सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

बल्खुमा महिलाको हत्या गरेर भारतमा मजदुरी, मुख्य योजनाकार जेलमा भेटिए

बिहीबार, ०५ पुस २०८०, २२ : ००
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । काठमाडौंको बल्खुमा ६ वर्षअघि नारायणी तिमिल्सिना ‘अप्सरा’ मृत भेटिइन् । मकवानपुरको मनहरी गाउँपालिका–३ घर भएर काठमाडौँमा ज्यामी काम गर्ने अप्सराको २०७४ पुस २९ मा हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

मध्यरात भएको हत्यामा दुईजना संलग्न थिए । उनीहरू हुन्, धादिङको त्रिपुराशुन्दरी गाउँपालिका–३ स्थित तल्लो पोखरा घर भएका शिवराम अधिकारी र अर्घाखाँची घर भएका जगत विश्वकर्मा ।

३७ वर्षीय जगतलाई प्रहरीले भारतको गोवाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । ६ वर्षपछि जगतलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।

अप्सराको हत्यापछि फरार भएका जगत भारतमा मजदुरी गरेर बसेका थिए । गोवाबाट कहिलेकाहीँ अर्घाखाँची आउजाउ गरिरहने जगतलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । २०७४ पुस ३० मा काठमाडौँ–१४ बल्खु स्थित भुवनेश्वरी मन्दिर पछाडि बोक्सी दह डाँडामा टाउको र मुखमा चोट लागेको अवस्थामा अप्सराको शव भेटिएको थियो । तर, लामो समयसम्म आरोपी फेला परेका थिएनन् । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डिएसपी सुरक्षा केसी नेतृत्वको टिमले पुरानो फाइल पल्टाएर हत्या आरोपीलाई पक्राउ गर्न सफल भएका हुन् ।

हत्याको मुख्य योजनाकार शिवराम अधिकारी हुन् । ४६ वर्षीय अधिकारी नाम परिवर्तन गरेर केन्द्रीय कारागारमा थुनामा रहेको भेटिएको छ । चोरी मुद्दामा अधिकारी विरुद्ध २०७९ कार्तिक २९ मा  ३ वर्ष कैद सजायको फैसला भएको एसएसपी राठौरले जानकारी दिए ।

उनी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । शिवरामले लुटपाट गर्ने उद्देश्यले अप्सराको हत्या गर्ने योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

 पूर्व परिचित नारायणी तिमिल्सिनालाई उनले बहाना बनाएर बल्खुमा बोलाएका हुन् । हत्या योजना सफल बनाउन शिवरामले जगतको सहयोग लिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

मापसे पछि हत्या

अवकाश प्राप्त सैनिकसँग विवाह गराइदिन्छु भनेर शिवरामले अप्सरालाई बोलाउँछन् । शिवरामले अप्सरालाई भनेका थिए–‘गहना लगाएर १५–२० हजार पैसा पनि लिएर आउनु ।’

अप्सरा अवकाश प्राप्त सैनिकसँग विवाह गर्ने लोभमा बालाजुको माछापोखरी पुग्छिन् । त्यहाँ सँगै मापसे गरेपछि शिवराम र जगतले उनलाई कुसुन्ती हुँदै बल्खु स्थित भुवनेश्वरी मन्दिर पछाडि बोक्सी दह डाँडामा लैजान्छन् । रात छिप्पिइसकेको हुन्छ । अप्सरा निदाउँछिन् । अप्सरा निन्द्रामा परेको यकिन गरेपछि शिवरामले ढुङ्गाले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

शिवरामको आग्रहमा आफूले पनि अप्सरालाई दुई पटक ढुङ्गाले प्रहार गरेको जगतले प्रहरीलाई बयान दिएका छन् । हत्यापछि आरोपीहरूले मृतकको कानको मुन्द्री र नगद ७ सय लुटेर फरार भए । त्यसपछि उनीहरू उदयपुरको कटारी पुगेको अनुसन्धानबाट खुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप