्धिका बारेमा चर्चा केन्द्रित गर्ने प्रयास गरिएको छ ।  

तटस्थ व्यक्तिगत उपलब्धि

व्यक्ति केन्द्रित उपलब्धिलाई व्यक्तिगत उपलब्धि भनिन्छ । यस्ता उपलब्धि नितान्त व्यक्तिगत हुन्छन् । यसमा अरूको कुनै पनि किसिमको चासो र साइनो हुँदैन । मानिलिनुस् पल्लो घरको सानेले पढाइमा उन्नति ग¥यो । सानैदेखि होनहार थियो । पढाइमा अब्बल, अनुशासित त्यस्तै । कक्षामा जहिले पनि पहिलो हुन्थ्यो । अहिले ऊ ठुलो बैङ्कको म्यानेजर छ । महिनाकै लाखौँ कमाउँछ । उसका लागि यो व्यक्तिगतरूपमा ठुलो उपलब्धि हो तर तपाईँका निम्ति भने तटस्थ उपलब्धि हो । किनकि यसमा तपाईँको कुनै साइनो छैन । त्यसैले यस्ता उपलब्धि व्यक्तिगत तटस्थ उपलब्धिमा पर्छन् ।   

अथवा हुन सक्छ तपाईँ सानैदेखि पढाइमा अब्बल हुनुहुन्थ्यो । निरन्तर राम्रो अङ्क लिएर कक्षा चड्दै जानुभयो र लोकसेवा पास गरी सचिवसम्म हुनुभयो तर तपाईँकै छिमेकी एक समयवयी साथी थिए । उनी पढ्नमा भन्दा गफगाफमा बढी ध्यान दिन्थे । उखान टुक्का भट्याएर दुनियाँ हँसाउने गर्थे । फलत: उनले पढाइलाई अघि बढाउन सकेनन् । त्यसैले राजनीतितिर लागे । राजनीतिमा लागेकै कारण केही वर्ष जेल पनि बसे तर जेलबाट छुटेपछि एकाएका देशको सांसद भए, मन्त्री भए । एक पटक संयोगवश तपाईँकै मन्त्रालयको मन्त्री हुन पुगे । एकताका पढाइमा ध्यान नदिने भनेर तपाईँले वास्ता नगरेको मानिस तपाईँकै हाकिम हुन आइपुगे । यो पनि उसको व्यक्तिगत उपलब्धि हो तर तपार्ईका लागि भने यो तटस्थ उपलब्धि हुन पुग्यो । त्यसैले यो पनि व्यक्तिगत तटस्थ हुन पुग्यो ।  

तटस्थ सामूहिक उपलब्धि

अब आउनुस् एक छिन तटस्थ सामूहिक उपलब्धिका बारेमा पनि चर्चा गरौँ । यस्ता उपलब्धि समूहसित सम्बन्धित हुन्छन् । मानिलिनुस् पल्लो गाउँमा खानेपानीको अभाव थियो । त्यहाँका मानिसले कडा श्रम गरेर कोषौँ परबाट कुलो काटेर पानी ल्याए । त्यहाँका बासिन्दाका लागि त्यो ठुलो उपलब्धि हो तर वल्लो गाउँका लागि त्यो कागलाई बेल पाके सरह भयो । यस अर्थमा त्यस गाउँका निम्ति यो उपलब्धि सामूहिक तटस्थ उपलब्धि हुन पुग्यो । 

त्यस्तै काठमाडौँमा मेलम्चीको पानी आयो । काठमाडौँ वासीको वर्षौँदेखिको सपना थियो त्यो । यहाँका बासिन्दालाई ठुलो उपलब्धि हो यो तर अन्य प्रदेशका लागि यो हर्ष न बिस्मातको हुन पुग्यो । त्यसैले यो उपलब्धि पनि उनीहरूका निम्ति तटस्थ सामूहिक उपलब्धि नै हुन पुग्यो । हेरौँ अर्को पनि यस्तै उपलब्धिको नमुना । मानौँ एउटै गाउँमा पनि कुनै एक परिवारले निकै प्रगति ग¥यो, शिक्षामा ग¥यो, शास्त्रमा ग¥यो । अर्थमा ग¥यो, वित्तमा ग¥यो तर त्यही गाउँको अर्को परिवारले गर्न सकेन । यस अर्थमा पछिल्लो परिवारका लागि त्यो उपलब्धि पनि तटस्थ सामूहिक तटस्थ उपलब्धि नै हुन पुग्यो । 

अन्तर राष्ट्रिय तटस्थ उपलब्धि

कतिपय उपलब्धि अन्तर्राष्ट्रिय तटस्थ उपलब्धिमा पर्छन् । यस्ता उपलब्धि अन्तर्देशीय हुन्छन् । एउटा देशले निकै विकास ग¥यो अर्को देशले गर्न सकेन । यस्तो अवस्थामा विकास गर्न नसक्ने देशका लागि विकास गर्ने देशले गरेको उपलब्धि तटस्थ उपलब्धि हुने गर्छन् । उदाहरणका लागि अमेरिकी अन्तरिक्ष योजनालाई नै लिन सकिन्छ । जस्तो अमेरिकाले चन्द्रमामा पाइलो टेक्यो, मङ्गलमा यान उता¥यो । भोलि मानिस नै पनि उतार्ला । चन्द्रमामा बस्ती विकासको कुरा हुँदै छ । अमेरिकाका लागि यो ठुलो उपलब्धि हो तर अमेरिका बाहेक अन्य देशका लागि त्यसले कुनै अर्थ राख्दैन । त्यसैले यस्ता उपलब्धि अन्य देशका लागि अन्तर्राष्ट्रिय तटस्थ उपलब्धिमा पर्छन् । 

हेरौँ अरू पनि केही उदाहरण । जस्तो एकताका जापानी विकासले संसार छाएको थियो । विश्वमै प्रख्यात थियो जापानी मोडेलको विकास । जापानका लागि यो ठुलो उपलब्धि थियो । अकल्पनीय उपलब्धि तर यही उपलब्धि अन्य धेरै देशका लागि तटस्थ उपलब्धि हुन पुग्यो । जापानी जनता पौरखी थिए विकास गरे । अर्का देशले त्यसबाट सिक्न सकेन । फलत ः उनीहरू विकासमा सधैँ पछि नै परे । यहाँ जापानले तरक्की गरेकै हो तर त्यो तरक्की उसका लागि मात्र भयो । अरूका निम्ति यसको कुनै अर्थ रहेन । त्यस अर्थमा त्यो अन्तर्राष्ट्रिय तटस्थ उपलब्धि हुन पुग्यो । 

हाल चीनको अवस्था त्यस्तै छ । चीनले अन्तर्राष्ट्रिय जगतमा विकासको क्षेत्रमा निकै तहल्का मच्चाइरहेको छ । भारतले पनि त्यस्तो प्रयास नगरेको होइन तर उसले चीनको अनुपातमा खासै गर्न सकेको छैन । यस अर्थमा भारतका निम्ति चीनको उपलब्धि तटस्थ उपलब्धिमै पर्ने गर्छ ।

त्यसैगरी विश्वमा असंलग्न परराष्ट्र नीतिको एउटा आन्दोलन नै छ । एकताका अमेरिका र रुसले हातहतियारमा निकै विकास गरेको थियो । यसैका कारण उनीहरूबिच टकराबको स्थिति आयो । अमेरिकाले आफू समर्थित राष्ट्रलाई एटलान्टिक सन्धी सङ्गठन मार्फत् आफूमा गोलबद्ध ग¥यो । रुसले वार्षा सन्धि सङ्गठन मार्फत् आफूसम्बन्धित राष्ट्रलार्ई आफूमा गोलबद्ध ग¥यो । फलत विश्व एटलान्टिक ग्रुप र वार्षा गुट गरी दुई ध्रुवमा बाँडिन पुग्यो । ती दुई गुटमध्ये कतै पनि नलाग्ने देशहरू असंलग्न नीतिमा आबद्ध हुन पुगे । उनीहरूले यसलाई आन्दोलनकै रूपमा अगाडि बढाए । यो पनि एक किसिमले अन्तर्राष्ट्रिय तटस्थ उपलब्धि नै हुन पुग्यो । 

यी केही उदाहरण हुन् । हरेका क्षेत्रमा यही नियमले काम गरेको हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप