सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

बल्खुमा महिलाको हत्या गर्ने ६ वर्षपछि पक्राउ

बिहीबार, ०५ पुस २०८०, १२ : ३४
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका एक जना ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा रहेका छन् ।

मुख्य योजनाकार रहेका धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४६ वर्षीय शिवराम अधिकारी भने यसअघि नै अन्य मुद्दामा जेलमा रहेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुवैलाई बिहीबार सार्वजनिक गरेको हो ।

विश्वकर्माले शिवरामसँग मिलेर २०७४ साल पुस ३० गते काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित भुवनेश्वर मन्दिर पछाडि रहेको दह डाँडामा अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरेका थिए । कार्यालयका अनुसार मृतक अप्सरा र शिवरामको पूर्वचिनजान रहेको थियो । शिवरामले भूपू आर्मीसँग बिहे गराइदिन्छु भन्दै १५–२० हजार रुपैयाँ र गरगहना लगाई राम्री भएर आउनुभन्दै फोन गरेर बोलाएका थिए ।

माछापोखरी एरियामा तीन जनाको भेट भएपछि २–३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी उनीहरु बल्खु झरी ललितपुरको कुसुन्तीमा साँझको खाना खाई बल्खु क्षेत्रमा बसेका थिए ।

अप्सरासँग २ घण्टाजति सँगै सुतेपछि शिवरामले जगत विकलाई मान्छे हेर भनी माथि डाँडामा राखेका थिए । त्यसपछि शिवरामले आएर ढुङ्गाले अप्सराको टाउकोमा हानेका थिए । जगतले पनि अप्सरालाई दुईपटक जति ढुङ्गाले हानेको प्रहरीको भनाई छ ।

हत्यापछि अप्सराले लगाएको सुनका मुन्द्री र खल्तीमा भएको नगद ६–७ सय रुपैयाँ निकाली उनीहरू गाडी चढेर गोङ्गबुको नयाँ बासपार्कको कोपिला गेस्ट हाउसमा बसेका थिए । त्यहाँबाट उनीहरू फरार रहेका थिए ।

प्रहरीले फरार रहेका जगत नेपाल आउँदै गरेको गोप्य सूचना पाएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार राति ९ बजे पक्राउ गर्न सफल भएको थियो । शिवराम भने २०७९ साल कार्तिक २७ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा नै रहेको खुलेको थियो ।

यस विषयमा पीडितको जाहेरी लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप